आइतबार, २९ नोभेम्बर, २०२६
18:31 | ००:१६

लगानीमैत्री वातावरण बनाउन कानुनी तथा नियामकीय सुधारतर्फ सरकारको प्राथमिकता

रासस नोभेम्बर २९, २०२६

काठमाडौँ, मङ्सिर १३ गते । परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

काठमाडौँ क्षेत्र नं ६ अन्तर्गत टोखा नगरपालिका–१ बौडेश्वर झोरमा आज आयोजित मतदाता भेटका क्रममा उनले केही दिनभित्रै लगानीसँग जोडिएका केही कानुन संशोधन गर्न लागिएको उल्लेख गरे ।

कानुनी व्यवस्था सहज नभएसम्म लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न कठिन हुने खनालको भनाइ थियो । उद्योग व्यवसाय फस्टाउने वातावरण बनेपछि मात्रै रोजगारी सिर्जना र आर्थिक समृद्धिले गति लिने उनले बताए ।

मन्त्री खनालले काठमाडौँ क्षेत्र नं ६ मा विकाससँग जोडिएका विभिन्न योजनामध्ये साङ्ला खोला करिडोर जोड्ने विषयलाई आफूले प्राथमिकता दिएको उल्लेख गरे । काठमाडौँ क्षेत्र नं ६ को विकासका लागि आफू निरन्तर लागिपरेको उनको भनाइ थियो ।

फरक एक प्रसङ्गमा मन्त्री खनालले परराष्ट्रमन्त्री प्रधानमन्त्री वालेन्द्र शाहको चीन भ्रमणको मिति तय भई नसकेको बताए ।

सञ्चारकर्मीको एक जिज्ञासामा मन्त्री खनालले भने, “छिमेकी मुलुक भारतको भ्रमण सकिएपछि उत्तरी छिमेकी चीनको भ्रमण हुन्छ भन्ने आधारमा विभिन्न सञ्चारमाध्यममा समाचार आए पनि अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमण कहिले हुन्छ भन्ने टुङ्गो लागिसकेको छैन ।”

परराष्ट्रमन्त्री खनालले उच्चस्तरीय भ्रमणका लागि परराष्ट्र मन्त्रालयले निरन्तर तयारी गरिरहेको उल्लेख गरे । परराष्ट्र मन्त्रालयले आफ्नो तयारीको काम सधैँ अघि बढाउने उनको भनाइ थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू