मंगलबार, २९ सेप्टेम्बर, २०२६
09:55 | १४:४०

एनआरएनए केन्याद्वारा प्रधानमन्त्री राहत कोषमा ६ हजार ३३ डलर सहयोग

नेपाली लिङ्क सेप्टेम्बर २९, २०२६

नैरोबी, केन्या । गैरआवासीय नेपाली संघ (एनआरएनए) केन्याले नेपालका बाढीपीडितहरूका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा अमेरिकी डलर ६,०३३ (करिब ९ लाख २३ हजार नेपाली रुपैयाँ) सहयोग रकम बैंकमार्फत पठाएको छ।

संघका अध्यक्ष भरत रेग्मीका अनुसार संघका सदस्यहरू, केन्यास्थित नेपालीहरू र नेपालका शुभचिन्तकहरूसँगको सहकार्य र प्रतिबद्धता अनुरूप उक्त रकम संकलन गरिएको हो। संघले बैंकमार्फत ट्रान्सफर गरी सो सहयोग रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा पठाइसकेको छ।

यसअघि अफ्रिका क्षेत्रका अन्य एनआरएनए शाखाहरूले पनि बाढीपीडितहरूको सहयोगका लागि विभिन्न राहत रकम हस्तान्तरण गरेका थिए। जसमा एनआरएनए नाइजेरियाले ७७ लाख र एनआरएनए घानाले ३ लाख रुपैयाँको चेक अर्थमन्त्रीमार्फत प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका थिए।

त्यसैगरी, एनआरएनए डीआरसी कंगोले १३ लाख, तान्जानियाले २ लाख ५० हजार, साउथ अफ्रिकाले १ लाख ५० हजार र बोत्स्वानाले ५० हजार रुपैयाँ सहयोग बैंकमार्फत पठाइसकेका छन्।

साथै, एनआरएनए युगान्डाले ३५ लाख रुपैयाँभन्दा बढीको लागतमा टेन्ट, ग्यास चुल्हो तथा सिलिन्डरलगायतका राहत सामग्री प्रभावित गाउँमै पुगी स्थानीय निकायको सहयोगमा बाढीपीडितहरूलाई हस्तान्तरण गरेको थियो।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू