मंगलबार, वैशाख १८, २०८१
03:23 | ०८:०८

बेलायतमा कोरोनाबाट एक लाख ३० हजारको मृत्यु  

नेपाली लिङ्क अगस्ट ४, २०२१

लन्डन । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या एक लाख ३० हजार पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्यांकले देखाएको छ । बुधबार थप ११९ जना संक्रमितको मृत्यु भएसंगै बेलायतमा कुल मृतक संख्या एक लाख ३० हजार पुगेको हो ।

गएको एक सातामा ५७० जनाको कोरोनाबाट मृत्यु भएको छ । पछिल्लो एक सातामा मृतक संख्या १४.५ प्रतिशतले वृद्धि भएको छ, जुन चार महिना यताकै उच्च हो । विश्वभर कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये  बेलायत अमेरिका, ब्राजिल, भारत मेक्सिको र पेरु पछि छैटौं स्थानमा पर्दछ ।

यसैगरी पछिल्लो २४ घन्टामा थप २९ हजार ३१२ जना नयाँ संक्रमित फेला परेका छन् । यससंगै बेलायतमा संक्रमित हुनेको कुल संख्या ५९ लाख ५२ हजार ७५६ पुगेको छ । संक्रमित संख्या अघिल्लो दिनको तुलनामा झन्डै ८ हजारले बढेको हो ।

बेलायतमा १६ देखि १७ वर्ष उमेर समूहलाई पनि खोप दिने तयारी

बेलायतमा कोरोनाविरुद्धको खोप वितरण गर्ने कार्यलाई तीव्रता दिएसंगै १६ देखि १७ वर्ष उमेरकालाई पनि खोप दिने तयारी भइरहेको छ । हप्ता दिनभित्रै सो उमेर समूहलाई खोपको पहिलो डोज वितरण गरिने ‘जोइन्ट कमिटी अन भ्याक्सिन एण्ड इम्युनाइजेशन’ (जेसीभीआइ) ले जनाएको छ ।

उनीहरुलाई फाइजर बायोएनटेकको खोप दिइनेछ भने खोपका लागि अविभावकको मन्जुरी आवश्यक नपर्ने भएको छ । यस अभियानबाट करिब १४ लाख किशोर किशोरी लाभान्वित हुनेछन् ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ८ करोड ५६ लाख ६१ हजार ३६७ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ६९ लाख २८ हजार ३३ जनाले खोपको पहिलो डोज र तीन करोड ८७ लाख ३३ हजार ३३४ जनाले खोपको दुवै डोज लगाइसकेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ को तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू