बिहीबार, ३ सेप्टेम्बर, २०२६
17:00 | २१:४५

बाढीपहिरो पीडितका लागि ओजी इटालियन रेष्टुरेन्ट लेष्टरद्वारा सहयोग

नेपाली लिङ्क सेप्टेम्बर ३, २०२६

लन्डन । बेलायतको लेष्टर शहरमा अवस्थित ओजी इटालियन रेष्टुरेन्टले भोटेकोशी बाढी पीडितका लागि पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयां सहयोग गरेको छ ।

ओजी लिमिटेड अन्तर्गतका तीनवटै शाखा (ओजी सिम्पली इटालियन, बिस्ट्रो ओजी, र ओजी किबवर्थ) को म्यानेजमेन्ट टिम, कर्मचारीहरू र निर्देशक दयानिधि सापकोटाबाट उक्त रकम विपद्‌ व्यवस्थापन र पीडितहरूको तत्काल उद्धार तथा राहत कार्यका लागि प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको हो । त्यसमा निर्देशक दयानिधि सापकोटाले दुई लाख ५५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरेका थिए।

‘विगतमा पनि नेपालमा पर्ने हरेक दैवी प्रकोप तथा कठिन परिस्थितिहरूमा हातेमालो गर्दै आएको ओजी लिमिटेडले देशप्रतिको यो सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिएको छ। यस अभियानमा ऐक्यबद्धता जनाई योगदान पुर्‍याउनुहुने म्यानेजमेन्ट टिमका सदस्यहरू तथा सम्पूर्ण कर्मचारी साथीहरुप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ’, निर्देशक सापकोटाले भने ।

नेपालमा गएको विनाशकारी बाढी र पहिरोले पुर्‍याएको अपूरणीय जनधनको क्षति र सिर्जित विकराल परिस्थितिप्रति ओजी रेष्टुरेन्ट परिवारले गहिरो दुःख समेत व्यक्त गरेको छ ।

‘देश रोइरहेको र हाम्रा दाजुभाई दिदीबहिनीहरू अत्यन्तै कठिन अवस्थाबाट गुजारिरहनु भएको यस कठिन घडीमा उहाँहरूको पीडामा मलमपट्टी लगाउन हामी पूर्ण ऐक्यबद्धता प्रकट गर्दछौँ’, समाजसेवी सापकोटाले भने ।

बिहुँकोट हेल्प नेटवर्क यूके संस्थापक अध्यक्ष समेत रहेका समाजसेवी तथा व्यवसायी सापकोटाले भूकम्पका बेला समेत आर्थिक सहयोग गरेका थिए ।

बेलायतको मिडल्याण्ड क्षेत्रमा विगत २० वर्ष देखि सामाजिक काम गर्दै आएका सापकोटा विभिन्न सामाजिक संस्था तथा एनआरएन अभियन्ता हुन्।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू