शनिबार, २९ अगस्ट, २०२६
16:33 | २१:१८

बाढी प्रभावित प्रत्येक नागरिककहाँ सरकार पुग्छ: प्रधानमन्त्री

रासस अगस्ट २८, २०२६

काठमाडौँ, भदौ १२ गते । प्रधानमन्त्री वालेन्द्र शाहले देश कठिन घडीमा रहेको उल्लेख गर्दै बाढी प्रभावित प्रत्येक नागरिककहाँ सरकार पुग्ने प्रतिबद्धता व्यक्त गरेका छन् । भोटेकोशीमा गएको बाढीको पछिल्लो अवस्थाबारे आफ्नो सामाजिक सञ्जाल (फेसबुक) मार्फत आज साँझ जानकारी गराउँदै उनले त्यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।

“यस कठिन घडीमा विपद्बाट प्रभावित प्रत्येक परिवारको साथमा राज्य छ”, प्रधानमन्त्री शाहले भनेका छन्, “उद्धारको प्रतीक्षामा रहेका प्रत्येक नागरिकसम्म राज्य पुग्नेछ ।”

उनले बाढी तथा पहिरो प्रभावित रसुवा, नुवाकोटसहितका क्षेत्रमा खोज तथा उद्धारका लागि १५ हजार ४३१ सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिएका छन् । उनका अनुसार नेपाल प्रहरीका चार हजार ४७३, नेपाली सेनाका छ हजार ७५५ र सशस्त्र प्रहरी बल नेपालका चार हजार २०३ जना सुरक्षाकर्मी उद्धार तथा राहतमा खटिएका छन् ।

“हालसम्म चार हजार ४५१ जनाको उद्धार गरिएको छ । उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका १६ हेलिकप्टर परिचालन गरी धुन्चे, त्रिशूली, टिमुरे र स्याफ्रुबेँसीलगायत क्षेत्रमा ९९ हवाई उडान भएका छन्”, प्रधानमन्त्रीले भनेका छन्, “प्रभावित क्षेत्रमा हालसम्म ३२ ट्रक खाद्य तथा गैरखाद्य राहत सामग्री पठाइएको छ भने हेलिकप्टरबाट समेत राहत सामग्री ढुवानी गरिएको छ । सुरुङमा फसेका नागरिक तथा कामदारको खोज तथा उद्धारलाई उच्च प्राथमिकता दिइएको छ ।”

बेपत्ता नागरिक तथा शवको खोजी कार्य रसुवादेखि नुवाकोट, धादिङ हुँदै गोरखा, तनहुँ, चितवन र नवलपरासीसम्म त्रिशूली–नारायणी नदी करिडोरमा विस्तार गरिएको जानकारी दिँदै प्रधानमन्त्रीले हालसम्म १२९ जना विदेशी पर्यटक तथा नागरिकको उद्धार तथा पहिचान गरिएको उल्लेख गरेका छन् ।

यसैगरी, प्रभावित क्षेत्रमा सडक, विद्युत्, दूरसञ्चार र खानेपानी सेवा पुनःस्थापनाको काम तीव्र पारिएको प्रधानमन्त्रीले उल्लेख गरेका छन् । उनका अनुसार रसुवालाई वैकल्पिक सडकमार्फत पुनःसडक सञ्जालमा जोडिएको छ भने प्रभावित १९८ दूरसञ्चार साइटमध्ये १४५ वटा सञ्चालनमा आएका छन् । नुवाकोटमा करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा सुचारु भएको छ ।

“बाढी तथा विपद्बाट प्रभावित १५ स्थानीय तहलाई राहत, उद्धार तथा व्यवस्थापनका लागि रु छ करोड ७५ लाख उपलब्ध गराइएको छ”, उनले भनेका छन्, “प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो करिब ३६ घण्टामा रु एक अर्ब ९० करोडभन्दा बढी रकम संकलन भएको छ ।”

प्रधानमन्त्री शाहले भोटेकोशी तथा तल्लो तटीय क्षेत्रमा पुनःबाढीको जोखिमको निगरानी जारी राख्दै जोखिमयुक्त क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरेका छन् ।

उनका अनुसार हालसम्म दुई लाखभन्दा बढी एसएमएसमार्फत पूर्वसूचना पठाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू