बेलायतको अध्यागमनमा हलचलः मारमा नेपाली कामदार र विद्यार्थी


बेलायतमा सबैभन्दा छिटो परिवर्तन हुने कानून अध्यागमन कानून हो। यस परिवर्तनले कानून व्यवसायी र अध्यागमन सम्बन्धी चासो वा सरोकार राख्नेले अध्यागमन नियमको अपडेट राख्नु वाञ्छनीय देखिन्छ।
विश्व धरातलमा एक देशबाट अर्को देशमा जानुमा विविध कारणहरू छन्— अध्ययन, रोजगार र परिवारको भविष्य सुनिश्चित गर्न बसाइँ सराइ गरेको देखिन्छ। यस अर्थमा बसाइँ सराइ गर्दा आएर बसेको देशको कानून र विशेष गरी अध्यागमन नियमको जानकारी हुनु नितान्त आवश्यक देखिन्छ।
पछिल्लो समय बेलायत आउने नेपाली विद्यार्थीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ भने कामदार भीसा (स्किल्ड वर्कर) को संख्यामा कमी आएको छ। सन् २०२५ को वार्षिक तथ्याङ्क अनुसार २०,६१९ नेपाली विद्यार्थीहरूलाई बेलायतले विद्यार्थी भीसा जारी गरेको थियो। सन् २०२४ को तुलनामा यो ६३% का दरले वृद्धि भएको छ। बेलायतमा विद्यार्थी पठाउने शीर्ष देशहरू भारत, चीन, पाकिस्तान र नाइजेरिया पछि नेपाल छ। बेलायतले जुन २०२६ सम्ममा ३,८३,००० विद्यार्थी भीसा जारी गरेको छ।
बेलायतको गृह मन्त्रालयले ग्राजुएट भीसाको देशगत पूर्ण वार्षिक संख्या सार्वजनिक नगरे तापनि हालसम्म बेलायत आएका हजारौं नेपाली विद्यार्थीहरूमध्ये ठूलो हिस्सा २ वर्षे ग्राजुएट भीसामा छन्।
यसबाट विद्यार्थीहरूले आफ्नो ज्ञान, सीपको साथै आर्थिक आर्जन गर्ने लाभ प्राप्त गरेका छन्। उक्त भीसा सकिनु अगावै दक्ष कामदार (स्किल्ड वर्कर) मा आफ्नो भीसा सुरक्षित गर्न सक्नेछन्। जुन २०२६ सम्म हेल्थ एण्ड केयर वर्कर भीसा ३४,१४३ जारी भएको थियो भने नेपाली केयर वर्करको भीसा पाउने संख्या २,२१३ छ। दक्ष कामदारको भीसा १,५७,००० संख्यामा स्वीकृत भएको थियो भने २०४३ नेपाली केयर वर्करले भीसा पाएका थिए । सन् २०२५ सम्म १,६६,००० संख्यामा ग्राजुएट भीसा स्वीकृत भएको थियो।
सन् २०२५ मा संसारभरि छरिएर रहेका नेपालीहरूमध्ये कुल ६,५१६ ले शरणार्थीको माग आवेदन गरेका थिए। बेलायतको गृह मन्त्रालयको सन् २०२५–२६ को मुख्य सारांश प्रतिवेदनमा नेपाल शरणार्थीको रूपमा आवेदन दिने शीर्ष देशहरूको सूचीमा समावेश छैन। नेपाल शीर्ष १०–१५ देशहरूभित्र नपर्ने भएकाले बेलायतमा आवेदन दिने नेपालीहरूको यकिन वार्षिक संख्या खुल्दैन। विश्वव्यापी रूपमा नेपालीहरूको करिब ८५% शरणार्थी आवेदन अस्वीकृत भएका छन् ।
सन् २०२६ जुनको अवधिभरमा बेलायतमा कुल ८५,८९९ जनाले शरणार्थीका लागि आवेदन गरेका थिए। त्यसमध्ये करिब ४६% आवेदन शीर्ष ६ देशहरू— पाकिस्तान, इरिट्रिया, इरान, सुडान, अफगानिस्तान र बंगलादेशका छन्, जसमा नेपाली आवेदकहरूको संख्या निकै सानो देखिन्छ। सन् २०२६ को जुनसम्म बेलायतमा शरणार्थीको निवेदन गर्नेहरूमध्ये करिब ४१% व्यक्तिहरू सुरुमा विद्यार्थी वा कामदार भीसा जस्ता वैधानिक मार्गबाट प्रवेश गरी उनीहरूको भीसामा समस्या आएपश्चात् विकल्पको रूपमा शरणार्थीको निवेदन दिएका हुन्।
सन् २०२५ मा बेलायत जाने नेपाली विद्यार्थीहरूको संख्या उल्लेख्य रूपमा बढ्दै गएकाले गृह मन्त्रालयले विद्यार्थी पठाउने प्रमुख देशहरूबाट यस्ता आवेदनमाथि निगरानी बढाएको छ।

सोलिसिटर राजु थापा
१. बेलायतको अध्यागमन नियम कसरी परिवर्तन गरिन्छ ?
बेलायतको अध्यागमन नियम भन्नाले गृहमन्त्रीले जारी गर्ने प्रशासनिक नीतिगत दस्तावेज हो। यसलाई परिवर्तन गर्ने प्रक्रिया निम्न अनुसार हुन्छ:
क) Statement of Changes: गृहमन्त्रीले नियममा संशोधन चाहेमा “Statement of Changes to the Immigration Rules” नामक आधिकारिक दस्तावेज तयार गरी बेलायती संसदमा पेश गर्छन्। प्रत्येक दस्तावेजलाई एक विशेष ‘HC’ नम्बर दिइन्छ।
ख) ४० दिने संसदीय प्रक्रिया: संसदमा पेश भएको मितिले सामान्यतया ४० दिनभित्र सांसदहरुले सो नियम खारेज गर्ने प्रस्ताव पास नगरेमा ती नियमहरू स्वतः कानूनी रूपमा लागू हुन्छन्।
ग) आकस्मिक अवस्था: राष्ट्रिय सुरक्षा वा आकस्मिक अवस्था परेमा गृहमन्त्रीले संसदमा पेश गरेको २४ घण्टाभित्र पनि नयां नियम लागू गर्न सकिन्छ।
२. वर्तमान अध्यागमन नियममा भएका प्रमुख परिवर्तनहरू
• नयां १० वर्षे ‘अर्न्ड सेटलमेन्ट’ योजना:
सन् २०२६ नोभेम्बरमा बेलायत सरकारले सार्वजनिक गरेको ‘आम्दानी र योगदानका आधारमा स्थायी बसोबास’ (अर्न्ड सेटलमेन्ट) मोडल अनुसार स्थायी बसोबास (आइएलआर) पाउन निम्न शर्तहरू पूरा गरेको हुनुपर्छ:-
• १० वर्षे आधारभूत अवधि: धेरै जसो कामदार र अन्य भीसाका हकमा स्थायी बसोबासको अवधि ५ वर्षबाट १० वर्ष पुऱ्याइएको छ। यसका लागि आवेदकले आवेदन दिनु अघि कम्तीमा ५ वर्ष वार्षिक £१२,५७० भन्दा बढी आम्दानी गरी नियमित कर तिरेको हुनुपर्छ । यसका साथै कुनै पनि आपराधिक रेकर्ड नभएको, करदाताको रकम वा सरकारी कोषमा कुनै पनि प्रकारको ऋण बाँकी नभएको र नेशनल इन्सुरेन्समा निरन्तर योगदान गरेको अभिलेख हुनुपर्ने मापदण्ड राखिएको छ ।
