मंगलबार, वैशाख १८, २०८१
01:30 | ०६:१५

बेलायती भेट्रानहरुमाथिको अन्यायविरुद्ध उभिए गोर्खाहरु (भिडियो)

भेट्रानहरुको आन्दोलनमा ऐक्यबद्धतासहित सहभागिता

नेपाली लिङ्क मे ८, २०२१


लन्डन । बेलायती सेनाबाट अवकाशप्राप्त सैनिकहरुको आन्दोलनमा भूतपूर्व गोर्खा सैनिकहरुले पनि ऐक्यबद्धता जनाएका छन् ।  

ब्रिटिश भेट्रान एशोसिएसनको तर्फबाट शनिबार मध्य लन्डनमा आयोजित विरोध र्‍यालीमा समर्थन जनाउँदै गोर्खा सत्याग्रह संघर्ष समितिका दर्जन बढी अभियन्ताहरु सहभागी भए ।  

नर्दन आयरल्यान्ड युद्धका क्रममा राज्यका तर्फबाट लडेका बेलायती सेनाका सैनिकहरुमाथि लगाइएको मुद्धा फिर्ताको माग गर्दै भेट्रानहरुले प्रदर्शन गरेका थिए ।  

लन्डनको मुटु ट्राफल्गर स्क्वायरबाट निस्केको विरोध र्‍याली बेलायती संसद ‘हाउस अफ कमन्स’ बाहिरसम्म पुगेर विरोधसभामा परिणत भएको थियो । पूर्व सैनिकहरुकै मुद्धाको विषयमा प्रधानमन्त्री बोरिस जोन्सनसँग विमति राख्दै हालै राजीनामा गरेका बेलायत सरकारका भेट्रान मिनिस्टर जोनी मर्सरले सभालाई सम्बोधन गरेका थिए ।  

ब्रिटिश भेट्रानहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन पुगेका गोर्खा सत्याग्रह संघर्ष समितिका अभियान निर्देशक ज्ञानराज राईले बेलायती सहकर्मीहरुमाथिको अन्यायका विपक्षमा गोर्खाहरुले पनि मत जाहेर गरेको सुनाए ।  

‘बेलायती भेट्रानहरु गोर्खाहरुमाथिको अन्याय र विभेदविरुद्ध सधैं हामीसंगै छन् । हाम्रो आन्दोलनमा उनीहरुको निरन्तर ऐक्यबद्धता र समर्थन रहंदै आएको छ’, अभियन्ता राईले भने, ‘राज्य र शासकहरुको आदेशमा नर्दन आयरल्यान्ड युद्ध लडेका सैनिकहरुलाई झुट्टा मुद्धा लगाएर जेल हाल्ने जस्तो षड्यन्त्रपूर्ण कार्यविरुद्ध हामी पनि उनीहरुकै साथमा उभिएका हौं ।’

प्रदर्शनमा सहभागी गोर्खाहरुले जुलाई १ बाट शुरु हुने आमरण अनसनसहितका आन्दोलनबारे जानकारी गराउने उद्धेश्यले पर्चा वितरण समेत गरेका थिए ।  

स्मरण रहोस्, गोर्खा सत्याग्रह संघर्ष समितिले गोर्खा मुद्धा समाधानका लागि नेपालसंग वार्ताको मिति तोक्न बेलायत सरकारलाई जुन १ सम्मको अल्टिमेटम दिएको छ । अन्यथा जुलाई १ बाट कडा आन्दोलनमा जाने घोषणा गरिसकिएको छ ।  

भिडियोको लागि यहाँ क्लिक गर्नुहोला-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू