मंगलबार, वैशाख १८, २०८१
15:46 | २०:३१

१५० थान अक्सिजन कन्सन्ट्रेटर पठाउन सहयोग गर्ने दाताहरु दूतावासमा सम्मानित

नेपाली लिङ्क जुलाइ १८, २०२१


लन्डन । नेपालमा कोभिड महामारीको दोश्रो लहरका बेला बेलायतबाट अक्सिजन कन्सन्ट्रेटर पठाउन आर्थिक सहयोग गर्ने सम्पूर्ण दातालाई लन्डनस्थित नेपाली दूतावासमा सम्मान गरिएको छ ।

नेपाली दूतावास र एनआरएनए यूकले शनिबार दूतावास भवनमा आयोजित कार्यक्रममा सम्मान गरेका हुन् । आर्थिक सहयोग गर्ने संघसंस्थाका प्रमुख एवं व्यक्ति गरि करिब ६० जनालाई राजदूत लोकदर्शन रेग्मी र एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले खादा र प्रमाणपत्रले सम्मान गरेका थिए ।

एनआरएनए यूकेको संयोजन तथा नेपाली राजदूतावास लन्डन र एनआरएनए आइसीसीसंगको समन्वय एवं बेलायतका विभिन्न संघसंस्था तथा व्यक्तिको सहयोगमा ‘अक्सिजन पठाउं नेपालीको ज्यान बचाउं’ अभियान अन्तर्गत १५० थान अक्सिजन कन्सन्ट्रेटर पठाइ हस्तान्तरण भइसकेको छ । अत्यावश्यक स्वास्थ्य उपकरण किन्न बेलायतबाट करिब २ करोड ५५ लाख संकलन भएको थियो ।


पहिलो चरणमा दूतावासकी उपनियोग प्रमुख रोशन खनालले स्वागत गर्दै कार्यक्रम शुरुवात गरेकी थिइन् ।

सो अवसरमा राजदूत रेग्मीले नेपाल र नेपालीलाई अप्ठेरो पर्दा बेलायतवासी नेपालीले गरेको निस्वार्थ सहयोगप्रति आभार व्यक्त गरे । उनले नेपालको समृद्धिका लागि गैर आवासीय नेपालीको साथ सहयोग महत्वपूर्ण हुने पनि उल्लेख गरे ।

एनआरएनए यूके अध्यक्ष पुनम गुरुङले दूतावासको सहकार्यमा ऐतिहासिक काम गर्न पाउंदा खुशी लागेको बताउंदै सबैलाई धन्यवाद दिइन् ।

दोश्रो चरणको कार्यक्रम एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले सञ्चालन गरेका थिए । कार्यक्रममा एनआरएनए आइसीसी सल्लाहकार कुल आचार्य, एनआरएनए यूके संरक्षक सूर्य गुरुङ, एनआरएनए युरोप क्षेत्रीय उपसंयोजक कृष्ण तिमल्सेना,आइसीसी सदस्य रामशरण सिम्खडा, एनआरएनए यूके पदाधिकारी, अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि सहभागी थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू