प्रवासी नेपाली मञ्च यूरोपको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न, ८ बुँदे घोषणा–पत्र सार्वजनिक

लन्डन। प्रवासी नेपाली मञ्च यूरोप महादेश समितिको प्रथम ऐतिहासिक अधिवेशन स्पेनको बार्सिलोनामा सम्पन्न भएको छ।
नेकपा (एमाले)का केन्द्रीय सचिव कमरेड भानुभक्त ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त अधिवेशनमा केन्द्रीय सदस्य एवं यूरोप–ओसियाना इन्चार्ज कमरेड संजय थापा, केन्द्रीय सदस्य एवं पूर्व प्रमुख सचेतक कमरेड महेश बर्तौला, केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव कमरेड आरसी लामीछानेलगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
अधिवेशनले प्रवासी नेपालीहरूको हित, नागरिकताको निरन्तरता, सुरक्षित श्रम गन्तव्य, जलवायु क्षतिपूर्तिलगायत विषयमा जोडदार माग गर्नुका साथै नयाँ कार्यसमिति समेत सर्वसम्मतिले निर्वाचित गरेको छ। बाढीपीडितको राहत, उद्धार तथा पुनर्स्थापनाका विषयमा समेत अधिवेशनले सरकारको ध्यानाकर्षण गराएको छ।
यूरोपभरका विभिन्न देशका प्रतिनिधिहरूको सहभागिता रहेको उक्त अधिवेशनले प्रवासी संगठनको सुदृढीकरण र पार्टी कार्यसम्पादनमा एकता र एकरूपता कायम गर्नसमेत आह्वान गरेको छ।
अधिवेशनबाट जारी घोषणा–पत्र यसप्रकार छ :–
१. मञ्चको प्रथम यूरोप अधिवेशनमा प्रमुख अतिथिका रूपमा आयोजकको निमन्त्रणालाई स्वीकार्दै व्यस्त कार्यसूचीलाई थाती राखी प्रवासी नेपालीहरूको मनोबल उच्च पार्न नेपालबाटै सहभागी हुनुहुने केन्द्रीय सचिव एवं संगठन विभाग प्रमुख कमरेड भानुभक्त ढकाल, विशिष्ट अतिथिहरू केन्द्रीय सदस्य एवं यूरोप–ओसियाना इन्चार्ज तथा निवर्तमान अध्यक्ष कमरेड संजय थापा, केन्द्रीय सदस्य एवं पूर्व प्रमुख सचेतक कमरेड महेश बर्तौला, केन्द्रीय सदस्य तथा संगठन विभाग सचिव कमरेड आरसी लामीछाने, मञ्च केन्द्रीय समितिका उप–सचिव प्रभूराम थापा, केन्द्रीय सदस्यहरू, अमेरिका महादेशका नवनिर्वाचित अध्यक्ष कमरेड यमुना भट्टराई, सल्लाहकार परिषद्का सदस्य कमरेडहरू, यूरोपका विभिन्न राष्ट्रका अध्यक्षहरू तथा प्रतिनिधि कमरेडहरूप्रति यो अधिवेशन हार्दिक आभार व्यक्त गर्दछ।
२. अधिवेशनले निवर्तमान संयोजक कमरेड मुक्तबहादुर गुरुङको राजनीतिक तथा सचिव शालिक थपलियाद्वारा प्रस्तुत सांगठनिक एवं आर्थिक प्रतिवेदनमा छलफलपश्चात् सर्वसम्मतिले पारित गर्दछ।
३. हालै नेपालको रसुवा–नुवाकोट–धादिङ क्षेत्रमा भोटेकोशीबाट आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनुहुने सम्पूर्ण व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ। सुरुङमा फस्नुहुनेहरूको उद्धारमा खट्नुहुने सुरक्षाकर्मीहरूप्रति कृतज्ञता ज्ञापन गर्दछ साथै उद्धार कार्यमा सरकारले तत्काल प्रभावकारी कदम नचाल्दा र प्रारम्भिक दिनमा गैरजिम्मेवारपूर्ण तवरले प्रस्तुत हुँदा सुरुङ उद्धारमा ठूलो ढिलाई हुनुका साथै स्वविज्ञताका कारण बेपत्ताहरूको जीवनरक्षाको विषयसमेत चुनौतीपूर्ण बन्न पुगेकोप्रति यो अधिवेशन गहिरो दुःख व्यक्त गर्दछ। विस्थापित जनताको तत्काल पुनर्स्थापनाका लागि तथा प्रभावित क्षेत्रमा तत्काल सञ्चालनमा ल्याउनुपर्ने पूर्वाधारहरूको वैकल्पिक व्यवस्थाका लागि समेत यो अधिवेशन जोडदार माग गर्दछ।
४. प्रवासी नेपालीहरूको साझा मुद्दा ‘नेपाली नागरिकताको निरन्तरता’ सम्बन्धी विषयमा पार्टी सरकारमा हुँदा पनि पर्याप्त ध्यान नपुगेको ठहर गर्दै आगामी दिनमा पार्टी सरकारमा होस् वा बाहिर, यस्ता प्रवासी हितका मुद्दामा स्पष्ट धारणासहित सम्बोधन गर्न यो अधिवेशन जोडदार माग गर्दछ।
५. हालै पार्टीभित्र देखिएका अनावश्यक सार्वजनिक छलफल तथा नेताहरूको आपसमा गर्ने सार्वजनिक टिकाटिप्पणीप्रति यो अधिवेशनको गम्भीर ध्यानाकर्षण भएको छ। पार्टी विषम परिस्थितिमा रहेका बेला यस्ता प्रकारका क्रियाकलापले न त प्रवासमा रहेका कार्यकर्ताहरूको मनोबल बढाउँछ न त नेपालभित्रकै संगठनलाई नै सहयोग पुर्याउँछ। तसर्थ तत्काल यस्ता प्रवृत्ति बन्द गरी सूक्ष्म समीक्षासहित नेतृत्ववर्गले विवेकपूर्ण र वैधानिक समाधानको पहल गर्न यो अधिवेशन आह्वान गर्दछ।
६. यूरोप हाल नेपालीहरूका लागि नयाँ श्रम गन्तव्यका रूपमा उदय भइरहेको सन्दर्भमा सुरक्षित आप्रवासन सुनिश्चित गर्न सम्बन्धित निकाय तथा नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल ठोस पहलकदमी चाल्न माग गर्दछ।
७. जलवायु परिवर्तनका कारण देखापरेका विपद्का सन्दर्भमा कार्बन उत्सर्जनमा अग्रणी रहेका विकसित राष्ट्रहरूसँग नेपालले क्षतिपूर्ति र पूर्वाधार निर्माणमा उल्लेख्य सहयोग मात्र नभई दीर्घकालीन क्षतिपूर्तिका लागि समेत संयुक्त राष्ट्रसंघलगायत विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा पैरवी गर्न नेपाल सरकारसमक्ष यो अधिवेशन माग गर्दछ।
८. अन्त्यमा, कमरेड शालिक थपलिया (बेल्जियम)को अध्यक्षतामा कमरेड बिनोद न्यौपाने (बेल्जियम), सचिव कमरेड राघवेन्द्र प्रताप कार्की (रविन) (डेनमार्क), उप–सचिव कमरेड बाबा राजेश्वरी थापा (अस्ट्रिया) तथा सदस्यहरूमा कमरेड गोविन्द साकोटा (यूके), कमरेड सुनिल रानाभाट (स्पेन), कमरेड ईश्वर देवकोटा (पोल्याण्ड), कमरेड केदार थपलिया (यूके), कमरेड केशवराज पाण्डे (नेदरल्याण्ड) र कमरेड तुलसीनाथ सुबेदी (बेल्जियम) रहने गरी नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित भएको छ। यस ऐतिहासिक अधिवेशनलाई भव्य रूपमा सफल पार्न योगदान पुर्याउने आयोजक तथा आतिथेय राष्ट्रीय समिति स्पेनलाई हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछ।
मितिः ६ सेप्टेम्बर २०२६
स्थानः बार्सिलोना, स्पेन
जारीकर्ताः अध्यक्ष मण्डल, प्रवासी नेपाली मञ्च यूरोप

सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


