शनिबार, २७ जुन, २०२६
03:16 | ०८:०१

यूकेबाट १५० सहित एनआरएनएका ४२८ अक्सिजन कन्सनट्रेटर नेपाल पुग्यो

नेपाली लिङ्क जुन ६, २०२१

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सुरु गरेको ‘नेपालमा अक्सिजन पठाऔँ, आफन्तको ज्यान बचाऔँ’ अभियान अन्तर्गत थप ४ सय २८ अक्सिजन कन्सनट्रेटर शनिबार साँझ ७ बजे (५ जुन २०२१) काठमाण्डौँ पुगेको छ । विभिन्न राष्ट्रिय समन्वय परिषद्को समन्वयमा विश्वभर छरिएका संघ–संस्था र नेपाली समुदायको सहयोगमा ति सामग्री खरिद भएको हो । 

यूकेबाट १५०, अष्ट्रेलियाबाट १००, क्यानाडाबाट ७५, जर्मनीबाट ३०, दक्षिण कोरियाबाट २०, इटालीबाट १०, चीनबाट ७ र अन्य सँस्थाबाट ३६ वटा अक्सिजन कन्सनट्रेटर खरिदका लागि आर्थिक सहायता प्राप्त भएको थियो ।

ति सामग्री लैजान चीनस्थित नेपाली दूतावास र गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् चीनले खरिद प्रकृयामा सहयोग गरेका थिए भने ढुवानी खर्च नेपाल सरकारले बेहोरेको थियो ।

यसैगरी, गैरआवासीय नेपाली संघ अफ्रिका क्षेत्रबाट इलाम देखि जुम्ला सम्मका विभिन्न १३ जिल्लाका २८ अस्पताल र स्वास्थ्य केन्द्रमा १४५ अक्सिजन सिलिन्डर खरिदसहित ११५० रिफिल अक्सिजन सिलिन्डर र स्वास्थ्य सामाग्री हस्तान्तरण गरि सकिएको छ भने दुर्गम क्षेत्रमा सिलिन्डर पठाउने अभियान जारी रहेको गैरआवासीय नेपाली संघका प्रवक्ता डिबी क्षेत्रीले जानकारी दिए ।

विश्वभरबाट प्राप्त बाँकी आर्थिक सहयोगबाट संघले सातै प्रदेशमा अक्सिजन प्लान्ट स्थापना गर्ने तयारी समेत गरेको छ ।  

गैरआवासीय नेपाली संघले संघको अभियानमार्फत सहयोग गर्ने विदेशस्थित दूतावास, कूटनीतिक नियोग, संघका राष्ट्रिय समन्वय समिति लगायत विभिन्न नेपाली संघसंस्था तथा आम गैरआवासीय नेपालीप्रति आभार व्यक्त गरेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू