दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: एनआरएन खेलाडीले पौडीमा जिते ६ स्वर्ण


काठमाडौं । दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ मा गैरआवासीय नेपाली संघ (एनआरएनए) का खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै प्रतियोगितामा प्रभावशाली सुरुवात गरेका छन्। विश्वका १९ देशबाट सहभागी ३९ जना खेलाडीले एनआरएनएको प्रतिनिधित्व गर्दै प्रतियोगिताका ११ विधाका विभिन्न इभेन्टमा प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताअन्तर्गत जारी २३औँ राष्ट्रिय पौडी च्याम्पियनसिपमा एनआरएनएका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै हालसम्म ६ स्वर्ण, १ रजत र २ कास्य गरी कुल ९ पदक हासिल गरेका छन्। बुधबार सम्मको नतिजाअनुसार स्वर्ण पदकको आधारमा एनआरएनए पदक तालिकाको दोस्रो स्थानमा छ ।
पौडी विधामा एनआरएनएका महिला खेलाडीहरूले विशेष उत्कृष्टता हासिल गरेका छन्। १५ वर्षीया लिली बोहराले महिला ८०० मिटर फ्रिस्टाइलमा ९ मिनेट ३४.०६ सेकेन्डको समय निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन्।
लिलीले महिला २०० मिटर फ्रिस्टाइलमा समेत २ मिनेट १४.०३ सेकेन्डको समयसहित स्वर्ण पदक जित्दै आफ्नो उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएकी छन्। सोही स्पर्धामा एनआरएनएकी मिखा काया थापाले २ मिनेट १९.६८ सेकेन्डको समय निकाल्दै कांस्य पदक हासिल गरेकी छन्।
त्यस्तै, १६ वर्षीया मिखा काया थापाले महिला ५० मिटर बटरफ्लाईमा ३०.७८ सेकेन्डको समयसहित स्वर्ण पदक तथा महिला १०० मिटर ब्याकस्ट्रोकमा १ मिनेट १३.६२ सेकेन्डको समय निकाल्दै रजत पदक हासिल गरेकी छन्।

पौडी प्रतियोगिताको पहिलो दिन पनि एनआरएनएका खेलाडीहरूले उल्लेखनीय सफलता हासिल गरेका थिए। मिखा काया थापाले महिला १०० मिटर फ्रिस्टाइल र २०० मिटर ब्याकस्ट्रोकमा स्वर्ण पदक जितेकी थिइन्।
त्यसैगरी, लिली बोहराले महिला ४०० मिटर व्यक्तिगत मेड्लेमा ५ मिनेट १७.०१ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक हासिल गर्नुका साथै सन् २०१६ मा कायम भएको राष्ट्रिय कीर्तिमानसमेत तोडेकी थिइन्। उनले महिला १०० मिटर फ्रिस्टाइलमा कांस्य पदक पनि जितेकी थिइन्।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनएको सहभागिता तथा खेलाडीहरूले हासिल गरेको उपलब्धिले विदेशमा जन्मेहुर्केका दोस्रो पुस्ताका नेपाली युवाहरूको खेल प्रतिभा, क्षमता र सम्भावनालाई राष्ट्रिय स्तरमा उजागर गरेको छ।
एनआरएनए प्रवक्ता सोमनाथ सापकोटाले विश्वका विभिन्न मुलुकमा रहेर नेपाली खेलकुद क्षेत्रमा योगदान पुर्याउन उत्साहित खेलाडीहरूको सहभागिता गैरआवासीय नेपाली समुदाय र नेपालको खेलकुद क्षेत्रबीचको सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण अवसरसमेत रहेको बताए ।
गैरआवासीय नेपाली संघ नेपाली प्रतिभा, क्षमता र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जोड्ने अभियानमा निरन्तर प्रतिबद्ध रहेको संघले जनाएको छ । साथै संघले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एनआरएनएका खेलाडीहरूको हौसला बढाइदिन विश्वभर रहेका गैरआवासीय नेपालीलाई हार्दिक अनुरोध समेत गरेको छ ।

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



