पासा पुच: गुठी साउथ इष्टको नयाँ कार्यसमिति निर्विरोध, अध्यक्षमा माधवलाल श्रेष्ठ


लण्डन । पासा पुच: गुठी यूके साउथ इष्ट लण्डन शाखाको नयाँ कार्यसमिति निर्विरोध भएको छ । शाखाको नयाँ कार्यसमितिमा उम्मेदवारीका लागि निर्धारित समयभित्र अध्यक्षसहितका सबै पदमा एकल उम्मेदवारी परेकोले सिंगो समिति नै निर्विरोध बनेको हो ।
निर्वाचन समितिले उपलब्ध गराएको जानकारीअनुसार शाखाको अध्यक्षमा माधवलाल श्रेष्ठ निर्विरोध बनेका छन् । वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका उनले त्यसअघि संस्थाको कोषाध्यक्षका रुपमा पनि काम गरेका थिए ।
त्यस्तै, नयाँ कार्यसमितिको उपाध्यक्षमा मदनकुमार श्रेष्ठ, रिता श्रेष्ठ र विनोद चिपालु आएका छन् । मदनकुमार र रिता दुवै अहिलेको कार्यसमितिमा पनि उपाध्यक्ष छन् भने चिपालु सांस्कृतिक सचिवको भूमिकामा छन् ।
वर्तमान कार्यसमितिका महासचिव नगेन्द्र श्रेष्ठ नयाँ कार्यसमितिमा पनि महासचिवमै निरन्तर हुने भएका छन् । त्यसैगरी, नयाँ कार्यसमितिको कोषाध्यक्षमा सोनी श्रेष्ठ, सांस्कृतिक सचिवमा सत्यप्रसाद प्रजापति, सचिवमा भिमलक्ष्मी शाक्य, सह-कोषाध्यक्षमा दानमाया महर्जन र सांस्कृतिक सह-सचिवमा सिरज श्रेष्ठ निर्विरोध भएका छन् ।
समितिको सदस्यमा कृष्ण वैद्य, ईश्वर महर्जन, नीर महर्जन, सुमन महर्जन, आशिष श्रेष्ठ, मंगेश श्रेष्ठ, राज श्रेष्ठ र मिल्शान्त चिपालु पनि निर्विरोध भएका छन् ।
यही जनवरी २४ तारिख आइतबार तय शाखाको अधिवशेनमा नयाँ कार्यसमितिको औपचारिक घोषणा गरिनेछ ।
उम्मेद्वारको नाममा दावी विरोधका लागि निर्धारित जनवरी १८ को साँझ ५ बजेपछि नयाँ कार्यसमितिको पूर्ण टुंगो लाग्नेछ ।नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ ।
कार्यसमितिको निर्वाचनका लागि शाखाका संस्थापक कुमार श्रेष्ठको संयोजकत्वमा पूर्व अध्यक्षद्धय चुत्रबहादुर श्रेष्ठ र मनिष श्रेष्ठ सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
नयाँ कार्यसमितिको चयनसंगै शाखाका वर्तमान अध्यक्ष सुशिल प्रजापतिले दुई कार्यकाल सम्हालेको नेतृत्वको भारी बिसाउँदैछन् । ‘नयाँ टीमलाई नेतृत्व हस्तान्तरण गर्न म निकै उत्साहित छु । अनुभवी र क्षमतावान साथीहरुको उर्जाशिल टीम बनेको छ’, अध्यक्ष प्रजापतिले नेपाली लिंकसंग भने, ‘हामीले नयाँ पुस्तालाई पनि समेट्ने प्रयासस्वरुप अबको कार्यसमितिमा बेलायतमै जन्मे हुर्केका केही तन्नेरीहरु पनि ल्याउन सफल भएका छौं । दीर्घकालीन रुपमा संस्था र संस्थाको अभियान अघि बढाउन नयाँ पुस्ताको सहभागिताले ठूलो भूमिका खेल्नेछ भन्ने हामीलाई विश्वास छ ।’
पासा पुच: गुठी साउथ इष्ट लण्डनले नेवारी चाडपर्व, खाना, बाजा लगायतका मौलिक परम्परा र संस्कृति जगेर्नाको लक्ष्य राखेर नियमित कार्यक्रमहरु गर्दै आएको छ । बेलायतमै हुर्किंदै गरेका नयाँ पुस्ताका बालबालिका र किशोरकिशोरीलाई समेत मौलिक बाजा, नृत्य आदि सिकाउने काम संस्थाले गर्ने गरेको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५