एनआरएन नागरिकता कार्यान्वयनका लागि अभियान नै चलाउन सुझाव


लिस्बन — गैरआवासीय नेपाली संघ (एनआरएनए) पूर्व उपाध्यक्ष सुनील साहले एनआरएन नागरिकताको कार्यान्वयनका लागि अभियान नै चलाउनु पर्ने बताएका छन्।
एनआरएनए राष्ट्रिय समन्वय परिषद् (एनसीसी) पोर्चुगलद्वारा लिस्बनमा शनिबार आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा पूर्व उपाध्यक्ष साहले अहिलेसम्म पनि कार्यान्वयन हुन नसक्नु दुखद भएको बताए।
“हाम्रो माग वंशजको नेपाली नागरिकताको निरन्तरता नै हो, तर संविधानमै लेखिएको कुरा कार्यान्वयन गर्न हामीले जोड दिनु पर्छ,” उनले भने।
झन्डै दुईतिहाइ बहुमत भएको सरकारले सजिलै एनआरएनहरुका माग पुरा गर्न सक्ने भएकाले संसारभरिबाट पहल गर्न उनले आग्रह गरे।
नेपालमा वैदेशिक लगानी भित्र्याउने वातावरण निर्माणलाई प्रमुख प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।
साहले विश्वभर छरिएर रहेका नेपालीहरूका समस्या पहिचान गरी समाधान गर्न संस्था एकढिक्का हुनुपर्ने र स्वार्थभन्दा संस्थागत हितलाई माथि राख्नुपर्ने धारणा पनि व्यक्त गरे ।
संघको आगामी महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारीमा समेत रहेका साहले संस्थाको हितका लागि आफूभन्दा सक्षम र संस्थालाई प्रभावकारी रूपमा अघि बढाउन सक्ने नेतृत्व आएमा त्याग गरेर सहयोग गर्नसमेत तयार रहेको संकेत गरे । उनले एनआरएनए पोर्चुगलमा विद्यमान आन्तरिक समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धतासमेत जनाए ।
एनआरएनए पोर्चुगलका अध्यक्ष बमबहादुर जीसीले आईसीसी र एनसीसीबीच प्रत्यक्ष संवाद तथा समन्वय कायम गरी राष्ट्रिय समन्वय परिषद्मा देखिएका समस्याहरूको समाधान खोज्न आग्रह गरे । आपसी समझदारी र सहकार्यबाट मात्र संस्थागत चुनौती पार लगाउन सकिने उनको भनाइ थियो ।
एनआरएनए पोर्चुगलका प्रवक्ता नवराज घर्तीका अनुसार कार्यक्रममा आईसीसी उपाध्यक्ष तिलक गैरे, उपमहासचिव दीपक ओली, युरोप क्षेत्रीय संयोजक रोबर्ट लिम्बू, युरोप युवा संयोजक शिव सागर बुढाथोकी, युरोप उपक्षेत्रीय संयोजकद्वय राजकुमार थापा र नृपेश गिरी, आईसीसी सदस्यद्वय पासाङ नुर्बु शेर्पा र राजकुमार गुरुङ तथा पोर्चुगलका वरिष्ठ उपाध्यक्ष सुरज बिष्ट र महासचिव गुरु पेमा तामाङलगायतले प्रवासी नेपालीका समस्या र समाधानका उपायबारे धारणा राखेका थिए ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



