नेपालका बाढीपीडितलाई स्ट्रेलिङ आयल नाइजेरियाको ७६ लाख रुपैयाँ सहयोग

लन्डन । नाइजेरियास्थित प्रमुख तेल तथा ऊर्जा कम्पनी स्ट्रेलिङ आयलले नेपालका बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ५० हजार अमेरिकी डलर अर्थात् करिब ७६ लाख नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ। उक्त रकम नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा गरिने भएको छ।
अफ्रिकाका १२ भन्दा बढी देशमा खनिज तेल, खनिज तथा धातु क्षेत्रमा कार्यरत कम्पनीले आफ्नो कल्याणकारी संस्था ‘भि–केयर फर डेभलपमेन्ट फाउन्डेसन’मार्फत उक्त सहयोग उपलब्ध गराउन लागेको हो।
कम्पनीले संस्थागत रूपमा घोषणा गरेको सहयोगसँगै त्यहाँ कार्यरत कर्मचारीहरूबाट स्वेच्छिक रूपमा थप रकम संकलन गर्ने तयारीसमेत गरेको छ। कर्मचारीबाट संकलित रकम पनि कम्पनीको सहयोगमा थप गरी यसै साताभित्र प्रधानमन्त्री राहत कोषमा पठाइने जनाइएको छ। यसका लागि कम्पनीले आफ्ना कर्मचारीलाई व्यक्तिगत रूपमा समेत सहयोग गर्न आन्तरिक आह्वान गरेको छ।
“स्ट्रेलिङ्ग आयलले नेपालका बाढीपीडितको राहत तथा पुनर्स्थापनाका लागि ५० हजार अमेरिकी डलर अर्थात् करिब ७६ लाख नेपाली रुपैयाँ सहयोग गर्ने घोषणा”
नेपालका बाढीपीडितका लागि उक्त सहयोग जुटाउन कम्पनीमा कार्यरत नेपाली अधिकारी दिलिप आचार्यले विशेष पहल गरेका छन्। उनको सक्रिय पहल र समन्वयपछि कम्पनी व्यवस्थापनले नेपालका विपद् प्रभावितका लागि सहयोग गर्ने निर्णय गरेको जनाइएको छ।
सहयोगका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत मोहित बरोर, व्यवस्थापन समूह तथा सम्पूर्ण कर्मचारीप्रति आभार व्यक्त गरिएको छ। विपद्को समयमा नेपाल र नेपालीप्रति देखाइएको सद्भाव र मानवीय सहयोग महत्त्वपूर्ण रहेको बताइएको छ।
नाइजेरियाको लागोसमा मुख्यालय रहेको स्ट्रेलिङ आयल एक्सप्लोरेसन एन्ड इनर्जी प्रोडक्सन कम्पनी लिमिटेड सन् २००५ मा स्थापना भएको निजी क्षेत्रको तेल तथा ग्यास अन्वेषण एवं उत्पादन कम्पनी हो। कम्पनीले नाइजेरियाको अपस्ट्रिम तेल तथा ग्यास क्षेत्रमा अन्वेषण, विकास तथा कच्चा तेल उत्पादन गर्दै आएको छ।
यसैबीच गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वकोषाध्यक्ष हिक्मत थापाले स्ट्रेलिङ आयल परिवारप्रति आभार व्यक्त गरेका छन्। मातृभूमि विपद्को सामना गरिरहेका बेला कम्पनीले देखाएको उदारता र ऐक्यबद्धताप्रति धन्यवाद दिँदै उनले सहयोगका लागि पहल गर्ने दिलिप आचार्यको भूमिकाको समेत प्रशंसा गरेका छन्।
कम्पनीले घोषणा गरेको ५० हजार अमेरिकी डलरसँगै कर्मचारीबाट संकलन हुने अतिरिक्त रकमसमेत थपिने भएकाले नेपाल पठाइने कुल सहयोग रकम अझ बढ्ने अपेक्षा गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


