शनिबार, ५ सेप्टेम्बर, २०२६
11:27 | १६:१२

बेलायतबाट छोङ शेर्पाको इरो सुसीले पठायो बाढीपीडित राहतमा २५ लाख

नेपाली लिङ्क सेप्टेम्बर ५, २०२६

लन्डन- बेलायतमा युवा नेपाली उद्यमी छोङ शेर्पा संस्थापक रहेको सुसी फ्रेन्चाइज ‘इरो सुसी’ ले नेपालका बाढीपीडितको राहतका लागि २५ लाख रुपैया सहयोग प्रदान गरेको छ।

इरो सुसीको राहत सहयोग शनिबार नेपाल सरकारको प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा जम्मा गरिएको कम्पनीले जनाएको छ।

इरो सुसीका सबै फ्रेन्चाइज स्टोरसमेतको योगदानमा कम्पनीका तर्फबाट थप गरेर यो सहयोग उपलब्ध गराइएको हो ।

तत्कालको राहतका लागि आर्थिक सहयोग पठाएको कम्पनीले भविष्यमा पुनर्स्थापनाको चरणमा समेत सहभागी हुने र थप सहयोग गर्ने योजना बनाएको छ।

‘हाम्रो देश ठूलो संकटमा छ, धेरैजना नेपाली समस्यामा पर्नुभएको छ । यस्तो बेलामा आ-आफ्नो ठाउँबाट सहयोग गर्नु हाम्रो कर्तव्य नै हो’, कम्पनीका संस्थापक छोङ शेर्पाले नेपालीलिंकसंग भने, ‘हाम्रो सहयोग चांडै वास्तविक पीडितहरुसम्म पुग्नेछ भन्ने आशा र विश्वास लिएका छौं।’

विपदपछि अहिलेको राहत मात्र नभइ दीर्घकालिन समाधानका लागि समेत सोच्न जरुरी रहेको धारणा संस्थापक शेर्पाको छ । ‘दुर्घटनापछि राहत संकलनमात्रै गर्नुभन्दा बरु सहयोग जुटाएरै भएपनि रोकथामको पहल गर्न सके क्षति कम हुने थियो’, उनको सुझाव छ।

शेर्पाले सन् २०१४ मा बेलायतमा स्थापना गरेको इरो सुसी अहिले तीन दर्जन बढी स्टोरसम्म पुगिसकेको छ।

इंग्ल्यान्डबाहिर पहिलोपटक आगामी महिना स्कटल्यान्डको ग्लास्गोमा कम्पनीको फ्रेन्चाइज स्टोर खुल्दैछ। सन् २०३० सम्ममा बेलायतमा एक सय स्टोर सञ्चालनमा ल्याउने लक्ष्य इरो सुसीको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू