आर्यनसँग ‘कन्ये केटो’ मा स्क्रिन सेयर गर्दै लन्डनवासी नायिका शर्मिला


लन्डन । बेलायतलाई कर्मथलो बनाएर नेपाली कला, संस्कृति, नारीका कथा अनि भोगाइलाई अभिनयमार्फत विश्वसामु पुर्याउने लक्ष्यसहित अघि बढिरहेकी छिन् अभिनेत्री शर्मिला राई । धराने यी प्रतिभा अब नयाँ नेपाली चलचित्र ‘कन्ये केटो’मा मुख्य भूमिकामा देखिँदैछिन्।
‘लडाइँ पहिचानको’बाट अभिनय यात्रा सुरु गरेकी उनी अब अभिनेता आर्यन सिग्देल र अभिनेत्री रेखा लिम्बूसँग ‘कन्ये केटो’मा स्क्रिन सेयर गर्दैछिन्।
सक्सेस फिल्मस् प्रालिको प्रस्तुतिमा निर्माण हुन लागेको चलचित्र भीम लामाले लेखन तथा निर्देशन गर्दैछन्। विशुद्ध प्रेमकथामा आधारित भनिएको चलचित्रको छायाङ्कन असोज पहिलो सातादेखि सुरु गर्ने तयारी छ।
नेपाल धरान स्थायी घर भएकी राई विगत ६ वर्षदेखि लन्डन साउथ ह्यारोमा बस्दै आएकी छन्।
नयाँ चलचित्र, आफ्नो भूमिका, बेलायतबाट नेपाली कला क्षेत्रमा गरिरहेको यात्रा तथा भावी योजनाबारे अभिनेत्री शर्मिला राईसँग गरिएको संक्षिप्त कुराकानी:
‘कन्ये केटो’मा अनुबन्धित हुँदा कस्तो महसुस भइरहेको छ? यो चलचित्र रोज्नुको मुख्य कारण के हो?
चलचित्र ‘कन्ये केटो’मा अनुबन्धित हुन पाउँदा अत्यन्त खुसी छु। नेपाली कला संस्कृतिलाई विश्वसामु चिनाउने, विशेषगरी नेपाली नारीका कथा र पहिचानलाई अगाडि ल्याउने मेरो चाहना हो। मेरो यही उद्देश्यसँग चलचित्रको विषयवस्तु पनि जोडिएको महशुस भएकाले यसमा काम गर्ने निर्णय गरेकी हुँ।
चलचित्रमा तपाईंको भूमिका कस्तो छ?
सबै कुरा अहिले नै खुलाउँदा चलचित्रको रोचकता कम हुन सक्छ, त्यसैले विस्तृत जानकारीका लागि चलचित्र नै कुर्नुपर्छ। यति चाहिँ भन्न सक्छु, म विदेशमा बस्ने एक लाहुरेकी छोरीको भूमिकामा देखिँदैछु। मेरो पात्रमार्फत नेपाली समाजसँग जोडिएको एउटा फरक कथा प्रस्तुत हुनेछ।
‘लडाइँ पहिचानको’पछि ‘कन्ये केटो’लाई आफ्नो अभिनय यात्रामा कसरी लिनुभएको छ?
मैले यसलाई चुनौती र अवसर दुवैका रूपमा लिएकी छु। अग्रज र अनुभवी कलाकारहरूसँग काम गर्दा आफूलाई अझ खार्ने र धेरै कुरा सिक्ने अवसर प्राप्त हुन्छ। यो चलचित्रले मेरो अभिनय यात्रालाई थप अगाडि बढाउन सहयोग गर्ने विश्वास छ।
आर्यन सिग्देल र रेखा लिम्बूसँग एउटै चलचित्रमा काम गर्दै हुनुहुन्छ। कत्तिको उत्साहित हुनुहुन्छ?
उहाँहरूजस्ता स्थापित र अनुभवी कलाकारसँग स्क्रिन सेयर गर्न पाउनुलाई मैले ठूलो अवसर र सौभाग्यका रूपमा लिएकी छु। उहाँहरूसँग काम गर्दा अभिनयका धेरै पक्ष सिक्न पाइन्छ। त्यसैले म निकै उत्साहित छु।
निर्देशक भीम लामाले तपाईंलाई किन यो चलचित्रका लागि रोज्नुभयो जस्तो लाग्छ?
सायद उहाँले ‘लडाइँ पहिचानको’मा मेरो अभिनय हेर्नुभएको थियो र मेरो काम मन परेकाले यो भूमिकाका लागि उपयुक्त ठान्नुभयो होला। उहाँलाई मैले ‘कन्ये केटो’मा दिइएको पात्रलाई न्याय गर्न सक्छु भन्ने विश्वास लागेको हुन सक्छ। अब उहाँले गर्नुभएको विश्वासलाई आफ्नो अभिनयबाट प्रमाणित गर्ने प्रयास गर्नेछु।
‘कन्ये केटो’ विशुद्ध प्रेमकथामा आधारित भनिएको छ। अरू प्रेमकथाभन्दा दर्शकले यसमा के फरक पाउनेछन्?
‘कन्ये केटो’ भन्ने नामले नै हाम्रो नेपाली समाजसँग यसको सम्बन्धलाई केही हदसम्म स्पष्ट गर्छ। नेपाली समाजमा देखिने र भोगिने विभिन्न गतिविधि, सम्बन्ध र परिस्थितिलाई कथाले समेट्नेछ। त्यसैले परम्परागत प्रेमकथाभन्दा दर्शकले केही फरक शैली र अनुभूति पाउनुहुनेछ भन्ने लाग्छ।
भूमिकाका लागि कस्तो तयारी गरिरहनुभएको छ?
त्यस्तो छुट्टै ठूलो तयारी त छैन् । तर आफ्नो पात्रलाई कसरी स्वाभाविक र वास्तविक रूपमा प्रस्तुत गर्ने भन्ने विषयमा आन्तरिक तयारी गरिरहेकी छु। नेपाली भाषाको मौलिकता र पात्रको चरित्रलाई राम्रोसँग समातेर दर्शकले वास्तविक जीवनकै पात्र हेरिरहेको अनुभूति गर्न सकून् भन्ने मेरो प्रयास रहनेछ।
रेखा लिम्बू र तपाईं दुवै मुख्य भूमिकामा हुनुहुन्छ। दुई महिला पात्रबीचको सम्बन्ध कस्तो छ?
हामी दुई पात्रबीचको सम्बन्ध नितान्त फरक छ। नेपाली समाजमा देखिने र भोगिने कथा–व्यथालाई वास्तविक रूपमा प्रस्तुत गर्ने भूमिकामा हामी रहनेछौँ। यसभन्दा धेरै अहिले नै खुलाउन चाहन्नँ। दर्शकले चलचित्रमै हेर्दा यसको सम्बन्ध र कथा अझ रोचक लाग्नेछ।
बेलायतमा बसेर अभिनय यात्रा अगाडि बढाउनु कत्तिको चुनौतीपूर्ण छ?
बेलायत मेरो कर्मथलो हो तर नेपाली कला, संस्कृति र आफ्नो पहिचानसँगको सम्बन्ध उत्तिकै बलियो छ। विदेशमा रहेर नेपाली कला क्षेत्रमा निरन्तरता दिन पक्कै पनि सहज हुँदैन। तर चुनौतीलाई म आफूलाई निखार्ने माध्यमका रूपमा लिन्छु। चुनौतीबाट नै सिक्ने र आफूलाई अझ परिपक्व बनाउने अवसर मिल्छ।
विशेषगरी नेपाली नारीका विषयलाई अगाडि ल्याउने कुरा गर्नुभयो। भविष्यमा कस्तो पात्रका रुपमा खेल्न चाहनुहुन्छ?
नेपाली समाजमा महिलाको इच्छाशक्ति, संघर्ष, अनुभव र उनीहरूले भोगेका विषयलाई कलाको माध्यमबाट विश्वसामु पुर्याउने मेरो चाहना छ। महिलालाई केवल सामान्य पात्रका रूपमा होइन, कथा बोकेको सशक्त पात्रका रूपमा प्रस्तुत गर्ने भूमिकाहरू गर्न चाहन्छु। नेपाली चलचित्र क्षेत्रमा आफूलाई एक सक्षम अभिनेत्रीका रूपमा स्थापित गर्ने लक्ष्य छ।
नेपाली चलचित्र क्षेत्रमा नयाँ कलाकारका रूपमा सबैभन्दा ठूलो चुनौती के देख्नुभएको छ?
मेरो विचारमा चुनौती आफैँमा नकारात्मक कुरा होइन। चुनौती भनेको आफूलाई निखार्ने माध्यम पनि हो। आफूलाई दिइएको भूमिकालाई परिपक्व ढंगले प्रस्तुत गर्न खोज्दा धेरै कुरा सिकिन्छ र आवश्यक मार्गदर्शन पनि प्राप्त हुन्छ। त्यसैले मैले चुनौतीलाई सहज र सकारात्मक रूपमा लिएकी छु।
अन्त्यमा, दर्शक तथा शुभेच्छुकलाई के भन्न चाहनुहुन्छ?
‘कन्ये केटो’ अहिले छायाङ्कनको तयारीमा छ। चलचित्र निर्माण भएर दर्शकमाझ आएपछि सबैले हेरेर प्रतिक्रिया दिनुहोला। विदेशमा बसेर पनि नेपाली कला, संस्कृति र चलचित्र क्षेत्रमा मैले गर्न खोजेको योगदानलाई साथ, सहयोग र माया गरिदिनुहोला। दर्शक र शुभेच्छुकको माया नै कलाकारको सबैभन्दा ठूलो शक्ति हो। तपाईंहरूको मायाले नै मेरो आगामी गन्तव्य निर्धारण गर्नेछ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


