मंगलबार, वैशाख १८, २०८१
10:21 | १५:०६

बेलायत फ्रान्सको नाकाबन्दी र कोरोनाको मारमा

२४ घन्टामा थप ६९१ को मृत्यु

नेपाली लिङ्क डिसेम्बर २२, २०२०

लन्डन । सन् २०२० को अन्तिम घडीमा आइपुग्दा यतिबेला बेलायत थुप्रै समस्याले ग्रस्त भएको छ । ब्रेक्जिटको अवधि अब केहि दिनमात्र बाँकी रहंदा अहिलेसम्म कुनै टुंगो लाग्न सकेको छैन । कोरोना भाइरसको नयां स्वरूप देखा परेपछि बेलायत यतिबेला झन्डै पांच दर्जन मुलुकबाट नाकाबन्दीको घेरामा छ ।

बेलायतको मुख्य व्यापारिक डोभर नाका फ्रान्सले ४८ घन्टाको लागि बन्द गरेपछि एक हजार पांच सयभन्दा बढी लरी सडकमै अलपत्र भैरहेका छन् । बेलायतमा दुई साताभित्र खाद्यान्न संकट हुनसक्ने प्रधानमन्त्री बोरिस जोन्सनले यसघि नै बताइसकेका छन् ।

बेलायतमा तीव्र रुपमा फैलिरहेको कोरोना भाइरसले नयां रुप परिवर्तन गरेपछि कोरोना विरुद्धको भ्याक्सिनले जगाएको आशालाई निराशामा परिवर्तन गरिदिएको छ । यद्धपी यसबारेमा वैज्ञानिकहरुले थप अनुसन्धान गरिरहेका छन् ।

यतिबेला रेल यातायात, हवाई तथा सडक यातायात समेत अवरुद्ध हुँदा बेलायतले ठूलो संकट खेपिरहेको छ । कोरोना परीक्षण गरेर नेगेटिभ भएकालाई जान दिनुपर्ने अधिकारीहरुले बताउंदै आएका छन् ।

विभिन्न आन्तरिक समस्या झेलिरहेको बेलायतमा कोरोना संक्रमण दर अत्यधिक रुपले बढेको छ । पछिल्लो २४ घन्टामा ३६ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । यो संख्या अहिलेसम्मको सबैभन्दा बढी हो ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले दिएको जानकारी अनुसार मंगलबार सांझसम्ममा ३६ हजार ८०४ जना नयां कोरोना संक्रमित थपिएका छन् । यससंगै बेलायतमा कोरोना संक्रमितको संख्या २१ लाख दश हजार ३१४ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घन्टामा थप ६९१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससंगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६८ हजार ३०७ पुगेको छ । दैनिक हस्पिटल भर्ना हुने कोरोना संक्रमित संख्या पनि उल्लेख्य वृद्धि भएको स्वास्थ्य विभागले जनाएको छ ।

संक्रमण दर नियन्त्रण भन्दा बाहिर गएको भन्दै सरकारले विशेष गरि लन्डन क्षेत्रमा  ‘टीयर ४’ नाम दिइएको लकडाउन घोषणा गरेको छ, जुन यसअघि गरिएको देशव्यापी लकडाउन जस्तै छ ।

हाल बेलायतमा देखिएको नयां किसिमको भाइरस ‘भियूआइ-२०२०१२०१’ यसअघिको भन्दा ७० प्रतिशतसम्म बढी संक्रामक रहेको जनाइएको छ  ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू