मंगलबार, ८ सेप्टेम्बर, २०२६
01:04 | ०५:४९

बेलायतमा ‘ग्रीष्मकालीन मुक्तक सन्ध्या’

कुमार केसी सेप्टेम्बर ७, २०२६

लन्डन । नेपाल मुक्तक प्रतिष्ठान यूके शाखाले आयोजना गरेको ‘ग्रीष्मकालीन मुक्तक सन्ध्या’मा बेलायतमा रहेका मुक्तककारहरूले समसामयिक, प्रेमिल तथा सामाजिक विषयमा केन्द्रित रचना प्रस्तुत गरेका छन्।

जुन २७ मा जुममार्फत आयोजित कार्यक्रममा करिब दुई दर्जन साहित्यकार तथा साहित्यप्रेमी सहभागी थिए।

नेपाल मुक्तक प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामकाजी कोनेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न मुक्तककारले तीन–तीनवटा रचना वाचन गरे।

नेपाल मुक्तक प्रतिष्ठान यूके अध्यक्ष दुर्गाप्रसाद पोखरेलको अध्यक्षतामा भएको कार्यक्रम सचिव गङ्गा भण्डारीले सञ्चालन गरेका थिए। प्रतिष्ठानकी उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रतिमा केसी ‘प्रवासी’ ले स्वागत मन्तव्य राखेकी थिइन्।

कार्यक्रममा रामकाजी कोने, कुमार केसी, नृपेश उप्रेती, बिनोद अधिकारी, प्रतिमा केसी ‘प्रवासी’, जीत बुढाथोकी छन्त्याल, अहिल्या कुँवर, मोहन आचार्य ‘जलद’, डा. रुपक श्रेष्ठ, राज श्रेष्ठ, सुमलकुमार गुरुङ, संजीता देउजा, गङ्गा भण्डारी, रबिन्द्रलाल जोशी र माया गुरुङले मुक्तक वाचन गरेका थिए।

प्रमुख अतिथि कोनेले प्रस्तुत रचनामाथि टिप्पणी गर्दै मुक्तकहरू स्तरीय र रचना विधानअनुरूप रहेको बताए। उनले मुक्तक विधाको विकास र विस्तारमा प्रतिष्ठानको बेलायत शाखाले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गरे।

प्रतिष्ठानका सल्लाहकार डा. रुपक श्रेष्ठले नियमित साहित्यिक कार्यक्रमले मुक्तक लेखन, वाचन र नयाँ सर्जकलाई प्रोत्साहन गर्ने बताए। कार्यक्रममा गजलकार बिदेहमणि उपाध्याय, मुक्तककार संजीता देउजा तथा प्रतिष्ठानका सल्लाहकार डा. रुपक श्रेष्ठ, सुमलकुमार गुरुङ र बिनोद अधिकारीको समेत सहभागिता थियो।

सो अवसरमा हालै प्रकाशित मुक्तक कृति ‘पोख्तक’ र ‘चौसुल’ का लागि डा. रुपक श्रेष्ठ तथा उपन्यास ‘कर्मबीर’ का लागि सुमलकुमार गुरुङलाई बधाई तथा शुभकामना दिइएको थियो।

त्यस्तै, अनेसास यूकेका अध्यक्ष तथा नेपाल मुक्तक प्रतिष्ठान यूकेका कोषाध्यक्ष राज श्रेष्ठ अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको केन्द्रीय उपाध्यक्षमा सर्वसम्मत निर्वाचित भएकोमा सहभागीहरूले बधाई दिएका थिए।

कार्यक्रम समापन गर्दै अध्यक्ष पोखरेलले बेलायतमा नेपाली मुक्तक साहित्यको प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने प्रतिवद्धता व्यक्त गरे।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू