मंगलबार, वैशाख १८, २०८१
16:18 | २१:०३

अक्सफोर्डको खोप: बेलायतलाई राहत, नेपालजस्ता मुलुकलाई उपयोगी

नेपाली लिङ्क डिसेम्बर ३०, २०२०

लण्डन । अक्सफोर्ड विश्वविद्यालयले विकास गरेको कोभिड १९ विरुद्धको खोपलाई आम प्रयोगका लागि बेलायतले अनुमति प्रदान गरेको छ ।

अक्सफोर्ड र एक्सट्राजेनेकाद्धारा निर्मित खोप प्रयोगका लागि सुरक्षित रहेको निष्कर्षसहित यहाँको ‘मेडिसिन एण्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी’ ( एमएचआरए) ले मान्यता दिएको हो ।

आउँदो सातादेखि नै आम रुपमा वितरण गर्ने भनिएको यो खोपको १० करोड डोज बेलायत सरकारले अर्डर गरिसकेको छ । जुन एकजनालाई दुई डोजका दरले दिंदा ५ करोड मानिसका लागि पर्याप्त हुनेछ ।

आउँदो मार्च महिनासम्ममा चार करोड डोज वितरण गरिसक्ने बेलायतको योजना छ । यो खोप परीक्षणका क्रममा ६२ देखि ९२ प्रतिशतसम्म प्रभावकारी देखिएको छ ।

यसअघि बेलायतमा वितरण शुरु भइसकेको फाइजर बायोनटेक खोपसमेत गरी अब बेलायतको सिंगो जनसंख्यालाई पुग्ने डोजको व्यवस्था भएको बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले दाबी गरेका छन् ।

प्रधानमन्त्री बोरिस जोन्सनले अक्सफोर्डको कोभिड खोप बेलायती विज्ञान इतिहासकै महान उपलब्धि भएको भन्दै चाँडो भन्दा चाँडो धेरै मानिसहरुलाई वितरण गरिने प्रतिबद्धता गरेका छन् ।

सस्तो र सहज

अक्सफोर्डको खोप सामान्य तापक्रमको फ्रिजमा पनि स्टोर गर्न सकिनेछ । फाइजर बायोनटेकको जस्तो माइनस ७० डिग्रीमा राख्न जरुरी नरहेकाले यसको भण्डारण र वितरण सजिलो हुने निश्चित छ ।

बेलायतमै निर्मित खोप भएका कारण यसको आपूर्ति पनि समस्या बन्नेछैन । यसअघि प्रयोगमा ल्याइएको फाइजर बायोनटेक खोप युरोपबाट ल्याउनुपर्ने हुनाले आपूर्ति व्यवस्थापन समेत एक चुनौति थियो ।

फाइजर बायोनटेकको तुलनामा अक्सफोर्डको खोप निकै सस्तो पनि पर्ने भएको छ । अघिल्लो खोपको एक डोजलाई करिब १५ पाउण्ड पर्नेमा अक्सफोर्डको खोपलाई ३ पाउण्डभित्रै पर्ने बताइएको छ ।

बेलायतलाई राहत, नेपालजस्ता मुलुकलाई उपयोगी

पछिल्ला केही दिनमा महामारीयताकै सबैभन्दा उच्च दरको संक्रमण सामना गरिरहेको बेलायतले आफ्नै देशमा निर्मित खोपबाट ठूलो राहत महशुस गरेको छ । बेलायतमा देखिएको तीव्र दरमा फैलिने नयाँ प्रकृतिको भाइरसका हकमा समेत खोप प्रभावकारी हुने अपेक्षा छ ।

बेलायतमा गत महिनादेखि नै वितरण शुरु गरिएको फाइजर बायोनटेक खोपको तुलनामा कम खर्चिलो तथा स्टोर गर्न सहज भएका कारण पनि नयाँ खोप थप प्रभावकारी हुने विश्वास छ ।

वाटर एड यूकेमा कार्यरत जनस्वास्थ्य विज्ञ डा ओमप्रसाद गौतम अक्सफोर्डद्धारा विकसित कोभिड खोप आम प्रयोगको दृष्टिले एक महत्वपूर्ण उपलब्धि भएको बताउँछन् ।

‘यो खोप सस्तोका साथै स्टोर गर्न पनि सहज भएका कारण नेपालजस्ता कम तथा अल्पविकसित देशहरुका लागि समेत निकै उपयोगी हुने देखिन्छ’, डा गौतमले भने, ‘तुलनात्मक रुपमा बढी सुलभ र सहज उपलब्धताले धेरै मुलुकहरुमा कोभिड संक्रमण रोक्न खोपको ठूलो भूमिका रहने आशा गर्न सकिन्छ ।’

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू