बुधबार, वैशाख १९, २०८१
19:52 | ००:३७

बेलायतमा लकडाउन खुकुलो पार्दा ‘पारिवारिक पुनर्मिलन’ पहिलो प्राथमिकतामा

केयर होम बासिन्दाले आफन्त भेट्न पाउने

नेपाली लिङ्क फ्रेब्रवरी २०, २०२१

लन्डन । बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले महिनौंदेखि जारी देशव्यापी लकडाउन क्रमशः खुकुलो पार्दै जाने सरकारको योजना सोमबार घोषणा गर्दैछन् । सोही योजनालाई अन्तिम रुप दिन प्रधानमन्त्री र सरकारका सिनियर मन्त्रीहरुबीच यो सप्ताहन्तमा बैठकहरु तय छन् ।

बेलायत सरकारले लकडाउन खोल्ने आफ्नो रणनीतिमा सबैभन्दा पहिलो प्राथमिकतामा पारिवारिक पुनर्मिलनलाई राखिएको जनाएको छ । प्रधानमन्त्री कार्यालयलाई उदृत गर्दै बीबीसीले जनाएअनुसार लकडाउनका कारण लामो समयदेखि भेट्न नपाएका परिवारका सदस्यहरु पुनर्मिलन हुन पाउने गरी प्रतिवन्धहरु खुकुलो पार्ने सरकारको चाहना छ ।

सरकारले घोषणा गर्ने योजनाहरुबारे आधिकारिक जानकारी अझै बाहिरिएको छैन । तर मानिसहरुको सामाजिक सम्पर्क समेत बिस्तारै बढाउने गरी प्रतिवन्ध खुकुलो पार्ने योजना तयारी भइरहेको बताइएको छ । जसका लागि आउँदो इष्टरसम्ममा दुईवटा परिवारलाई आउटडोर भेटका लागि छुट दिने विकल्पमा सरकारले विचार गरिरहेको छ ।

आउँदो मार्च ८ देखि इंगल्याण्डमा केयर होमका बासिन्दालाई एक जनासम्म आफन्तले भेट्न पाउने भएका छन् । हरेक केयर होम बासिन्दालाई उनीहरुले चयन गरेको एकजना आफन्तले नियमित रुपमा भेट्न दिने छुट लागू गरिने सरकारी स्रोतले पुष्टि गरेको छ । स्कटल्याण्डमा भने मार्च महिनाको पूर्वाद्धदेखि केयर होम बासिन्दालाई दुई जना आफन्तले भेट्न पाउनेछन् ।

सरकारले सोमबार घोषणा गर्ने लकडाउन तथा प्रतिवन्धसम्बन्धी अन्य घोषणाहरु कस्ता रहनेछन् भन्ने स्पष्ट छैन । सरकारले चरणबद्ध रुपमा प्रतिवन्धहरु हटाउँदै जाने आफ्नो रणनीति सार्वजनिक गर्नेछ । तर संक्रमणको अवस्थालाई ध्यानमा राखेर मात्रै ती योजना कार्यान्वयनमा ल्याइने भनएको छ ।

पछिल्लो समय लकडाउन र कोभिड खोप दुवैको बलमा बेलायतमा संक्रमण घट्दै गएपनि ढुक्क भएर प्रतिवन्धहरु हटाइहाल्ने अवस्था आउन केही समय लाग्ने सरकारी अधिकारीहरुले बताउँदै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू