बाढीपीडितका लागि संयुक्त रूपमा सहयोग जुटाउन एनआरएनए यूकेको अपिल


लन्डन — गैर आवासीय नेपाली संघ (एनआरएनए) युकेका अध्यक्ष राजेन्द्र पुडासैनीले नेपालमा गत बुधबार आएको भीषण बाढीबाट प्रभावित समुदायको राहत तथा पुनर्स्थापनाका लागि बेलायतस्थित सबै नेपाली संघसंस्थालाई हातेमालो गर्दै संयुक्त रूपमा सहयोग जुटाउन अपिल गरेका छन्।
शनिबार लन्डनमा भर्चुएल माध्यमबाट आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुडासैनीले विपद्को यस घडीमा विदेशमा रहेका नेपालीले मातृभूमिप्रतिको जिम्मेवारी अझ मजबुत रूपमा निर्वाह गर्नुपर्ने बताए। उनले रसुवा र नुवाकोटको उत्तरी भेग बाढीबाट अत्यन्त प्रभावित भएको उल्लेख गर्दै पीडितको उद्धार, राहत, पुनर्निर्माण तथा दीर्घकालीन पुनर्स्थापनामा सहकार्य आवश्यक रहेको बताए।
“लाखौंको संख्यामा हामी विदेशमा छौं। नेपालबाहिर भएर पनि नेपालमै छौं भन्ने अनुभूति हुन्छ। नेपाललाई दुःख्दा विदेशमा रहेका नेपालीलाई सबैभन्दा पहिले दुःख्छ,” पुडासैनीले भने।
उनले एनआरएनए युकेले बेलायत सरकारसँग निरन्तर संवाद गरिरहेको र बाढीपीडितप्रति बेलायती सरकार तथा जनतामा व्यापक सहानुभूति रहेको बताए। विश्वभर छरिएर रहेका नेपाली समुदायलाई एकीकृत गर्दै राहत तथा सहयोग परिचालन गर्न एनआरएनएको भूमिका महत्वपूर्ण हुने उनले बताए।
पुडासैनीले बेलायतस्थित सबै नेपाली संघसंस्थालाई एकताबद्ध भएर सहयोग अभियानमा सहभागी हुन आग्रह गर्दै ५० लाखदेखि एक करोड रुपैयाँसम्म सहयोग रकम संकलन गर्ने लक्ष्य रहेको जानकारी दिए। संकलित रकम एनआरएनए आइसीसीमार्फत प्रधानमन्त्री राहत कोषमा पठाउने योजना रहेको पनि उनले बताए।
राहतसँगै पुनर्निर्माण, बालबालिकाको शिक्षामा सहयोग तथा भविष्यमा विपद्को जोखिम न्यूनीकरणका लागि नेपाली समुदायमा रहेको विशेषज्ञता उपयोग गर्न सकिने उनको भनाइ थियो। उनले बेलायतस्थित नेपाली समुदायलाई गोफन्डमीको लिंक तथा क्यूआर कोडमार्फत सहयोग गर्न पनि आग्रह गरे।
पुडासैनीले आउँदो सोमबार (३१ अगष्ट) राति ८ बजे बेलायतस्थित नेपाली संघसंस्थाका प्रतिनिधिसँग बाढीपीडितका लागि सहयोग परिचालनबारे अन्तरक्रिया कार्यक्रम आयोजना गर्न लागेको जानकारी दिए। त्यस्तै, मंगलबार (१ सेप्टेम्बर) साँझ ६ बजे नेपाली दूतावास लन्डनमा क्यान्डल लाइट भिजिल आयोजना गर्न लागिएको उनले बताए।
‘त्रिशूलीपारि मुख्य समस्या छ’
नेपालमै रहेका एनआरएनए आइसीसीका केन्द्रीय अध्यक्ष डा. हेमराज शर्माले बाढी आएको भोलिपल्टै आफूहरू प्रभावित क्षेत्रमा पुगेको जानकारी दिए। उनका अनुसार सरकारको ‘वन डोर पोलिसी’ अनुसार राहत वितरणलाई व्यवस्थित गर्ने प्रयास भइरहेको छ।
डा. शर्माले नुवाकोटमा राजेन्द्र पुडासैनीको समन्वयमा बिहीबार र शुक्रबार गरी करिब ५०० थान राहत सामग्री वितरण गरिएको बताए।
“त्रिशूलीपारि मुख्य समस्या छ। पुल बगेको छ। त्यहाँ पुग्न हेलिकप्टर मात्रै विकल्प रहेको अवस्था छ,” उनले भने। त्रिशूलीपारिका जनप्रतिनिधिसँग सम्पर्क र समन्वय भइरहेको उनले जानकारी दिए।
उनले अहिले मुख्य चुनौती फन्डरेजिङ रहेको उल्लेख गर्दै सरकार पुग्न नसकेका क्षेत्रमा राहत पुर्याउन थप सहयोग आवश्यक रहेको बताए। बाढीका कारण स्वास्थ्यसम्बन्धी समस्या पनि बढ्न सक्ने भएकाले मेडीसिटी अस्पताल तथा एनआरएनए हेल्थ कमिटीसँगको समन्वयमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए।
बाँकी रहेको रकम प्रधानमन्त्री राहत कोषमै उपलब्ध गराउने बताउँदै शर्माले एनसीसीहरूलाई केन्द्रमार्फत रकम पठाउन आग्रह गरे। “न्यूनतम एक करोड रुपैयाँको चेक नेपाल सरकारलाई दिऔं,” उनले अपिल गरे।
‘अवस्था कल्पनाभन्दा भयावह छ’
एनआरएनएका निवर्तमान अध्यक्ष तथा प्रमुख संरक्षक डा. बद्री केसीले बाढी प्रभावित क्षेत्रमा पुग्दा सञ्चारमाध्यममा आएको विवरणभन्दा अवस्था सयौं गुणा भयावह देखिएको बताए।
“यो अकल्पनीय विपद्को घडी हो। प्रभावित ठाउँमा पुग्दा अवस्था सयौं गुणा भयावह छ। क्षतिको पूर्ण लेखाजोखा हुन बाँकी छ,” उनले भने।
परिवारका सदस्यहरू आफ्ना आफन्तको अवस्था थाहा पाउन नसकेर अत्यन्त मानसिक तनावमा रहेको उल्लेख गर्दै डा. केसीले तत्काल राहतका लागि आर्थिक सहयोग आवश्यक रहेको बताए। प्रभावित क्षेत्रमा मानिसहरू भोकै रहेको भन्दै उनले सरकार तथा स्थानीय प्रशासनसँग समन्वय गरेर राहत वितरण गरिने जानकारी दिए।
उनले सहयोग गर्ने प्रत्येक दातालाई डिजिटल रूपमा सम्मान तथा पहिचान गर्ने व्यवस्था गरिने बताए। साथै, राहत वितरणमा दोहोरोपन नहोस् भनेर प्रमुख जिल्ला अधिकारीलगायत स्थानीय प्रशासनसँग समन्वय गरिरहेको र सरकारको निगरानी तथा समन्वयमा राहत हस्तान्तरण गरिने जानकारी दिए।
“व्यक्तिगत रूपमा पनि सहयोगका लागि अप्रोच गर्नुस्। हामी रेडी टु मुभ छौं,” डा. केसीले भने।

स्वास्थ्य तथा मनोसामाजिक सहयोगमा जोड
एनआरएनए आइसीसीका कोषाध्यक्ष कृष्ण तिमिल्सिनाले जसरी सकिन्छ सबैले आआफ्नो ठाउँबाट सहयोग गर्न आग्रह गरे। उनले विपदको बेला एनआरएनए जहिले पनि अग्रपंक्तिमै रहने भएकाले एनआरएनए मार्फत नै सहयोग गर्न आग्रह गरे। त्यसो भए हामीले हाम्रा मुद्दाहरु बलियोसंग राख्न सक्छौं, उनले भने।
एनआरएनए आइसीसीका उपमहासचिव दिनेश घिमिरेले आपसमा कुनै भिन्नता भए त्यसलाई छाडेर सबैले सहकार्य गर्नु पर्ने बताए। त्यस्तै एनआरएनए युकेका उपाध्यक्ष लिलाराम निउरे, एनआरएनए नर्दर्न आयरल्याण्डका अध्यक्ष पूर्णश्वर कडेल, छबिलाल अर्याल (स्कटल्याण्ड) लगायतले युकेका विभिन्न राज्यमा सहयोग संकलन गर्ने कार्य भैरहेको जनाए।
एनआरएनए आइसीसीकी सचिव प्रसुना कडेलले विपद्को यस घडीमा सबै एकढिक्का भएर अघि बढ्नुपर्ने बताउँदै एनआरएनएमार्फत सहयोग गर्न आग्रह गरिन्। आफू आइतबार नेपाल जान लागेको जानकारी दिँदै कडेलले बाढी प्रभावितलाई स्वास्थ्य सेवा, सरसफाइ तथा मनोपरामर्शलगायत आवश्यक सहयोग उपलब्ध गराउन पहल गर्ने बताइन्। महाभूकम्पका बेला पनि टोलीसहित नेपाल पुगेर काम गरेको स्मरण गर्दै उनले अहिले राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा सहकार्य गरेर प्रभावित समुदायलाई सहयोग गर्ने समय आएको बताइन्।
कार्यक्रममा एनआरएनए युकेका उपाध्यक्ष लिलाराम निउरे, कृष्ण भण्डारी, इंगल्याण्ड राज्य परिषदकी अध्यक्ष राममाया थापा, नर्दर्न आयरल्याण्ड राज्य परिषदका अध्यक्ष पुर्णश्वर कडेल, स्कटल्याण्डका छबिलाल अर्याललगायतले बेलायतका विभिन्न राज्य तथा क्षेत्रमा बाढीपीडितका लागि सहयोग संकलन भइरहेको जानकारी दिए।
पत्रकार सम्मेलन सञ्चालन एनआरएनए युकेका महासचिव दिवाकर पाण्डे तथा प्रवक्ता श्याम लुइँटेलले गरेका थिए।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


