ब्रिक्स समूह सदस्यहरूले मध्यपूर्वमा शान्तिका लागि गरे आह्वान


नयाँ दिल्ली । चीन, रुस, इरान र भारतसहित ११ राष्ट्रसम्मिलित ब्रिक्स समूहका सदस्यहरूले शनिबार नयाँ दिल्लीमा भएको शिखर सम्मेलनमा जारी संयुक्त विज्ञप्तिमा मध्य पूर्वमा शान्तिका लागि आह्वान गरेका छन् ।
“हामी मध्य पूर्व/पश्चिम एशियामा तनावको निरन्तर वृद्धिप्रति गहिरो चिन्ता व्यक्त गर्दछौँ र हाम्रा सम्बन्धित राष्ट्रिय अडानहरू स्मरण गर्दै, अधिकतम संयम अपनाउन तथा परिस्थितिलाई थप बिगार्ने कार्यहरूबाट बच्न आह्वान गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।
मे महिनामा नयाँ दिल्लीमा भेट हुँदा ब्रिक्सका विदेश मन्त्रीहरू संयुक्त वक्तव्यमा सहमत हुन असफल भएका थिए । सदस्य राष्ट्र इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स फेब्रुअरी २८ मा सुरु भएको अमेरिका–इजरायलको हमलाबाट सुरु भएको युद्धबारे विभाजित थिए तर शनिबार नेताहरूको बैठकमा आयोजक भारतको तीव्र कूटनीतिक प्रयासपछि संयुक्त विज्ञप्ति जारी गरिएको छ ।
विज्ञप्तिमा नागरिक पूर्वाधार र आणविक सुविधाहरूमाथिको आक्रमणको पनि निन्दा गरिएको छ।
“हामी अन्तर्राष्ट्रिय कानुन र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी ९आईएईए० का सम्बन्धित प्रस्तावहरूको उल्लङ्घन गर्दै, आईएईएको पूर्ण सुरक्षाअन्तर्गतका नागरिक पूर्वाधार र शान्तिपूर्ण आणविक सुविधाहरूमाथि जानाजानी गरिएका आक्रमणहरूप्रति गम्भीर चिन्ता व्यक्त गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ ।
ब्रिक्सको विज्ञप्तिमा अगाडि भनिएको छ, “मानिस र वातावरणलाई हानिबाट जोगाउन आणविक सुरक्षा, सतर्कता र सुरक्षालाई सशस्त्र द्वन्द्व समेतका अवस्थामा सधैँ कायम राखिनुपर्छ ।”
विश्वका ठूला उदयमान अर्थतन्त्रहरूले ब्रिक्सलाई पश्चिमी शक्तिहरूद्वारा प्रभुत्व जमाएका संस्थाहरूमा बढी प्रभाव खोज्ने मञ्चका रूपमा सन् २००९ मा स्थापना गरेका थियो ।
चीनका राष्ट्रपति सी जिनपिङले शनिबार दुई दिने शिखर सम्मेलनको उद्घाटनमा भनेका छन्, “मध्य पूर्वको युद्ध ‘अन्तर्राष्ट्रिय समुदायको साझा हितमा छैन।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन, इरानी राष्ट्रपति मासौद पेजेस्कियान सबै शिखर सम्मेलनमा सहभागी छन् ।
“हामी ध्रुवीकरण र अविश्वासको हालको विश्वव्यापी सन्दर्भलाई नोट गर्दछौँ र अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षालाई सुदृढ गर्न विश्वव्यापी कार्यलाई प्रोत्साहन गर्दछौँ”–संयुक्त वक्तव्यमा लेखिएको छ, “हामी लागू अन्तर्राष्ट्रिय कानुनअनुसार विश्वव्यापी व्यापार, आपूर्ति शृङ्खला र ऊर्जाको सहज प्रवाह कायम राख्न मिलेर काम गर्न आवश्यक छ भन्ने कुरामा जोड दिन्छौँ ।”
संयुक्त अरब इमिरेट्सका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यान पनि नयाँ दिल्लीको शिखर सम्मेलनमा सहभागी छन् भने इजिप्टका राष्ट्रपति अब्देल फत्तह अल–सिसी, साउदी विदेशमन्त्री प्रिन्स फैसल बिन फरहान शनिबार पछि सामेल हुने अपेक्षा गरिएको छ ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


