मंगलबार, २२ सेप्टेम्बर, २०२६
21:25 | ०२:१०

न्युयोर्कमा विभिन्न देशका समकक्षीहरुसंग ‘साइडलाइन’ भेटवार्तामा व्यस्त परराष्ट्रमन्त्री

रासस सेप्टेम्बर २२, २०२६

काठमाडौँ, असोज ६ गते । परराष्ट्रमन्त्री शिशिर खनालको माल्दिभ्सका विदेशमन्त्री इरुथिस आदम र स्लोभाक गणतन्त्रका विदेश तथा युरोपेली मामिलामन्त्री जुराज ब्लानरबिच मंगलबार बेग्लाबेग्लै द्विपक्षीय भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाका क्रममा न्युयोर्कमा भएको भेटवार्तामा मन्त्री खनालले नेपालमा हालै आएको बाढीपछि माल्दिभ्स सरकार र जनताले व्यक्त गरेको समवेदना, ऐक्यबद्धता तथा प्रदान गरेको मानवीय सहयोगप्रति आभार व्यक्त गरे ।

भेटका क्रममा दुई परराष्ट्रमन्त्रीले नेपाल–माल्दिभ्स द्विपक्षीय सम्बन्ध, क्षेत्रीय तथा बहुपक्षीय विषयमा विचार आदानप्रदान गरेको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

उनीहरूले उच्चस्तरीय भ्रमणको आदानप्रदान तथा पर्यटन, रोजगारी र शिक्षालगायत क्षेत्रमा सहकार्य विस्तार गर्दै दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे छलफल गरेका थिए । त्यसैगरी, उनीहरुबिच जलवायु परिवर्तन, विकासका लागि वित्तीय स्रोत परिचालन, दिगो विकासलगायत आपसी हित र चासोका विषयमा नेपाल र माल्दिभ्सबीच सहकार्यलाई थप बनाउने विषयमा छलफल भएको थियो ।

संयुक्त राष्ट्रसङ्घ, दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लगायतका बहुपक्षीय मञ्चमा पनि साझा हितका विषयमा सहकार्य र समन्वयलाई निरन्तरता दिन उनीहरु सहमत भएका छन् ।

भेटवार्तामा राष्ट्रसङ्घका लागि नेपालका स्थायी नियोग प्रमुख लोकबहादुर थापासहित भ्रमण दलका सदस्य सहभागी थिए ।

उता, परराष्ट्रमन्त्री खनाल र स्लोभाक गणतन्त्रका विदेश तथा युरोपेली मामिलामन्त्री ब्लानरबिच समेत द्विपक्षीय भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा न्युयोर्कमा भएको ‘साइडलाइन’ भेटवार्तामा उनीहरुबिच नेपाल र स्लोभाक गणतन्त्रबिचको द्विपक्षीय सम्बन्ध तथा आपसी हितका विविध विषयमा छलफल भएको हो ।

भेटका क्रममा दुई देशबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने विषयमा विचार आदानप्रदान भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

परराष्ट्रमन्त्री खनालले महासभाको अवसरमा विभिन्न मुलुकका समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्दै नेपालका प्राथमिकता, द्विपक्षीय सम्बन्ध तथा समसामयिक क्षेत्रीय र अन्तरराष्ट्रिय विषयमा छलफल गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू