मंगलबार, वैशाख १८, २०८१
03:43 | ०८:२८

लन्डनका सफल व्यवसायी महन्त श्रेष्ठ बेलायतका लागि पर्यटन दूत नियुक्त

नेपाली लिङ्क मार्च ३, २०२१


लन्डन । लन्डनस्थित एक सफल व्यवसायी तथा समाजसेवी महन्त श्रेष्ठ बेलायतका लागि नेपाल पर्यटन बोर्डको मानार्थ जनसम्पर्क प्रतिनिधि (दूत) नियुक्त भएका छन् ।

पर्यटन बोर्डले गत २५ फेब्रुअरीमा एनआरएनए यूके संस्थापक अध्यक्ष श्रेष्ठलाई आगामी दुई वर्षका लागि अनरेरी पब्लिक रिलेसन्स रिप्रेजेन्टेटिभ (एचपीआरआर) नियुक्त गरेको हो ।

बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइयो) डा. धनन्जय रेग्मीले श्रेष्ठलाई नियुक्ति र बधाइ दिंदै उनको कार्यकालमा नेपालको पर्यटन प्रवर्धनमा उल्लेख्य योगदान पुग्ने अपेक्षा व्यक्त गरेका छन् ।

नियुक्तिसंगै श्रेष्ठले लेटरहेड र भिजिटिङ कार्डमा नेपाल पर्यटन बोर्डको आधिकारिक लोगो प्रयोग गर्न पाउनेछन् । बोर्डले श्रेष्ठलाई नियमित अपडेटसहित प्रेस विज्ञप्ति, समाचार र प्रवर्धनात्मक सामग्रीहरु उपलब्ध गराउनेछ । श्रेष्ठले नेपाली दूतावास लन्डन, टुर अपरेटर्स, होटल व्यवसायी लगायत सरोकारवालासंग निकट रहेर काम गर्नेछन् ।

बेलायतको नेपाली समुदायका अग्रज अभियन्ता श्रेष्ठले बोर्डको नियुक्तिलाई गरिमामय रुपमा लिंदै कोभिडपछि थलिएको नेपाली पर्यटन उकास्न आफ्नो तर्फबाट सक्दो काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

‘म पदमा नरहंदा पनि नेपाल र नेपाली समुदायका लागि निरन्तर लागेको मान्छे हुं । अब सरकारले नै योग्य ठानेर औपचारिक जिम्मेवारी दिएपछि पर्यटन प्रवर्धनका क्षेत्रमा झन् काम गर्न दायित्ववोध महशुस भएको छ’, श्रेष्ठले नेपाली लिंकसंग भने । उनले बेलायतको लकडाउन अन्त्यपछि पर्यटन प्रवर्धन सम्बन्धि गतिविधिलाई तीव्रता दिने पनि बताए ।

सन् १९७६ मार्च १० का दिन वर्क परमिट लिएर लन्डन उत्रिएका श्रेष्ठ इलिङस्थित मन्टिज रेष्टुरेन्टका सञ्चालक हुन् ।

श्रेष्ठले रेष्टुरेन्ट व्यवसायसंगै लन्डनमा बियर उत्पादन र प्रोपर्टीमा पनि लगानी गरेका छन् । पार्टनरसीपमा सन् २००३ देखि खुकुरी बियर उत्पादन गरेर सन् २००७ देखि उनी एक्लैले यो व्यवसाय सञ्चालन गरिरहेका छन् ।

यूके नेपाल व्यापार तथा लगानी मञ्चका उपाध्यक्ष श्रेष्ठको दुईवर्षदेखि काठमाडौं ठमेलमा तारे होटल पनि चालु छ ।

एनआरएनए यूकेको संस्थापक अध्यक्ष, पासा पुच गुठी यूके ट्रष्टीको अध्यक्ष, लन्डन चेम्बर अफ कमर्सको सदस्य, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स 
(बीएनसीसी) को उपाध्यक्ष, साउथहल राम मन्दिरको ट्रष्टी र स्थानीय मेयर च्यारिटीको कमिटीमा रहेर काम गरिसकेका उनी इलिङ चेम्बर अफ कमर्सको पूर्व अध्यक्ष पनि हुन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू