बिहीबार, ५ नोभेम्बर, २०२६
18:48 | ००:३३

गोर्खा भेट्रान र सांसद मनीष झाबीच लन्डनमा भेटवार्ता, डिसेम्बरसम्म समाधान खोज्न आग्रह

नेपाली लिङ्क नोभेम्बर ५, २०२६

लन्डन । गोर्खा भूतपूर्व सैनिकहरूको माग सम्बोधन गर्ने विषयमा जी–१० समूहका प्रतिनिधिहरूले बिहीबार बिहान लन्डनस्थित नेपाली दूतावासमा सांसद मनीष झासँग भेटवार्ता गरेका छन्।

भेटमा गोर्खा भूतपूर्व सैनिकहरूको समान पेन्सन तथा अन्य सुविधासम्बन्धी माग र त्यसको समाधानका लागि बेलायत सरकारसँग भइरहेको पहलका विषयमा छलफल भएको थियो।

भेटमा सांसद झाले गोर्खाहरूको मागलाई प्राथमिकतामा राखिएको बताउँदै नेपाल सरकारका तर्फबाट सम्भव सबै पहल गर्ने आश्वासन दिएका थिए।

उनले गोर्खाहरूको माग सम्बोधनका लागि आफ्नो पक्षबाट सक्दो प्रयास गर्ने र गोर्खा पक्षले पनि आफ्नो मागका लागि निरन्तर वकालत गर्नुपर्ने बताएका थिए।

सांसद झाले नेपालका लागि बेलायतको सर्वदलीय संसदीय समितिकी अध्यक्ष सांसद एलेक्स बेकरलगायतसँग भएको छलफल तथा भेटघाटमा पनि गोर्खाहरूको एजेन्डाबारे छलफल भएको जानकारी गराएका थिए।

गोर्खा भूतपूर्व सैनिकहरूले अफोर्डेबल तथा व्यावहारिक समाधानका लागि बेलायत सरकारसमक्ष पठाएको ११ बुँदे प्रस्तावमा अहिलेसम्म कुनै प्रतिक्रिया नआएको बताएका थिए।

बेलायत सरकारले यसबारे पुनः जवाफ दिने बताए पनि अहिलेसम्म प्रतिक्रिया नआएको उनीहरूको भनाइ थियो।

केही साताअघि नेपाली दूतावासमै बेलायतका भेट्रान्स मन्त्री क्याल्भिन बेली र गोर्खा प्रतिनिधिहरूबीच रात्रिभोजसहित छलफल भएको थियो। उक्त छलफलमा डिसेम्बरसम्म समाधान खोज्ने विषय उठाइएको थियो। गोर्खा प्रतिनिधिहरूले त्यसपछि आन्दोलन तथा विरोधका कार्यक्रम गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए।

तर, बेलायतीमन्त्रीले अल्टिमेटम दिन वा विरोध प्रदर्शनमा जान आवश्यक नरहेको बताउँदै समस्या समाधानका लागि पहल गर्ने आश्वासन दिएका थिए।

भेटमा कार्यवाहक नेपाली राजदूत विपिन दुवाडी, सैनिक सहचारी ब्रिगेडियर अनुप शाह तथा जी–१० समूहका सदस्यहरूको उपस्थिति थियो।

भेटबारे जानकारी दिँदै गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) का उपाध्यक्ष धर्म तामाङले गोर्खाहरूको माग सम्बोधनका लागि विभिन्न तहमा छलफल र पहल जारी रहेको बताए।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू