बिहीबार, ३ सेप्टेम्बर, २०२६
20:54 | ०१:३९

नेपाललाई जलवायु न्याय दिलाउन विश्वव्यापी हस्ताक्षर अभियान सुरु

नेपाली लिङ्क सेप्टेम्बर ३, २०२६
लन्डन–नेपालका लागि जलवायु न्यायको माग गर्दै बेलायतबाट एक विश्वव्यापी हस्ताक्षर अभियान (पिटिसन) सुरु गरिएको छ। संयुक्त राष्ट्रसंघ तथा अन्तर्राष्ट्रिय समुदायलाई सम्बोधन गरिएको उक्त अभियानले जलवायु परिवर्तनका कारण गम्भीर असर भोगिरहेको नेपाललाई तत्काल न्याय, सहयोग र क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ।
विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान अत्यन्त न्यून भए पनि नेपाल जलवायु संकटबाट सबैभन्दा बढी प्रभावित मुलुकहरूमध्ये एक हो। हरेक वर्ष बाढी, पहिरो, हिमताल विस्फोट, खडेरी तथा अन्य जलवायुजन्य विपद्का कारण नेपालीहरूले ज्यान गुमाइरहेका छन्, घरबार गुमाइरहेका छन् र जीविकोपार्जन संकटमा परिरहेको छ।
अभियानकर्ताहरूका अनुसार यो केवल वातावरणीय मुद्दा मात्र नभई मानव अधिकार र विश्वव्यापी न्यायको प्रश्न पनि हो।
“नेपालले जलवायु संकट निम्त्याएको होइन। तर यसको सबैभन्दा ठूलो पीडा नेपाली जनताले भोगिरहेका छन्। निर्दोष मानिसहरूले आफ्नो जीवन गुमाइरहेका छन्। अब विश्व समुदाय मौन बस्न मिल्दैन। नेपाललाई जलवायु न्याय चाहिन्छ”- पिटिसनको भाव छ।
पिटिसनमार्फत संयुक्त राष्ट्रसंघ, विकसित राष्ट्रहरू तथा अन्तर्राष्ट्रिय समुदायसँग निम्न मागहरू गरिएको छ:
-नेपालको जलवायु आपत्काललाई औपचारिक रूपमा स्वीकार गरियोस्।
-जलवायु अनुकूलन तथा पुनर्निर्माणका लागि पर्याप्त आर्थिक सहयोग उपलब्ध गराइयोस्।
-जलवायुजन्य क्षति तथा नोक्सानी (Loss and Damage) का लागि क्षतिपूर्तिको व्यवस्था गरियोस्।
-जलवायु विपद्बाट प्रभावित समुदायहरूको संरक्षण र पुनर्स्थापनामा सहयोग गरियोस्।
-नेपाल र नेपाली जनतालाई जलवायु न्याय सुनिश्चित गरियोस्।
विश्वका विभिन्न देशका नागरिकहरूले यस अभियानलाई समर्थन गरिरहेका छन्। अभियानले जलवायु परिवर्तनको सबैभन्दा ठूलो मूल्य तिरिरहेका नेपालीहरूको आवाज विश्वसामु पुर्‍याउने विश्वास लिएको छ।
यो पिटिसन Change.org मा सुरु गरिएको हो। अभियानकर्ताहरूका अनुसार १ लाख हस्ताक्षर पुगेमा संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय समुदाय, सञ्चारमाध्यम तथा विश्वका नीति निर्माताहरूको ध्यान नेपालमाथि भइरहेको जलवायु अन्यायतर्फ आकर्षित हुनेछ।
“यदि १ लाख हस्ताक्षर संकलन गर्न सफल भयौं भने जलवायु संकटको मारमा परेका लाखौं नेपालीहरूको आवाज विश्वले सुन्न बाध्य हुनेछ। संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय सञ्चारमाध्यम र विश्वका सरोकारवालाहरू नेपालका लागि जलवायु न्यायको मागलाई बेवास्ता गर्न सक्ने छैनन्,” लन्डनस्थित अभियान आयोजक समूहले जनाएको छ।
अभियानकर्ताहरूले विश्वभरका नागरिकहरूलाई पिटिसनमा हस्ताक्षर गर्न र अभियानलाई व्यापक रूपमा सेयर गर्न आग्रह गरेका छन्।
कसरी गर्ने हस्ताक्षर ?
1. यो लिंक खोल्नुहोस् वा माथि स्क्यान गरेर पत्रमा जानुहोस्)
2.  दायाँपट्टि Sign this petition मा क्लिक गर्नुहोस्
•  First name → नाम
•  Last name → थर
•  Email → इमेल
•  ठेगाना हाल्नुहोस्
3.  पहेँलो Sign the petition बटन थिच्नुहोस्
4.  सेयर गर्न मन नलागे “Sorry, I can’t do anything right now” मा थिच्नुहोस्
5.  तपाईंको इमेलमा भेरिफिकेसन लिंक आउँछ → इमेल खोलेर त्यो लिंक थिच्नुहोस्
प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू