मंगलबार, वैशाख १८, २०८१
02:25 | ०७:१०

गुल्मी जिल्ला समाज यूकेमा वर्तमान कार्यसमितिकै कार्यकाल एक वर्ष थप

भर्चुअल रुपमा सम्पन्न भयो आठौं वार्षिक साधारणसभा

नेपाली लिङ्क मे २, २०२१

लन्डन । गुल्मी जिल्ला समाज यूकेमा वर्तमान कार्यसमितिकै कार्यकाल एक वर्ष थप गरिएको छ ।  

आइतबार भर्चुअल रुपमा सम्पन्न आठौं वार्षिक साधारणसभाले कोभिड महामारीका कारण सिर्जित असहज् अवस्थालाई ध्यानमा राख्दै टोप पल्ली नेतृत्वको कार्यसमितिको म्याद एक वर्ष बढाउने निर्णय गरेको हो ।  

सन् २०१९ मा निर्वाचित समाजको छैठौँ कार्यसमितिको कार्यकाल थप भएपछि अब अर्को वर्ष मात्रै नयाँ नेतृत्व चयन गरिने भएको छ ।  

कार्यसमितिको कार्यकाल बढाउंदै थप एक वर्षको लागि जिम्मेवारी सुम्पिएकोमा अध्यक्ष टोप पल्लीले सल्लाहकार, अग्रज एवम् सबै सदस्यहरुमा धन्यवाद ज्ञापन गरे । उनले थपिएको एक वर्षको अवधिमा झन् उच्च मनोबल र सक्रियतापूर्वक् काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।  

साधारणसभामा महासचिव बीर बलालले पछिल्लो दुई वर्षे कार्यकालको प्रगति विवरण तथा कोषाध्यक्ष बरुण भण्डारीले आर्थिक विवरण पेश गरेका थिए । त्यस अवसरमा विधान समितिका संयोजक केशव भण्डारीले प्रस्तुत गरेको विधान संशोधनको प्रस्तावमा व्यापक छलफलपछि संशोधनसहित पारित गरिएको थियो ।  

साधारणसभामा आगामी अगस्ट १ तारिखलाई तय संस्थाको वार्षिक भेला र डिसेम्बर ५ तारिखमा हुने अपांगता दिवस च्यारिटीको तयारीबारे पनि छलफल गरिएको थियो । वार्षिक भेला संयोजनको जिम्मा महासचिव बीर बलाललाई दिइएको छ भने उपाध्यक्ष मतिप्रसाद पुनलाई सह-संयोजक चुनिएको छ ।  

त्यसअवसरमा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्षद्वय अर्जुन गौतम र राम गलामी, सल्लाहकारहरु दुर्गा पाण्डे, बालजंग अर्याल, क्याप्टेन ताम ढेगा, सुरेश गौतम लगायतले शुभकामना मन्तव्य दिएका थिए ।  

त्यस्तै, सल्लाहकार एवम् एनआरएनए यूकेका उपाध्यक्ष प्रेम गाहामगरले एनआरएनए यूकेको आसन्न निर्वाचनबारे जानकारी गराउँदै सदस्यता लिन र नयाँ नेतृत्व चयन प्रक्रियामा सक्रियतापूर्वक सहभागी बन्न आव्हान गरेका थिए ।  

कार्यक्रममा उपाध्यक्ष तारानाथ भण्डारीले स्वागत मन्तव्य दिएका थिए भने संचालन महासचिव बीर बलालले गरेका थिए । प्राविधिक संयोजनमा प्रवक्ता रुद्र थापा र सचिव मन्जु भण्डारी जुटेका थिए ।  

समाजका अध्यक्ष टोप पल्लीको अध्यक्षतामा सम्पन्न साधारणसभामा समाजका सल्लाहकारहरु रण केसी, गोकर्ण बस्नेत, मीन दर्लामी, दासुराम पाण्डे, फत्त थापा, कोशलेश्वर ढकालसंगै कार्यसमितिका पदाधिकरी एवम् आजीवन सदस्यहरुको पनि उल्लेख्य सहभागिता थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू