बुधबार, वैशाख १९, २०८१
21:13 | ०१:५८

बेलायतमा तेस्रो लहर शुरु भएयताकै बढी संक्रमित

नेपाली लिङ्क जुलाइ ९, २०२१

लन्डन– बेलायतमा एकैदिन ३५ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन्, जुन संख्या जनवरी २३ यताकै उच्च हो ।  ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा ३५  हजार ७०७ नयाँ संक्रमित थपिएका छन् ।

गतहप्ता शुक्रबार २६ हजार ७५८ जना संक्रमित रहेकोमा यो हप्ता संक्रमित संख्या ९ हजारले बढेको हो । बेलायतमा कोरोनाको तेस्रो लहर शुरु भएयता यो सबैभन्दा बढी हो । यससंगै बेलायतमा कुल संक्रमितको संख्या ५० लाख ५८ हजार नाघेको छ । सरकारको पछिल्लो तथ्यांक अनुसार इंग्ल्याण्डमा कोरोना संक्रमण मापन दर (आर) १.२ देखि १.५ को बीचमा छ ।  गत हप्ता यो संख्या १.१ देखि १.३ को बीचमा थियो ।

संक्रमणदर वृद्धि भएपनि मृतक संख्या भने यथावत नै छ । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण २९ जनाको मृत्यु भएको छ । बेलायतमा हालसम्म कोरोनाबाट एक लाख २८ हजार ३६५ जनाको निधन भइसकेको छ ।

कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्यमा पनि सामान्य वृद्धि भएको छ । पछिल्लो तथ्यांक अनुसार एकदिनमा ५०९ जना संक्रमित अस्पताल भर्ना भएका छन् । अस्पतालमा उपचार गराइरहेका संक्रमितको संख्या दुई हजार ७३१ रहेको स्वास्थ्य विभागले जनाएको छ । भेन्टिलेटर बेडमा उपचार गराउनेको संख्या ४१७ छ ।

कोरोनाविरुद्धको खोप वितरण शुरु गरिएयता बेलायतमा ८ करोड भन्दा बढी डोज वितरण भइसकेको छ । यहाँ ६५ दशमलव ३ प्रतिशत वयस्कहरुले खोपको दुवै डोज र ८६ दशमलव ८ प्रतिशतले पहिलो डोज लगाएका छन् ।

पछिल्लो तथ्यांक अनुसार बेलायतमा ८ करोड ७२ हजार १२१ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ५६ लाख ९७ हजार ८७५ जनाले पहिलो र तीन करोड ४३ लाख ७४ हजार २४६ जनाले दोस्रो डोज लगाएका छन् ।

बेलायतमा संक्रमण दर बढ्दै गएपनि सरकारले लकडाउन हटाउने घोषणा गरिसकेको छ । प्रधानमन्त्री बोरिस जोन्सनले आगामी जुलाई १९ मा लकडाउन खोल्ने घोषणा गरेका छन् । यसैगरी दुवै डोज खोप लगाइसकेकालाई सरकारले यात्रा प्रतिवन्धको नियम पनि सहज गर्ने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू