आइतबार, १५ नोभेम्बर, २०२६
17:26 | २३:११

गण्डकी प्रदेशका पूर्वमन्त्री केसीको सम्मानमा पोखरेली मञ्च यूकेको विशेष कार्यक्रम

नेपाली लिङ्क नोभेम्बर १५, २०२६

लन्डन । पोखरेली मञ्च यूकेले गण्डकी प्रदेशका प्रदेशसभा सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीको सम्मानमा एक कार्यक्रम आयोजना गरेको छ ।

गत शनिबार बेलायतको फार्नबोरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा विशेष स्वागत, भेटघाट तथा अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा केसीकी धर्मपत्नीको समेत उपस्थिति थियो।

बेलायतस्थित विभिन्न नेपाली सामाजिक संघसंस्थाका अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी, समाजसेवी तथा पोखरेली समुदायका सदस्यहरूको उल्लेखनीय उपस्थितिमा कार्यक्रम भएको थियो ।

पोखरेली मञ्च यूकेका महासचिव विक्रम भट्टराईले कार्यक्रम सञ्चालन गर्दै प्रदेश सांसद केसीको राजनीतिक तथा सामाजिक परिचय प्रस्तुत गरेका थिए । भट्टराईले सार्वजनिक सेवा, सामाजिक गतिविधि तथा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकासमा पु¥याएको योगदानबारे चर्चा समेत गरे ।

कार्यक्रममा तमुधीं यूके अध्यक्ष जुमकाजी गुरुङले संस्थामार्फत नेपालमा सञ्चालन गरिएका विभिन्न सामाजिक तथा परोपकारी गतिविधिबारे जानकारी दिए । उनले प्रवासमा रहेका नेपालीहरूले आफ्नो जन्मभूमिप्रतिको माया र सामाजिक उत्तरदायित्वलाई निरन्तर व्यवहारमा उतार्दै आएको पनि उल्लेख गरे ।

कार्यक्रममा एनआरएनए यूकेका पूर्वअध्यक्ष, तमुधीं यूकेका पूर्वअध्यक्षहरू, सहारा यूकेका पदाधिकारीहरू तथा विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरूको समेत सहभागिता थियो।

कार्यक्रमका प्रमुख अतिथि सांसद प्रकाशबहादुर केसीले बेलायतस्थित नेपाली समुदायसँग भेटघाट र विचार आदानप्रदान गर्ने अवसर पाएकोमा खुसी व्यक्त गरे । उनले प्रवासी नेपाली समुदायले नेपाली भाषा, संस्कृति, सामाजिक एकता तथा जन्मभूमिप्रतिको सम्बन्धलाई जीवन्त राख्न निर्वाह गर्दै आएको भूमिकाको महत्त्वबारे चर्चा गरे ।

कार्यक्रममा पोखराको समग्र विकास, पर्यटन प्रवद्र्धन, सामाजिक सेवा तथा नेपाल र बेलायतबीचको सामुदायिक सहकार्यका विषयहरूमा समेत विचार आदानप्रदान भएको थियो।

पोखरेली मञ्च यूकेले अन्तर्राष्ट्रिय साझेदारका रूपमा सहकार्य गर्दै आएको पोखरा म्याराथनमा केसीले पु¥याएको सौजन्य सहयोगको समेत कार्यक्रममा स्मरण गरिएको थियो। खेलकुद र पर्यटनका माध्यमबाट पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यस्ता सहकार्यहरू महत्त्वपूर्ण हुने धारणा व्यक्त गरिएको थियो।

पोखरेली मञ्च यूकेका अध्यक्ष गंगा (पवित्र) गुरुङले केसी दम्पत्तिप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रममा सहभागी विभिन्न संघसंस्थाका अध्यक्ष, पूर्वअध्यक्ष, पदाधिकारी, समाजसेवी, शुभेच्छुक तथा मञ्चका सम्पूर्ण सदस्यहरूलाई धन्यवाद दिए ।

अध्यक्ष गुरुङले प्रवासमा रहेका पोखरेलीहरूबीच आपसी एकता, सद्भाव र सहकार्य अभिवृद्धि गर्नुका साथै जन्मभूमि पोखरासँगको सामाजिक, सांस्कृतिक तथा भावनात्मक सम्बन्धलाई थप मजबुत बनाउँदै लैजान पोखरेली मञ्च यूके निरन्तर क्रियाशील रहेको उल्लेख गरे ।

उनले कार्यक्रम सफल बनाउन सहयोग पु¥याउने सबै र गोर्खा प्यालेस रेष्टुरेन्टका सञ्चालक तथा समाजसेवी सूर्य गुरुङप्रति विशेष धन्यवाद व्यक्त गरे ।

पूर्वमन्त्री केसीको कार्यकालका पाँच उल्लेखनीय काम

गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दा केसीले सार्वजनिक सेवा सुधार, सडक पूर्वाधार विकास तथा विकास आयोजनाको प्रभावकारी कार्यान्वयनलाई प्राथमिकता दिएका थिए ।

उनको मन्त्रालयले सार्वजनिक गरेको पहिलो सय दिनको प्रगति विवरणमा उल्लेख भएका पाँच महत्त्वपूर्ण कार्य निम्न छन्।

१. केसीले यातायात सेवा सुधारः कास्की, तनहुँ, बागलुङ र नवलपुरका यातायात कार्यालयहरूमा टोकन प्रणाली तथा हेल्प डेस्कको व्यवस्था गरे ।

२. सवारीचालक अनुमतिपत्र सेवा सहजः प्रयोगात्मक परीक्षाको नतिजा अद्यावधिक गर्ने समय घटाएर ७–१० दिनमा झार्ने व्यवस्था

३. सडक पूर्वाधार विकासः पहिलो सय दिनमा १६.७ किलोमिटर सडक कालोपत्रे वा पक्की निर्माण, १९ किलोमिटर ढलान तथा करिब १२ किलोमिटर सडक स्तरोन्नति भएको प्रगति सार्वजनिक

४. अवरुद्ध सडक पुनः सञ्चालनः पहिरोले अवरुद्ध कास्की र बागलुङका महत्त्वपूर्ण सडकहरू दशैँअघि सञ्चालनमा ल्याउन पहल

५. विकास आयोजनामा सक्रियताः प्रदेशका ११ वटै जिल्लामा योजनाको अनुगमन गराउँदै पहिलो सय दिनमा ३८ आयोजना सम्पन्न भएको प्रगति विवरण सार्वजनिक

मन्त्रालयको प्रगति विवरणमा समेटिएका यी कार्यहरूले उनको कार्यकालमा नागरिकमैत्री सेवा प्रवाह तथा भौतिक पूर्वाधार विकासलाई अघि बढाउन भएका प्रयासहरु उजागर गरेको मञ्चको भनाइ छ ।

उक्त कार्यक्रमले प्रवासमा रहेका नेपालीहरूको जन्मभूमिप्रतिको आत्मीयता, सामाजिक उत्तरदायित्व र सामुदायिक एकताको भावनालाई थप सुदृढ बनाउँदै नेपाल र बेलायतबीचको सामाजिक सम्बन्धलाई प्रगाढ बनाउने सन्देश दिएको मञ्चको दावी छ । यसले प्रवासी नेपाली समुदाय र नेपालका जनप्रतिनिधिबीचको आत्मीय सम्बन्ध तथा सामाजिक सहकार्यलाई थप प्रगाढ बनाएको पनि मञ्चले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू