मंगलबार, वैशाख १८, २०८१
06:40 | ११:२५

भूतपूर्व गोर्खाको निर्णायक आन्दोलनबारे बेलायती राजनीतिज्ञलाई अवगत

नेपाली लिङ्क जुन ६, २०२१

लन्डन । गोर्खा सत्याग्रह संयुक्त संघर्ष समितिले आफ्ना भावी आन्दोलनबारे बेलायतको सर्वदलीय संसदीय समिति (एपीपीजी अन नेपाल) का अध्यक्ष सांसद वीरेन्द्र शर्मालाई अवगत गराएको छ ।

समितिका पदाधिकारीले शनिबार सांसद शर्मालाई भेट गरि आफ्नो आन्दोलनबारे अवगत गराएका हुन् ।

समितिले सांसद शर्मालाई एक ज्ञापन समेत दिएको छ । ज्ञापनपत्र लिएपछि शर्माले आफ्नो तर्फबाट सहयोगको प्रतिवद्धता व्यक्त गर्दै यसबारे बेलायती प्रधानमन्त्री बोरिस जोन्सनलाई अवगत गराउने आश्वासन दिएका समितिका प्रमुख संयोजक कृष्णबहादुर राईले जानकारी दिए ।

भेटमा समितिका अभियान निर्देशक ज्ञानराज राई, सोलिसिटर राजु थापा लगायतको उपस्थिति थियो ।

गोर्खा सत्याग्रहले आउंदो जुलाई १ तारिखको अल्टिमेटम दिएर मितिसहित वार्ता समिति गठन नगरे भोक हडतालसम्मको चेतावनी दिएको छ ।

आगामी १५ जुन मध्यान्ह १२.३० बजे सेन्ट्रल लन्डनको गोर्खा स्मारकमा आमसभा गरि प्रधानमन्त्री कार्यालय टेन डाउनिङ स्ट्रिटमा गएर आफ्ना माग र निर्णायक आन्दोलनबारे पुनः ज्ञापन (रिमाइन्डर लेटर) बुझाउने कार्यक्रम तय भइसकेको राईले बताए ।

सत्याग्रहले आफ्ना माग वेवास्ता गरिए ७६ मुलुकका प्रतिनिधिको सहभागितामा अन्तर्राष्ट्रिय सम्मेलन गरि व्यापक प्रचार प्रसार र १३ दिने रिले अनसन बस्ने घोषणा गरिसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू