एनडिए यूकेले बाढी पीडितलाई दोश्रो चरणमा दियो एक करोड बढी


लन्डन । बेलायतका नेपाली चिकित्सकहरुको संस्था नेपलिज डक्टर्स एसोसिएसन यूके (एनडिए यूके) ले भोटेकोशी बाढी पीडितका लागि दोश्रो चरणमा एक करोड रुपैयां बढी सहयोग गरेको छ ।
एनडिए यूके अध्यक्ष डा. आरती थापाले सोमबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने गरी १ करोड १२ हजार ९ सय ७७ रुपैयांको चेक हस्तान्तरण गरेकी हुन् ।
हस्तान्तरण कार्यक्रममा संस्थाका सदस्यहरू डा. लोक कठायत र डा. अमिता थापा पनि उपस्थित थिए ।
अध्यक्ष थापाले नेपालको विपत्तिमा साथ दिने सम्पूर्ण दाताहरू, चन्दा संकलनकर्ता, कार्यक्रम आयोजक, कार्यसमिति लगायत सबैमा धन्यवाद ज्ञापन गरेकी छन् । उनले नेपालमा रकम हस्तान्तरणको व्यवस्था मिलाउने संस्थाका कोषाध्यक्ष डा. रवि पन्तलाई समेत धन्यवाद दिइन् ।
डा. थापाले विशेष गरी वेलिङमा च्यारिटी डिनर आयोजना गर्ने स्वास्थ्य चिया वीथ कैलाश मोमोकी संस्थापक डा. नुमा थेबे, ब्रिटिश एसोसिएसन अफ इन्डियन एनेस्थेटिस्ट तथा २ हजारपाउण्ड बढी सहयोग गर्ने सुश्री जे. मोरिसलाई पनि विशेष धन्यवाद दिइन् ।
प्रतिकात्मक चेक हस्तान्तरणपछि एनडिए यूके अध्यक्ष डा. थापाले अर्थमन्त्री वाग्लेलाई संस्थाको स्मारिका प्रदान गर्दै एनडिए यूकेको ४१ वर्ष लामो इतिहासबारे जानकारी गराएकी थिइन् । सन् १९८५ मा स्थापना भएको उक्त संस्था सन् २०१६ मा भने च्यारिटीका रूपमा दर्ता भएको थियो ।
संस्थाले यसअघि पहिलो चरणमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ११ लाख रुपैयाँ प्रदान गरेको थियो ।
आफूहरु निकट भविष्यमै तेस्रो चरणको सहयोग गर्ने लक्ष्यसहित जुटिरहेको पनि अध्यक्ष थापाले जनाइन् । संस्थाले जस्ट गिभिङमा अझै सहयोग गर्न सकिने जनाउंदै सबैमा सहयोगका लागि अपिल गरेको छ ।

एनडिए यूके अध्यक्ष डा. थापा अर्थमन्त्री वाग्लेलाई संस्थाको स्मारिका प्रदान गर्दै

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५



