बुधबार, वैशाख १९, २०८१
20:29 | ०१:१४

बेलायतको रश्मोर काउन्सिलले पठायो गोरखामा ७० लाख बढीको पीपीइ

नेपाली लिङ्क अगस्ट ५, २०२१

लन्डन । बेलायतको रश्मोर बरो काउन्सिलले नेपालको गोरखा जिल्लामा ठूलो परिणामको पीपीइ सहयोग पठाएको छ ।  

आफ्नो मितेरी सम्बन्ध रहेको गोरखा नगरपालिकाका लागि रश्मोरका तर्फबाट पठाइएको ७० लाख रुपैँया बढीको पीपीइ गोरखा पुगिसकेको रश्मोर बरोका काउन्सिलर जीव बेल्वासेले जानकारी दिए ।  

रश्मोर काउन्सिलले गोरखाका स्थानीय स्वास्थ्यकर्मी तथा अत्यावश्यक सेवामा खटिएका कर्मचारी र स्वयम्सेवकहरुका लागि मास्क, ग्लोभ्स्, एप्रोन, जुत्ता लगायत स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको हो । गोरखा नगरपालिकाले प्राप्त पीपीइ जिल्लाका अन्य क्षेत्रमा समेत वितरण गरिने बताएको छ ।  

सहयोग हस्तान्तरणको औपचारिकताका लागि बिहीबार एक भर्चुअल कार्यक्रम आयोजना गरिएको थियो । रश्मोर बरोका मेयर ब्रुस थोमसले गोरखा नगरपालिकाका मेयर राजनराज पन्तलाई सहयोग हस्तान्तरण गरेका थिए ।  


त्यस अवसरमा रश्मोर बरोका काउन्सिल लिडर डेभिड क्लिफोर्ड, काउन्सिलरहरु जीव बेल्वासे र नेम थापा, काउन्सिलको डेमोक्रेसी एन्ड कम्युनिटी विभाग प्रमुख एन्ड्रु कोल्भर, ग्रेटर रश्मोर नेप्लिज कम्युनिटीका अध्यक्ष रामधन राई, गोर्खा वेल्फेयर ट्रष्टका ग्यारी घले, पत्रकार एवम् पूर्व डिएसपी बाचस्पति रेग्मी लगायतको सहभागिता थियो ।  

त्यस्तै, गोरखा नगरपालिकाका तर्फबाट पनि उपमेयर बिना श्रेष्ठ, प्रमुख प्रशासकीय दिनेशराज पन्त अधिकृतसहितका अधिकारीहरुको उपस्थिति थियो ।  


सहयोग हस्तान्तरण कार्यक्रममा रश्मोर बरोका मेयर ब्रुस थोमसले उपलब्ध सहयोग गोरखावासीको स्वास्थ्य सुरक्षाका लागि सहयोगी बन्ने आशा व्यक्त गरे । गोरखाका मेयर पन्तले रश्मोरबाट प्राप्त सहयोगका लागि धन्यवाद प्रकट गरे ।  

त्यस अवसरमा रश्मोरका काउन्सिल लिडर डेभिड क्लिफोर्डले उपलब्ध गराइएको सहयोगबारे जानकारी गराएका थिए । कार्यक्रम संचालन काउन्सिलको डेमोक्रेसी एन्ड कम्युनिटी विभाग प्रमुख एन्ड्रु कोल्भरले गरेका थिए ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू