मंगलबार, वैशाख १८, २०८१
08:00 | १२:४५

इको गायन तयारीमा विश्व नेपाली साहित्य महासंघ साउथ यूके

नेपाली लिङ्क मार्च २३, २०२१

लन्डन । विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले इको गीत वाचन/गायन एवं साहित्यिक कार्यक्रमको तयारी पुरा गरेको छ ।

महासंघको पाँचौं स्थापना दिवसको अवसर पारेर यहि मार्च २७ का दिन भर्चुअल माध्यमबाट स्थापना दिवस साथै ‘अर्थ आवर’ कार्यक्रम गर्न लागिएको विश्व नेपाली साहित्य महासंघ साउथ यूकेले जनाएको छ ।

कार्यक्रम यूके समय अनुसार दिउँसो १ देखि ३ बजे र नेपाल समय अनुसार बेलुकी ६.४५ देखि ८.४५ सम्म जुममार्फत सञ्चालन हुनेछ ।

कार्यक्रममा इको गीत वाचन/गायनलाई प्राथामिकता दिइने भएकाले सहभागिता जनाउन एउटा इको गीत वा अन्य कुनै इको सिर्जनासहित उपस्थित हुन आयोजकले अनुरोध गरेका छन् ।

‘अर्थ आवर’ एक वातावरण संरक्षणको अन्तरराष्ट्रिय अभियान भएको हुँदा यसलाई गीतको माध्यमबाट सन्देश प्रवाह एवं वातावरणीय जनचेतना फैलाउने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको विश्व नेपाली साहित्य महासंघ साउथ यूकेका अध्यक्ष विजय हितानले बताए ।

‘विगतका वर्षहरूमा इको कवितालाई थिम बनाएर विभिन्न कार्यक्रम गरेका थियौं । अहिले इको गीत अर्थात वातावरणीय गीत लेख्न प्रमोट होस् भनेर इको गीत आयोजना गरिएको हो’, हितानले भने, ‘बेलायतमा दर्जनौं गीतकार छन् तर, सबैले माया प्रेम, राष्ट्रप्रेम जस्ता मानव केन्द्रित भावमा मात्रै गीत लेख्छन् । प्रकृति केन्द्रित गीत लेखेर पर्यावरणीय जनचेतना फैलाउने कार्यक्रमको उद्देश्य हो ।’

डेढ दर्जन भन्दा बढी मुलुकमा फैलिएको विश्व नेपाली साहित्य महासंघको साउथ यूकेले बेलायतमा नेपाली साहित्य सृजना प्रवर्धन साथै लुकेका प्रतिभालाई उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ । शाखा निकै सक्रिय छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू