मंगलबार, १ सेप्टेम्बर, २०२६
14:24 | १९:०९

भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार १० पुग्यो, अझै करिब ४ हजार बेपत्ता

नेपाली लिङ्क सेप्टेम्बर १, २०२६

काठमाडौं । नेपालमा आएको विनाशकारी भोटेकोशी बाढीमा परी मृत्यु हुनेको संख्या १ हजार १० पुगेको छ भने अझै करिब ४ हजार मानिस बेपत्ता रहेका छन्। नेपाल सरकारले बाढी आएको सातौँ दिनसम्म ११ हजार ८ सयभन्दा बढीको उद्धार गरिएको जनाएको छ।

परराष्ट्र मन्त्रालयले मंगलबार सार्वजनिक गरेको भोटेकोशी बाढीसम्बन्धी चौथो प्रेस ब्रिफिङमा खोज उद्धार तथा राहत कार्य जारी रहेको जानकारी दिँदै हालसम्म प्राप्त विवरणअनुसार १ हजार १० जनाको शव फेला परेको जनाएको हो भने उद्धार गरिएकामध्ये करिब ३२४ जना विदेशी नागरिक रहेका छन् तथ्यांक खोज तथा प्रमाणीकरणसँगै निरन्तर अद्यावधिक भइरहेको मन्त्रालयले जनाएको छ।

बाढीपछि विभिन्न ३९ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता रहेको सरकारी विवरण छ। बेपत्ता विदेशी नागरिक तथा उनीहरूका परिवारसँग समन्वय गर्न परराष्ट्र मन्त्रालयको आपतकालीन नियन्त्रण कक्षले सम्बन्धित निकाय विदेशस्थित नेपाली नियोग तथा सम्बन्धित देशहरूसँग निरन्तर सम्पर्क गरिरहेको छ। सरकारले प्रभावित क्षेत्रमा खोज उद्धार स्थानान्तरण र राहतका लागि नेपाली सेना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका २१ हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ भने सरकारका विभिन्न निकाय स्वास्थ्य तथा आपतकालीन टोलीसमेत प्रभावित क्षेत्रमा सक्रिय छन्।

ठूलो संख्यामा मानिस अझै बेपत्ता रहेकाले विशेष खोज तथा उद्धार कार्यमा अन्तर्राष्ट्रिय टोलीसमेत परिचालन गरिएको छ। भारतबाट आएका २४ सदस्यीय दुईवटा विशेष सुरुङ उद्धार टोली तथा चीनको नौ सदस्यीय टोली प्रभावित जलविद्युत् आयोजना क्षेत्रमा खटिएका छन्।

भारतीय टोली नेपाली सेनासँग मिलेर चिलिमे र लाङटाङ जलविद्युत् आयोजना क्षेत्रमा काम गरिरहेको छ भने चिनियाँ टोली माथिल्लो त्रिशूली तीन ए आयोजना क्षेत्रमा परिचालित छ। दक्षिण कोरियाबाट पनि एउटा टोली नेपाल पुगेको मन्त्रालयले जनाएको छ। मृतकहरूको पहिचानका लागि अन्तर्राष्ट्रिय फरेन्सिक सहयोगसमेत बढाइएको छ।

डीएनए विश्लेषणमा विशेषज्ञता रहेको भारतको १९ सदस्यीय फरेन्सिक टोली २९ अगस्टदेखि नेपाली निकायसँग मिलेर काम गरिरहेको छ भने चीनबाट चार सदस्यीय अर्को फरेन्सिक टोली मंगलबार साँझ नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ। सिंगापुरबाट पीडित पहिचान टोली परिचालन गर्ने विषयमा समेत समन्वय भइरहेको छ।

नेपालले अन्तर्राष्ट्रिय साझेदारसँग लिडार प्रविधि बेली ब्रिज शव सुरक्षित राख्ने फ्रिजर डीएनए परीक्षण किट उच्च क्षमताका ड्रोन जीन सिक्वेन्सर तथा अन्य विशेष उपकरण उपलब्ध गराउन अनुरोध गरेको छ। भारत चीन जापान अमेरिका संयुक्त अरब इमिरेट्स दक्षिण कोरियालगायत मुलुक तथा अन्तर्राष्ट्रिय साझेदारबाट उद्धार तथा राहतका लागि सहयोग प्राप्त भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

बाढीबाट घर सडक पुल जलविद्युत् आयोजना तथा अन्य महत्वपूर्ण पूर्वाधारमा भएको क्षतिको विस्तृत मूल्यांकन अझै जारी छ। सरकारले विपद्पछिको आवश्यकता मूल्यांकनमार्फत समग्र क्षति आर्थिक नोक्सानी तथा पुनर्निर्माण आवश्यकताको विस्तृत विवरण तयार गर्ने जनाएको छ। विनाशको परिमाण ठूलो रहेकाले पुनःस्थापना र पुनर्निर्माणका लागि नेपाललाई उल्लेख्य अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने सरकारको प्रारम्भिक आकलन छ।

प्रधानमन्त्रीले समग्र उद्धार तथा राहत कार्यको निरन्तर अनुगमन गरिरहेको मन्त्रालयले जनाएको छ। मंगलबार जापानका प्रधानमन्त्रीले नेपाली प्रधानमन्त्रीसँग टेलिफोन वार्ता गरेका छन्। परराष्ट्रमन्त्रीले पनि जापान कतार सिंगापुर र मलेसियाका समकक्षीसँग संवाद गरिसकेका छन् भने क्यानडाका समकक्षीसँग समेत कुराकानी गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

यसैबीच फेला परेका शवको पहिचानमा कठिनाइ बढेपछि सरकारले स्थापित फरेन्सिक मापदण्डअनुसार व्यवस्थापन गरिरहेको जनाएको छ। तत्काल पहिचान गर्न वा सुरक्षित राख्न नसकिने शवको डीएनए नमुना संकलनलगायत आवश्यक प्रक्रिया पूरा गरेर अस्थायी रूपमा अन्त्येष्टि गरिएको छ भने पछि पहिचान स्थापित भएपछि परिवारलाई अन्तिम संस्कारका लागि शव हस्तान्तरण गर्ने व्यवस्था गरिएको छ।

बेपत्ता व्यक्तिका निकट परिवारले डीएनए नमुनाका लागि नेपाल प्रहरी अस्पताल महाराजगञ्ज वा नजिकको जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सरकारले आग्रह गरेको छ। विदेशमा रहेका परिवारका सदस्यले आफू बसेकै मुलुकमा डीएनए प्रोफाइल तयार गरी नेपाल प्रहरीलाई पठाउन सक्ने व्यवस्था गरिएको छ।

परराष्ट्र मन्त्रालयले अपुष्ट तथ्यांक र सूचनाले थप अन्योल सिर्जना गर्न सक्ने भन्दै आधिकारिक निकायबाट पुष्टि भएका विवरणमा मात्र भर पर्न आग्रह गरेको छ र अर्को नियमित प्रेस ब्रिफिङ बुधबार दिउँसो दुई बजे गर्ने जनाएको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू