बेलायतमा ५ किमी भर्चुअल रनको तयारी, संसारभरबाट भाग लिन सकिने


लन्डन । विश्व नै कोरोना महामारीले आक्रान्त भइरहेका बेला शारीरिक तन्दुरुस्ती र स्वास्थ्यसम्बन्धी सचेतना प्रवर्द्धन गर्ने उद्धेश्यले बेलायतमा ५ किमी ‘भर्चुअल रन’ को तयारी गरिएको छ ।
पासा पुच: गुठी साउथ इष्ट लन्डनअन्तर्गतको ‘एक्टिभ रन’ समूहले आउंदो मे १ देखि १५ तारिखसम्म दौड आयोजना गर्न लागेको हो ।
पासा पुच गुठी यूके समेतको सहकार्यमा आयोजना हुने ‘एक्टिभ रन’ मा भर्चुअल माध्यमबाट संसारका जुनसुकै स्थानबाट सहभागी बन्न सकिनेछ ।
‘दौडका सहभागीले मे महिनाको १ देखि १५ तारिखभित्रमा ५ किमी दूरी पूरा गर्नुपर्नेछ । आफ्नो ईच्छाअनुसार जुनसुकै समय वा स्थानमा दौडिएर र हिंडेर पनि दूरी पूरा गर्न सकिनेछ’, एक्टिभ रनका संयोजक ईश्वर महर्जनले भने, ‘कुनै पनि राइडर मोबाइल एपमा दूरी पूरा गरेको देखाउने स्क्रिनसट प्रमाणका रुपमा इमेलमार्फत् हामीलाई पठाउनुपर्नेछ ।’
तोकिएको दूरी पूरा गर्नेले हरेक सहभागीलाई आयोजकका तर्फबाट हुलाकमार्फत् मेडल र प्रमाणपत्र पठाइनेछ ।
एक्टिभ रनमा सहभागी हुन ईच्छुक हुनेलाई यही अप्रिल २५ तारिखसम्ममा नाम दर्ता गर्न आव्हान गरिएको छ । अप्रिल २५ भित्रै नाम दर्ता गर्ने हरेक सहभागीले १० पाउन्डको प्रवेश शुल्क बुझाउनुपर्नेछ । अप्रिल २५ पछि नाम दर्ता गराउँदा भने २ पाउन्ड बढी १२ पाउन्ड लाग्नेछ ।
‘एक्टिभ रन’ को वेबसाइट https://activerun.org मा गएर आफ्नो नाम दर्ता गराउन सकिनेछ ।
पासा पुच गुठी साउथ इष्ट लन्डनले व्यायाम र स्वास्थ्यसम्बन्धी सचेतना जगाउने र प्रोत्साहन गर्ने लक्ष्य राखेर ईश्वर महर्जनको संयोजकत्वमा ‘एक्टिभ रन’ समूह निर्माण गरेको हो ।
आफ्नो पहिलो इभेन्टका रुपमा भर्चुअल रन गर्न लागेको यो समूहले भविष्यमा साइकिलिङ, टेनिसलगायत अन्य खेलकुद तथा व्यायामसम्बन्धी गतिविधि पनि संचालन गर्ने योजना बनाएको छ ।
संयोजक महर्जनले ‘एक्टिभ रन’ मा २ सय जनाको सहभागिता अपेक्षा गरिएको बताए ।
पासा पुच गुठी साउथ इष्ट लन्डनका महासचिव नगेन्द्र श्रेष्ठले एक्टिभ रनमा सहभागिताका लागि बेलायतवासी नेपालीसहित देशविदेशका नेपालीहरुलाई पनि अपील गरे । दौडमा सहभागी हुन संस्थाको सदस्य हुन आवश्यक नरहेको स्पष्ट पार्दै उनले जुनसुकै ठाउँबाट जोसुकैले भाग लिन सक्ने बताए ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५