शनिबार, ३१ अक्टोबर, २०२६
21:56 | ०३:४१

बाढीपीडितका लागि कार्डिफबाट १० लाख बढी सहयोग प्रदान

नेपाली लिङ्क अक्टोबर ३१, २०२६

कार्डिफ – बेलायतको वेल्सस्थित कार्डिफमा रहेको बेस क्याम्प इन्डियन किचनले नेपालका बाढीपीडित परिवारको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष खातामा पाँच हजार पाउन्ड हस्तान्तरण गरेको छ। यो रकम नेपाली रुपैयाँ करिब रु. १० लाख १३ हजार ६०० बराबर हुन आउंछ ।

नेपाली स्वाद, संस्कृति र आतिथ्यलाई प्रवद्र्धन गर्दै आएको उक्त रेष्टुरेन्टले च्यारिटी कार्यक्रम आयोजना गरी उक्त रकम संकलन गरेको हो ।

‘Stand With Nepal – Himalayan Buffet’ नाम दिइएको उक्त च्यारिटी कार्यक्रमले कार्डिफको स्थानीय समुदायलाई नेपालमा विपद्मा परेका परिवारको सहयोगका लागि एकजुट बनाएको थियो। बेलायती समाजमा स्थापित हुँदै गएको नेपाली व्यवसायले आफ्नो व्यावसायिक सफलतासँगै मातृभूमिप्रतिको सामाजिक उत्तरदायित्व पनि निर्वाह गर्न सक्छ भन्ने उदाहरण यस पहलले प्रस्तुत गरेको छ।

नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवारलाई राहत पुर्‍याउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीय वासिन्दा, शुभेच्छुक, दाताहरू तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उत्साहजनक सहभागिता थियो। टिकट बिक्री, व्यक्तिगत सहयोग, च्यारिटी लिलामी तथा र्‍याफल टिकटमार्फत संकलित रकमले यस अभियानलाई सफल बनाउन महत्त्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ।

कार्यक्रमबाट संकलित सम्पूर्ण £५,००० रकम नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको तोकिएको खातामा हस्तान्तरण गरिसकिएको बेस क्याम्प किचनका संस्थापक राम सापकोटाले जनाए ।

कार्यक्रममा कार्डिफ काउन्सिलका नेता काउन्सिलर क्रिस वीभर, काउन्सिलर जुली सांगानी तथा स्थानीय अवकाशप्राप्त म्याजिस्ट्रेट बब फ्रिले सहभागिता जनाएका थिए। लिलामी सञ्चालनमा बब फ्रिको योगदान उल्लेखनीय रहेको थियो । त्यसैगरी, र्‍याफल टिकट बिक्रीमा सक्रिय भूमिका निर्वाह गर्ने ग्राहमप्रति पनि धन्यवाद व्यक्त गरिएको छ।

“वेल्स मेरो घर हो भन्न पाउँदा मलाई साँच्चिकै गर्व लाग्छ। कार्डिफ र यहाँको समुदायले मलाई धेरै कुरा दिएको छ। वेल्स र नेपाल दुवैतर्फका मानिसहरूलाई अरूको सहयोगका लागि एकजुट गराउन सक्नु मेरो लागि निकै महत्वपूर्ण कुरा हो,” सापकोटाले भने।

बेस क्याम्प किचनले सामाजिक सेवाको क्षेत्रमा यसअघि पनि विभिन्न अभियानमा सहभागिता जनाउँदै आएको छ। सन् २०२५ मा बालबालिकालाई सहयोग गर्ने वेल्सस्थित संस्था Tŷ Hafan का लागि रकम संकलन गर्नुका साथै हालै Marie Curie को सहयोगार्थ पनि पहल गरेको संस्थाले जनाएको छ।

कार्डिफदेखि नेपालसम्म फैलिएको मानवीय सम्बन्ध

प्रवासमा रहेका नेपालीहरूका लागि मातृभूमिमा आइपर्ने प्राकृतिक विपत्ति केवल समाचारको विषय हुँदैन; त्यो परिवार, समुदाय, स्मृति र भावनासँग जोडिएको विषय पनि हो। यस्तो अवस्थामा स्थानीय समुदायको सहयोग जुटाएर राहतका लागि रकम पठाउनु मानवीय एकताको महत्त्वपूर्ण अभ्यास हो।

कार्डिफमा आयोजित ‘Stand With Nepal – Himalayan Buffet’ अभियानको सफलता एउटा निश्चित रकम संकलन गर्नमा मात्र सीमित नभएर यसले नेपाली समुदाय र वेल्सका स्थानीय बासिन्दाबीचको सम्बन्ध, पारस्परिक सद्भाव र साझा मानवीय मूल्यलाई पनि उजागर गरेको छ।

नेपालका बाढीपीडित परिवारको सहयोगका लागि हातेमालो गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै सापकोटाले समुदायलाई असल उद्देश्यका लागि एकजुट गराउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिने बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू