मंगलबार, १० नोभेम्बर, २०२६
21:35 | ०३:२०

द्वन्द्वमा ज्यान गुमाउने सैनिकहरूको स्मरण गर्दै बर्न्टओकमा ‘रिमेम्बरेन्स सन्डे’

नेपाली लिङ्क नोभेम्बर १०, २०२६

लन्डन – दुई विश्वयुद्ध तथा त्यसपछिका विभिन्न द्वन्द्वमा ज्यान गुमाउने सैनिकहरूको सम्झनामा गत ८ नोभेम्बर आइतबार बर्न्ट ओकस्थित वाटलिङ कम्युनिटी सेन्टरमा वार्षिक स्मृति दिवस (रिमेम्बरेन्स सन्डे) कार्यक्रम आयोजना गरियो।

वाटलिङ कम्युनिटी एसोसिएसनद्वारा आयोजित कार्यक्रममा बर्न्ट ओक र एजवेयरका स्थानीय वासिन्दा, नागरिक प्रतिनिधि, आर्मी क्याडेट, गोर्खा पूर्वसैनिक तथा विभिन्न सामुदायिक संस्थाका प्रतिनिधिहरू सहभागी भए।

कार्यक्रमको सुरुमा आर्क फ्यामिली फर्स्ट फेलोसिपका पास्टर फेमी सोनुगा स्मृति प्रार्थना (एक्ट अफ रिमेम्बरेन्स) गरे । त्यसपछि एजवेयर आर्मी क्याडेट फोर्सका क्याडेटहरूको समूहले ‘द एक्जोर्टेसन’ वाचन गर्‍यो। उपस्थित सबैले एकै स्वरमा “हामी उनीहरूलाई सधैं सम्झिनेछौं” (We will remember them) भन्दै श्रद्धाञ्जली अर्पण गरे।

‘लास्ट पोस्ट’ को धुनसँगै उपस्थित सबैले दुई मिनेट मौनधारण गरे। त्यसपछि ‘रिभेली’ बजाइयो। मौनधारणपश्चात् शिवहरि गुरुङले कोहिमा एपिटाफ वाचन गरे । कार्यक्रममा विभिन्न निकाय तथा संस्थाका तर्फबाट आठवटा पुष्पचक्र अर्पण गरिएका थिए।

आफ्नो समापन मन्तव्यमा एसोसिएसनका अध्यक्ष हसमुख हरियाले विगतका पुस्ताले गरेको सेवा र बलिदानको विरासतलाई शब्दमा मात्र सीमित नराखी आफ्ना कार्य, दयालु व्यवहार र शान्तिप्रतिको प्रतिबद्धतामार्फत निरन्तरता दिनुपर्नेमा जोड दिए ।

डेपुटी लेफ्टिनेन्ट मार्टिन रसेलले विशेषगरी आर्मी क्याडेट फोर्सका पुष्पचक्र वाहकको भूमिकाको प्रशंसा गर्दै उनीहरूले अर्पण भइरहेको श्रद्धाञ्जलीको महत्त्वलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताए । उनले विशेषगरी ब्रिगेड अफ गोर्खाजका सैनिकहरूको योगदान स्मरण गर्दै मलाया, इन्डोनेसिया र बोर्नियोका सैन्य अभियानहरूको चर्चा गरे ।

विश्व फेरि युद्धको असहज रूपमा नजिक पुगेको अनुभूति भइरहेको बताउँदै रसेलले विगत २० वर्षभन्दा बढी समयदेखि आफूले प्राप्त गरेको साथ, सहयोग, निष्ठा र मित्रताका लागि सबैप्रति आभार व्यक्त गरे । उनले बर्न्ट ओक नेपाली समाजले हासिल गरेको सफलता र सामुदायिक योगदानको प्रशंसा गर्दै संस्था तथा यसका सदस्यहरूप्रति आफ्नो उच्च सम्मान रहेको पनि बताए ।

कार्यक्रममा बरो अफ बार्नेटका पूर्व डेपुटी मेयर काउन्सिलर लक्ष गुरुङ, काउन्सिलर कमल गुरुङ, बर्न्ट ओक नेपाली समाजका अध्यक्ष खामिर जंग गुरुङ लगायतले दिवंगत सैनिकहरु प्रति श्रद्धान्जलि व्यक्त गरेका थिए।

वाटलिङ कम्युनिटी एसोसिएसनका सचिव सुधीर गौतमले कार्यक्रममा उपस्थित सम्पूर्ण पाहुना, सहभागी, स्वयंसेवक तथा सहयोगीहरूप्रति धन्यवाद व्यक्त गरे ।

कार्यक्रमपश्चात् पाहुनाहरूले केन्द्रको फोयरमा राखिएको ‘हाम्रा छिमेकीहरूको स्मारक’ अवलोकन पनि गरेका थिए ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू