रसुवा बाढीपीडितको सम्झनामा बेलायतमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन


लन्डन । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोमा परेर ज्यान गुमाएका तथा प्रभावित परिवारको सम्झनामा बेलायतको अल्डरसटमा श्रद्धाञ्जली तथा दीप प्रज्वलन कार्यक्रम भएको छ ।
गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके र ग्रेटर रश्मोर नेपाली कम्युनिटी (जीआरएनसी) यूकेको संयुक्त आयोजनामा मंगलबार साँझ अल्डरसटस्थित प्रिन्सेस गार्डेन्स (कुलवीर थापा भीसी मेमोरियल) मा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा रसुवा बाढीपहिरोमा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकको सम्झनामा दीप प्रज्वलन गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा पूर्व उपसभामुख तथा सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद इन्दिरा राना मगर सहभागी थिइन् । उनीसहित कार्यक्रममा सहभागी वक्ताहरूले बाढीपहिरोबाट भएको ठूलो जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रभावित परिवारप्रति सहानुभूति प्रकट गरे । उनले सरकारले बाढी प्रभावितहरुको उद्धार, राहात र पुनस्र्थापनाका लागि आवश्यक पहल गरिरहेको पनि बताइन् । जलवायु परिर्वनले नेपालमा परिरहेको असर नेपालको मात्र समस्या नभएको भन्दै विश्व समुदाय नै गम्भीर भएर लाग्नु पर्नेमा उनले जोड दिइन् ।
एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहा मगरले बाढीपहिरोबाट प्रभावित नेपालीहरूलाई यथासक्य सहयोग गर्न बेलायतमा रहेका नेपाली समुदायलाई आग्रह गरे । उनले विपद्को समयमा पीडितको साथमा उभिनु सबैको साझा दायित्व भएको बताउँदै राहत तथा पुनःस्थापनाका लागि सहयोग आवश्यक रहेको उल्लेख गरे ।
अध्यक्ष गाहा मगरले राहत वितरणका लागि आफूहरू प्रभावित क्षेत्रमा जान लागेको जानकारी दिँदै आवश्यक सहयोग संकलन भइरहेको पनि बताए । संकलित सहयोगलाई प्रभावित क्षेत्रमा पुर्याएर पीडित परिवारलाई आवश्यक राहत उपलब्ध गराउने प्रयास भइरहेको उनको भनाइ थियो ।

महाभूकम्प र कोभिड महामारीका बेला अर्बौं पैसा उठेपनि सही सदुपयोग नभएको, पीडितसमक्ष समयमै नपुगेको र संकलित चन्दामा धेरै घोटाला भएको पाइएको स्मरण गर्दै गाहामगरले एनआरएनए यूकेले त्यसलाई रोक्न यसपटक वाचडगको रुपमा काम गर्ने समेत बताए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले पछिल्ला वर्षहरूमा नेपालमा बाढी, पहिरो, अतिवृष्टि तथा अन्य प्राकृतिक विपद्का घटना बढ्दै गएको उल्लेख गर्दै जलवायु परिवर्तनको असरप्रति गम्भीर भएर दीर्घकालीन समाधान खोज्नुपर्नेमा जोड दिए । विपद् न्यूनीकरणका लागि पूर्वतयारी, सुरक्षित बस्ती विकास तथा वातावरण संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनीहरूको भनाइ थियो ।
कार्यक्रममा एनआरएनएका उपाध्यक्ष विश्वासदीप तिगेला, एनआरएनए यूकेका प्रमुख सल्लाहकार डा भीम पुन, एनआरएनए यूके सल्लाहकारहरू लगायत बेलायतमा क्रियाशील विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि तथा नेपालीहरुको सहभागिता थियो ।
कार्यक्रममा सहभागीहरूले बाढीपहिरोमा ज्यान गुमाउनेहरूको सम्झनामा दीप प्रज्वलन गर्दै मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका थिए । साथै, विपद्बाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग गर्न नेपाली समुदायलाई आह्वान गरिएको थियो ।
एनआरएनए यूके, जीआरएनसी यूके लगायत विभिन्न संघ सस्थाले सक्दो छिटो सहयोग संकलन गरी प्रभावित क्षेत्रमा राहत पुर्याउने र पुनर्निर्माणमा आवश्यक सहयोगका लागि पनि प्रवासी नेपाली समुदाय एकताबद्ध रहने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा स्थानीय अल्डरसट क्षेत्रकी सांसद एलेक्स बेकर आफू सहभागी हुन नसकेपनि उनले पठाएको शोक सन्देश पढेर सुनाइएको थियो ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


