बाढीपहिरो प्रभावित समुदायका लागि लन्डनमा विशेष कला प्रदर्शनी गर्न जुटे आजाद


लन्डन । चर्चित नेपाली कलाकार गोविन्द साह ‘आजाद’ ले नेपालमा अगस्ट अन्तिम साता आएको विनाशकारी हिमाली क्षेत्रको बाढीपहिरोबाट प्रभावित समुदायको सहयोगार्थ लन्डनमा विशेष कला प्रदर्शनी आयोजना गर्ने भएका छन् ।
यही शुक्रबार, १६ अक्टोबरमा लन्डनस्थित सुन्दरम टागोर ग्यालरीमा आयोजना हुने प्रदर्शनीमा कलाकार साहका चित्रहरू प्रदर्शन गरिनेछ । प्रदर्शित चित्रहरूमध्ये केहीको लिलामीबाट प्राप्त रकम हालैको प्राकृतिक विपत्तिबाट प्रभावित नेपाली समुदायको राहत तथा पुनःस्थापना कार्यमा सहयोग गरिनेछ ।
प्रदर्शनी उद्घाटन बेलायतका लागि नेपालका कार्यवाहक राजदूत बिपिन दुवाडीले गर्ने कार्यक्रम छ । बेलुका ६ बजेदेखि सुरु हुने उक्त प्रदर्शनी सबैका लागि खुल्ला रहेको ग्यालरीले जनाएको छ।
गत अगस्टमा नेपालको हिमाली क्षेत्रमा आएको विनाशकारी बाढीले ठूलो जनधनको क्षति गर्नुका साथै थुप्रै परिवार विस्थापित भएका थिए । बाढीबाट स्थानीय समुदाय, पूर्वाधार तथा जनजीवनमा समेत व्यापक असर परेको थियो ।
प्रदर्शनी आयोजना गर्नुको उद्देश्यबारे कलाकार साहले कला सिर्जना र मानवीय सेवाबीचको सम्बन्धलाई जोड दिँदै आफूले विपत्तिमा परेका नेपालीहरूप्रति ऐक्यबद्धता जनाउन चाहेको बताए ।
उनले कला केवल सिर्जनात्मक अभिव्यक्तिको माध्यम मात्र नभई मानवीय पीडा र सामाजिक समस्याप्रति प्रतिक्रिया जनाउने तथा मानिसहरूलाई जोड्ने प्रभावकारी माध्यमसमेत भएको बताए ।
प्रदर्शनीमार्फत बाढी प्रभावितहरूलाई आफूले सकेको सहयोग गर्ने र विपत्तिबाट प्रभावित समुदायको आवश्यकताबारे अन्तरराष्ट्रिय स्तरमा समेत ध्यानाकर्षण गराउने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ ।

राजविराजदेखि अन्तरराष्ट्रिय कला क्षेत्रमा
सन् १९७४ मा नेपालको राजविराजमा जन्मिएका गोविन्द साह ‘आजाद’ नेपालका अन्तरराष्ट्रिय रूपमा परिचित समकालीन चित्रकारमध्ये एक हुन् । उनी हाल बेलायतको केन्टस्थित मार्गेटमा बसोबास गर्दै आफ्नो कला स्टुडियो सञ्चालन गर्छन् । उनका चित्रहरू लन्डनस्थित अक्टोबर ग्यालरीमार्फत पनि समावेश छन् ।
सानै उमेरदेखि चित्र तथा मूर्तिकलामा रुचि राख्ने साहले नेपाल छाडेर भारतमा केही समय बिताएका थिए । सन् १९९१ देखि १९९४ सम्म उनले दिल्लीमा साइनबोर्ड तथा भित्तेचित्र बनाउने काम गरे ।
सन् १९९५ मा नेपाल फर्किएपछि उनी चित्रकार बन्ने आफ्नो सपना पूरा गर्ने उद्देश्यले काठमाडौंस्थित ललितकला क्याम्पसमा भर्ना भए । त्यही समयमा ललितकला क्याम्पसका प्राध्यापक तथा क्याम्पस प्रमुखसमेत रहेका चर्चित कलाकार गोविन्द डंगोलले उनको दृढता र साहसबाट प्रभावित भएर उनलाई ‘Lion Heart’ अर्थात् ‘सिंह हृदय’को उपनाम दिएका थिए ।
कला सिर्जनासँगै साहले शान्ति र सामाजिक चेतना अभिवृद्धिका लागि समेत कलालाई माध्यम बनाउँदै आएका छन् । सन् २००० को मार्चदेखि जुनसम्म उनले ‘२१औँ शताब्दी कला र शान्तिको शताब्दी हो’ भन्ने नारासहित नेपालमा राष्ट्रव्यापी साइकल यात्रा गरेका थिए ।
तीन महिनासम्म चलेको उक्त यात्राका क्रममा उनले विभिन्न स्थानमा कला प्रदर्शनी तथा कार्यशाला आयोजना गर्नुका साथै विद्यालय र समुदायमा शान्ति तथा कलाबारे प्रवचन दिएका थिए ।
पछि बेलायत आएका साहले सन् २००८ मा विम्बलडन कलेज अफ आर्ट्सबाट ललितकलामा स्नातकोत्तर उपाधि हासिल गरे ।
उनका विभिन्न कला प्रदर्शनीलाई नेपालस्थित ब्रिटिस काउन्सिललगायतका संस्थाले सहयोग तथा प्रवर्द्धन गरेका छन् । साहका चित्रहरू विश्वका विभिन्न मुलुकमा रहेका निजी कला सङ्ग्रहमा समेत संग्रहित छन् ।
आफ्नो लामो कलायात्रामा कला केवल ग्यालरी र स्टुडियोमा सीमित नरही समाजसँग जोडिनुपर्ने मान्यता राख्दै आएका साहले यसपटक पनि कलालाई मानवीय सेवासँग जोड्न लागेका हुन् ।
नेपालका बाढी प्रभावितहरूका लागि चित्र बिक्री तथा लिलामीबाट प्राप्त रकम समर्पण गरेर आयोजना गर्न लागिएको यस प्रदर्शनीले विपत्तिमा परेका समुदायलाई सहयोग पुर्याउनुका साथै नेपालको पछिल्लो प्राकृतिक विपत्तिप्रति बेलायतमा जनचेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