• ३ वर्षमै स्थायी बसोबास: अत्यधिक उच्च आम्दानी (वार्षिक £१,२५,१४१ भन्दा बढी) गर्ने र ग्लोबल ट्यालेन्ट वा इनोभेटर फाउण्डर भीसावाहकले ३ वर्षमा नै निवेदन दिन सक्नेछन्।
• ५ वर्षे सहुलियत: अघिल्लो ५ वर्षमा कम्तीमा ३ वर्ष वार्षिक £५०,२७० भन्दा बढी कमाउने कामदार, डाक्टर, नर्स, शिक्षक जस्ता सार्वजनिक सेवाका कर्मचारी र सन् २०२५ मे महिनाअघि बेलायत आएका तथा कम्तीमा £२५,००० आम्दानी भएका केयर वर्करहरूले ५ वर्षमै स्थायी बसोबास गर्न पाउने छन्।
• यथावत् राखिएका ५ वर्षे नियमहरू: बेलायती नागरिक र स्थायी बसोबासको भीसा पाएका श्रीमान्/श्रीमती र आश्रित बालबालिकाको सवालमा, हङकङ (बीएनओ), र ईयू सेटलमेन्ट स्किमका आवेदकहरूको विषयमा ५ वर्षे नियम यथावत् राखिएको छ।
• अस्थायी भीसाको अवधि गणना नहुने (लंग रेसिडेन्स खारेजी): नयां नियमअनुसार विद्यार्थी वा ग्राजुएट जस्ता अस्थायी भीसामा बिताएको समयलाई १० वर्षे स्थायी बसोबासको अवधिमा गणना गरिने छैन। साथै, अध्यागमन नियम उल्लंघन गर्ने वा सरकारी भत्ता (पब्लिक फण्ड्स) लिनेहरूका लागि स्थायी बसोबासको प्रतीक्षा अवधि २० देखि ३० वर्षसम्म पुऱ्याइएको छ।
३. दक्ष कामदार (स्किल्ड वर्कर) र केयर वर्कर भीसामा कडाइ:
• विदेशबाट केयर वर्क र भर्ती बन्द: जुलाई २०२५ देखि विदेशबाट नयां केयर वर्कर तथा सिनियर केयर वर्कर भर्ती गर्ने प्रक्रिया पूर्ण रूपमा बन्द गरिएको छ। यद्यपि, बेलायतभित्रै रहेका कामदारहरूका लागि सन् २०२८ को जुलाईसम्म भीसा परिवर्तन वा नवीकरण गर्ने संक्रमणकालीन व्यवस्था कायम छ।
• न्यूनतम तलब र सीप स्तर वृद्धि: दक्ष कामदार भीसाका लागि न्यूनतम वार्षिक तलब सीमा £३८,७०० बाट बढाएर £४१,७०० पुऱ्याइएको छ। साथै, कामको सीप स्तर स्नातक तह (RQF Level 6) वा सोभन्दा माथिको अनिवार्य गरिएको छ।
• अंग्रेजी भाषाको मापदण्ड वृद्धि (बी टु लेभल): जनवरी २०२६ देखि दक्ष कामदार लगायतका प्रमुख कामदार भीसाका लागि अंग्रेजी भाषाको योग्यता बी वान स्तरबाट बढाएर बी टु (Upper Intermediate) स्तर अनिवार्य गरिएको छ। सन् २०२७ को मार्चदेखि स्थायी बसोबास (आइएलआर) का लागि समेत बी टु स्तरको अंग्रेजी आवश्यक पर्ने व्यवस्था गरिएको छ।
४. विद्यार्थी र ग्राजुएट भीसासम्बन्धी परिवर्तन:
स्नातक र स्नातकोत्तर तह पूरा गरेका विद्यार्थीहरूका लागि पोस्ट स्टडी वर्क (ग्रयाजुएट भीसा) को अवधि २ वर्षबाट घटाएर १८ महिना कायम गरिएको छ (विद्यावारिधि गर्नेहरूका लागि ३ वर्ष यथावत् छ)।
विद्यार्थी भीसा आवेदनका लागि देखाउनुपर्ने मासिक जीवनयापन खर्च र भीसा शुल्कमा वृद्धि गर्नुका साथै विश्वविद्यालयहरूको ‘कम्प्लायन्स’ माथि कडा निगरानी लागू गरिएको छ।
विद्यार्थी र ग्रयाजुएट भीसाका लागि नयां नियम लागू भएपछि विद्यार्थी भीसा वा ग्रयाजुएट भीसामा पहिले नै बिताइसकेको समय सुरक्षित राख्न वा पीआरमा जोड्नका लागि कुनै पनि संक्रमणकालिन व्यवस्था गरिएको छैन् ।
विभिन्न भीसामा लगातार १० वर्ष बेलायत बसेर सेटलमेन्ट लिने पुरानो लंग रेसिडेन्स नियम बन्द हुने भएकाले विद्यार्थी वा ग्रयाजुएट भीसामा बिताएका वर्षहरु नयां १० वर्षे पिआर (अर्न्ड सेटलमेन्ट) को समयसीमामा गणना हुने छैनन् । पीआरको समय गणना तबमात्र हुनेछ जब तपाईं पीआरका लागि योग्य मानिने भीसा (जस्तै स्किल्ड वर्कर भीसा) मा जानुहुनेछ ।
५. पूर्ण डिजिटल भीसा (इ भिजा) प्रणाली:
बेलायतले कागजी भीसा र बायोमेट्रिक रेसिडेन्स परमिट (बीआरपी) कार्ड पूर्ण रूपमा विस्थापित गरी अनलाइन डिजिटल इ-भिजा प्रणाली लागू गरेको छ।
नयां नीति कहिलेदेखि लागू हुन्छ ? (कार्यान्वयनको समयतालिका)
बेलायत सरकारको गृह मन्त्रालयले २ नोभेम्बर २०२६ मा सार्वजनिक परामर्शको प्रतिवेदनसहित ‘अर्न्ड सेटलमेन्ट’ को अन्तिम खाका संसदमा पेश गरिसकेको भएपनि यो नीति अहिले नै कानूनी रूपमा लागू भइसकेको छैन। सरकारले यसलाई चरणबद्ध रूपमा कार्यान्वयनमा ल्याउने तयारी गरेको छ:
• नियम प्रकाशन (डिसेम्बर २०२६): गृहमन्त्रीले आगामी डिसेम्बर २०२६ देखि नयां अध्यागमन नियमहरू (Statement of Changes) संसदमा पेश गर्न सुरु गर्नेछन्।
• चरणबद्ध कार्यान्वयन (सन् २०२७ भरि): संसदमा पेश भएको ४० दिनको प्रक्रिया पूरा भएपछि सन् २०२७ को सुरुवात (जनवरी २०२७) देखि वर्षभरि विभिन्न चरणमा यी नयां नियमहरू लागू हुँदै जानेछन्।
• अंग्रेजी भाषाको बी टु मापदण्ड (२६ मार्च २०२७): स्थायी बसोबास (आइएलआर) का लागि अनिवार्य गरिएको उच्च स्तरको अंग्रेजी भाषा (बी टु लेभल) को नियम २६ मार्च २०२७ देखि लागू हुने तय भइसकेको छ।
• हालको अवस्था र संक्रमणकालीन व्यवस्था: नयां नियमहरू औपचारिक रूपमा लागू नहुँदासम्म हालकै ५ वर्षे नियम कायम रहनेछ। तसर्थ, यदि कोही व्यक्ति आजको मितिसम्म स्थायी बसोबासका लागि योग्य भइसके का छन् भने उनीहरूले पुरानै नियमअनुसार तुरुन्तै आवेदन दिन सक्नेछन्। तर, नयां नियम लागू भएपछि बेलायतमा पहिलेदेखि नै बसोबास गरिरहेका तर स्थायी बसोबास (आइएलआर) नपाइसकेका व्यक्तिहरूलाई समेत यो १० वर्षे नियम लागू हुने सरकारले स्पष्ट पारेको छ। यद्यपि , १२ मे २०२५ अघि आएका केयर वर्कर तथा निश्चित स्वास्थ्य र शिक्षा क्षेत्रका कर्मचारीहरूका लागि विशेष संक्रमणकालीन सहुलियत दिइनेछ।
आप्रवासी समुदायमा परेका असरहरू
बेलायतको अध्यागमन नीतिमा भएका यी कडा परिवर्तनहरूले यहां आउने तथा बसोबास गर्ने विद्यार्थी, कामदार र तिनका आश्रित परिवारहरूमा प्रत्यक्ष असर पारेको छ। विशेष गरी-
• आर्थिक र मानसिक दबाब: स्थायी बसोबासको अवधि १० वर्ष पुग्नु र न्यूनतम तलब सीमा £४१,७०० तथा £५०,२७० तोकिनुले मध्यम आम्दानी भएका कामदारहरूलाई लामो समयसम्म महँगो भीसा शुल्क र इमिग्रेसन हेल्थ सरचार्ज तिर्नुपर्ने आर्थिक बोझ थपिएको छ।
• विद्यार्थीहरूका लागि चुनौती: ग्राजुएट भीसा १८ महिनामा झर्नु र अस्थायी भीसाको समय १० वर्षे स्थायी बसोबासमा गणना नहुने व्यवस्थाले अध्ययनपछि बेलायतमा स्थायी भविष्य खोज्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई थप चुनौतीपूर्ण बनाएको छ।
• कानूनी सचेतनाको आवश्यकता: बदलिरहने अध्यागमन नियम, बी टु अंग्रेजी भाषाको अनिवार्य शर्त र रोजगारदाता (स्पोन्सर) छनोटमा पारदर्शिता अपनाउन नसके भीसा रद्द हुने जोखिम बढेको छ। तसर्थ, बेलायतमा रहेका वा आउन चाहने सबैले आधिकारिक सूचना र योग्य अध्यागमन कानून व्यवसायीको परामर्श लिएर मात्र प्रक्रिया अगाडि बढाउनु अत्यन्त जरुरी छ।
निष्कर्ष
अन्त्यमा, बेलायतको अध्यागमन कानूनमा भइरहेका निरन्तर र कडा परिवर्तनहरूले यहां बसोबास गर्ने तथा भविष्यमा आउन चाहने विद्यार्थी, कामदार र तिनका परिवारहरूमा गहिरो प्रभाव पारेको छ।
स्थायी बसोबासको अवधि १० वर्ष पुऱ्याइनु, न्यूनतम तलब सीमा तथा अंग्रेजी भाषाको मापदण्ड (बी टु) बढाइनु, र ग्रयाजुएट भीसाको अवधि १८ महिनामा झारिनुले दीर्घकालीन बसाइँसराइको प्रक्रियालाई थप चुनौतीपूर्ण र खर्चिलो बनाएको छ।
यस्तो संवेदनशील अवस्थामा सानातिना प्राविधिक त्रुटि वा अज्ञानताका कारण भीसा रद्द हुने र कानूनी झमेलामा पर्ने जोखिम उच्च रहन्छ। तसर्थ, बेलायतको अध्यागमन यात्रा सुरक्षित र सफल बनाउन आधिकारिक सरकारी सूचनाहरूबारे सधैं अद्यावधिक रहनु, आवश्यक सीप तथा भाषाको तयारी समयमै गर्नु र योग्य अध्यागमन कानून व्यवसायी (सोलिसिटर) को उचित परामर्श लिएर मात्र अगाडि बढ्नु आजको अपरिहार्य आवश्यकता हो।
-सोलिसिटर राजु थापा (थापा लन्डनस्थित एभरेष्ट ल सोलिसिटर्स फर्मका प्रिन्सिपल सोलिसिटर हुन्)
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



