बेलायतमा आप्रवासन र शरणार्थीसम्बन्धी नयाँ तथ्याङ्क सार्वजनिक गरिँदै

लन्डन । बेलायतमा आप्रवासन, भिसा, साना डुङ्गामार्फत आउने आप्रवासी तथा शरणार्थीसम्बन्धी पछिल्लो तथ्याङ्क आज (बिहीबार) सार्वजनिक गरिने भएको छ ।
बेलायतको राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस) र गृह मन्त्रालयले स्थानीय समयअनुसार बिहान ९ः३० बजे उक्त तथ्याङ्क सार्वजनिक गर्ने भएका हुन् ।
पछिल्लो समय बेलायतमा नेट माइग्रेसन निरन्तर घट्दै गएको छ । गत मे महिनामा सार्वजनिक तथ्याङ्कअनुसार सन् २०२५ मा खुद आप्रवासन एक लाख ७१ हजारमा झरेको थियो । कोरोना महामारीको अवधिबाहेक यो सन् २०१२ यताकै न्यून सङ्ख्या हो ।
ओएनएसले आज सन् २०२६ को जुन मसान्तसम्मको एक वर्षको दीर्घकालीन आप्रवासनसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्नेछ । यसमा बेलायत भित्रिने र बेलायत छाड्ने व्यक्तिको सङ्ख्यासहित नेट आप्रवासीको विवरण समेटिनेछ ।
त्यस्तै, गृह मन्त्रालयले सन् २०२६ को सेप्टेम्बर मसान्तसम्मको एक वर्षमा जारी गरिएका भिसा, शरणको लागि आवेदन, शरणार्थीको मान्यता, नागरिकता, आप्रवासन हिरासत, स्वदेश फिर्ती तथा साना डुङ्गामार्फत बेलायत प्रवेश गर्नेहरूको विवरण सार्वजनिक गर्नेछ ।
बेलायत सरकारले आप्रवासन नियन्त्रण तथा शरण प्रणालीमा सुधारका लागि विभिन्न कदम चालिरहेका बेला सार्वजनिक हुन लागेको यस तथ्याङ्कलाई राजनीतिक तथा सामाजिक वृत्तमा विशेष चासोका साथ हेरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



