मंगलबार, वैशाख १८, २०८१
12:25 | १७:१०

७ घण्टामा पूरा भयो ६४ माइलको लन्डन-ब्राइटन च्यारिटी साइकलयात्रा

नेपाली लिङ्क अप्रिल १७, २०२१

साइकलयात्रा पूरा भएपछि ब्राइटनमा

लन्डन । एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदद्वारा आयोजित च्यारिटी साइकलयात्रा सफलतापूर्वक सम्पन्न भएको छ ।  

साउथ इष्ट लन्डनको वुल्वीचदेखि ब्राइटनसम्मको ६४ माइल लामो यात्रा करिब ७ घण्टा लगाएर दिउंसो सवा ४ बजे पूरा भएको आयोजक इंग्ल्याण्ड परिषद अध्यक्ष दिपक श्रेष्ठले जानकारी दिए ।

यात्रामा निस्किएका सबै २३ जना अभियन्ताहरु यात्रा पूरा गर्न सफल बनेको श्रेष्ठले बताए । उनीहरु अहिले ‘ट्रेन’ चढेर लन्डन फर्किएका छन् ।  

साइकल यात्रामा वुल्वीच आर्सनल राइडर्स् (वार) क्लबमा आबद्ध एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराई, इंग्ल्याण्ड परिषद अध्यक्ष दिपक श्रेष्ठ, क्याट यूके अध्यक्ष जीवन सेन, हङकङ नेपाली मञ्च अध्यक्ष ह्यारी गुरुङ, हेल्प नेपाल नेटवर्कका प्रसिद्ध प्रधान र सचिन श्रेष्ठ, नेप्लिज युथ एशोसिएसनका अध्यक्ष लछुमन गुरुङ, सुरज गुरुङ सहभागी थिए । क्लबका सदस्यहरुबाहेक धरान रन संचालक धावक सन्तोष राईसहित बेलायतका विभिन्न क्षेत्रबाट सामाजिक अभियन्ताहरुले पनि साइकलयात्रामा भाग लिएका थिए   

नेपालस्थित अनाथ बाल गृह र वृद्धाश्रमको सहयोगको लागि एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदले आयोजना गरेको च्यारिटी साइकल यात्रामा एनआरएनए यूके, हेल्प नेपाल नेटवर्क, नेपाली युथ एशोसिएसन, वुल्वीच आर्सनल राइडर्स् (वार) क्लब लगायतको सहकार्य थियो ।

इनास यूकेको हौसला

शनिबार बिहान एनआरएनए यूकेकी अध्यक्ष पुनम गुरुङले साइकल यात्रा उद्घाटन गरेकी थिइन् । साइकल यात्रीहरुलाई शुभकामना दिन विभिन्न संघसंस्थाका प्रतिनिधि तथा समाजका अगुवाहरु वुल्वीच पुगेका थिए ।  

यात्रीहरु क्रोयडन पुग्दा स्थानीय क्रोयडन नेपाली समाजका प्रतिनिधिले स्वागत गर्दै पानी, पोष्टिक पेय पदार्थ र रिफ्रेसमेन्ट प्रदान गरेका थिए । त्यसअघि इनास यूकेले पनि यात्रीहरुको लागि ‘रिफ्रेसमेन्ट’ वितरण गरेको थियो ।

यात्रीहरुको सहयोग र सुरक्षाका लागि मेडिकल टीम तथा स्वयमसेवकहरु संलग्न ‘रेस्क्यू टीम’ पनि ब्राइटन पुगेको थियो । उक्त समूहमा पुण्य रेग्मी, जीत रानाभाट, राजन खकुराल, प्रसुना कंडेल, राजेन्द्र सुवेदी लगायत थिए । ‘इमर्मेन्सी ट्रान्सपोर्टेसन्’ का लागि धनराज मल्लको संयोजनमा व्यवस्था मिलाइएको थियो ।

आयोजक एनआरएनए इंग्ल्याण्ड राज्य परिषद अध्यक्ष दिपक श्रेष्ठले इभेन्ट सफल पार्न सहयोग गर्ने सह-आयोजक संस्था, यात्रामा सहभागी सामाजिक अभियन्ताहरु, सहयोग एवम् हौसला प्रदान गर्ने संघसंस्थासहित इभेन्टद्वारा संकलित कोषमा आर्थिक सहयोग दिनेहरु सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।  

इभेन्टमार्फत संकलित कोषबाट यसअघि नै हेल्प नेपाल नेटवर्कद्वारा धुलिखेलमा सञ्चालित बालगृहलाई ४ लाख रुपैयां र बुद्ध फाउण्डेशन यूकेद्वारा कपिलवस्तुमा निर्माणाधिन बुद्ध वृद्धाश्रमका लागि एकलाख ९२ हजार रुपैयां सहयोग हस्तान्तरण गरिसकिएको छ ।

क्रोयडनमा स्वागत

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू