एनआरएनएको राहत अभियान १५ औँ दिनमा, मैलुङका बाढीपीडित ५० परिवारलाई राहत तथा औषधि


काठमाडौं । भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटमा प्रभावित नागरिकको उद्धार तथा राहतका लागि गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सञ्चालन गरिरहेको अभियान अन्तर्गतका गतिविधिहरु आज १५ औँ दिनमा पनि निरन्तर जारी रह्यो ।
विपद्पछि प्रभावित नागरिकलाई तत्काल आवश्यक राहत उपलब्ध गराउने, स्वास्थ्य तथा सरसफाइका समस्या सम्बोधन गर्ने, जोखिममा रहेका परिवारको अवस्था पहिचान गर्ने उद्देश्यले एनआरएनएले विभिन्न सरकारी निकाय, स्थानीय तह, रेडक्रस तथा स्थानीय व्यक्तिहरुसँग निरन्तर समन्वय गर्दै आएको छ।
एनआरएनएले रसुवाको मैलुङमा बाढी प्रभावित परिवारहरूलाई राहत सामग्री तथा अत्यावश्यकीय औषधि वितरण गरिएको छ । संघले उपलब्ध गराएको सहयोग अनुसार ५० परिवारका लागि खाद्यजन्य सामग्री विघ्नहर्ता नेपालमार्फत मैलुङ पुरयाएर वितरण गरिएको हो ।
खाद्यान्नका साथै प्रभावित क्षेत्रका बासिन्दा तथा बिरामीहरूको स्वास्थ्य उपचारलाई ध्यानमा राख्दै विभिन्न ८० प्रकारका अत्यावश्यकीय औषधिहरूसमेत सोही संस्थामार्फत रसुवा र त्रिशुली अस्पतालमा पुरयाइएको छ । उक्त राहत वितरणका लागि स्थानीय निकाय तथा नेपाली सेनासँग समन्वय गरिएको थियो ।
२ करोड ६० लाख रुपैयाँ बढी संकलन
भोटेकोशी बाढी प्रभावितका लागि पूर्वप्रतिवद्धता अनुसारको सहयोग रकम प्राप्त हुने क्रम जारी छ । पदाधिकारीहरु, विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) तथा विदेशमा रहेका नेपालीहरुको व्यक्तिगत तर्फबाट हालसम्म आठ करोड उनन्चास लाख बत्तीस हजार चार सय दुई रुपैयाँ सहयोगको प्रतिबद्धता प्राप्त भएकोमा २ करोड ६० लाख रुपैयाँभन्दा बढी रकम संकलन भइसकेको छ। बाँकी प्रतिबद्धता रकम संकलन तथा जम्मा गर्ने प्रक्रिया जारी छ।
पहिलो चरणमा साउदी अरेबिया, बहराइन र म्यानमार एनसीसीले फन्डरेजिङ अभियान सम्पन्न गरेका छन्। बहराइनबाट २५ लाख ७९ हजार ३२८ रुपैयाँ, साउदी अरेबियाबाट १० लाख रुपैयाँ,र म्यानमारबाट ६ लाख १ हजार रुपैयाँ प्राप्त भएको छ। बाँकी एनसीसीहरूबाट प्रतिबद्धता गरिएको रकम संकलन तथा जम्मा गर्ने प्रक्रिया जारी छ। संघका कोषाध्यक्ष तथा सम्बन्धित प्रतिनिधिहरूमार्फत निरन्तर समन्वय र पत्राचार भइरहेकोले बाँकी प्रतिबद्धता रकम पनि क्रमशः कोषमा जम्मा हुने क्रममा छ ।

भोर्लेमा पहिरोका कारण राहत टोलीको यात्रा स्थगित, भोलि प्रभावित क्षेत्रमा जाने
रसुवा जिल्लाको भोर्ले क्षेत्रमा पहिरो गएर सडक आवागमन प्रभावित भएपछि एनआरएनएको राहत सामग्रीसहित प्रभावित क्षेत्रमा जाने कार्यक्रम आजका लागि स्थगित गरियो । पहिरोले सडकको अवस्था तथा आवागमनमा देखिएको कठिनाइका कारण आज जान सम्भव नभएपछि राहत टोलीको यात्रा भोलिका लागि सारिएको हो ।
सोही सन्दर्भमा आज सचिवालयमा पदाधिकारीहरुको छलफल समेत भयो र छलफल अनुसार एनआरएनएका पदाधिकारी तथा स्वयंसेवक सम्मिलित टोली भोलि राहत सामग्रीसहित रसुवाका बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रस्थान गर्नेछ। टोलीले गोसाइँकुण्ड गाउँपालिकाअन्तर्गतका स्याफ्रुबेसी, कालिका लगायतका विभिन्न वडा तथा प्रभावित बस्तीका प्रभावित परिवारलाई आवश्यक राहत सामग्री उपलब्ध गराउनुका साथै स्थानीय तह तथा जनप्रतिनिधिसँगको समन्वयमा प्रभावित क्षेत्रको अवस्था र तत्कालको आवश्यकताबारे स्थलगत जानकारी लिनेछ।
यसअघि एनआरएनएले रसुवाका विभिन्न प्रभावित क्षेत्रका स्थानीय जनप्रतिनिधि तथा सरोकारवालासँग समन्वय गरी प्रभावित परिवारको संख्या, क्षतिको अवस्था तथा तत्काल आवश्यक राहत सामग्री र स्वास्थ्य सेवासम्बन्धी आवश्यकताको विवरण संकलन गरिसकेको छ । प्राप्त विवरणका आधारमा राहत सामग्रीको व्यवस्थापन तथा प्याकेजिङको कार्य अघि बढाइएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


