मंगलबार, १८ अगस्ट, २०२६
13:56 | १८:४१

तामाङ सोसाइटी अफ अमेरिकाभित्र विवाद, वित्तीय अनियमितताको आरोप

नेपाली लिङ्क अगस्ट १८, २०२६


न्यूयोर्क । अमेरिकास्थित नेपाली समुदायको पुरानो संस्थामध्येको एक ‘तामाङ सोसाइटी अफ अमेरिका’ (टीएसए) भित्र संस्थागत विवाद र वित्तीय अनियमितताको विषयलाई लिएर विवाद बढ्दै गएको छ ।

संस्थाको विधान विपरीत अनधिकृत गतिविधि बढेको भन्दै नवनिर्वाचित अन्तरिम कार्यसमितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोसाइटीकी अध्यक्ष चाँदनी लामा र महासचिव सोनिया (ल्हामु डोल्मा) तामाङद्वारा जारी संयुक्त प्रेस विज्ञप्तिअनुसार, गत अगस्ट ८ मा सम्पन्न विशेष साधारण सभाले विधानको धारा ८.१ बमोजिम तत्कालीन कार्यसमिति विघटन गरी सन् २०२५–२०२७ कार्यकालको बाँकी अवधिका लागि नयाँ अन्तरिम कार्यसमिति गठन गरेको थियो ।

उक्त अन्तरिम समितिले संस्थाका बैंक खाता, आर्थिक अभिलेख, कागजात तथा भौतिक सम्पत्तिको संस्थागत हस्तान्तरण प्रक्रिया सुरु गरिसकेको जनाएको छ ।

विज्ञप्तिमा तामाङ कल्चरल एन्ड बुद्धिस्ट सेन्टर (टीसीबीसी) र टीएसएको बैंकिङ कारोबार तथा आर्थिक व्यवस्थापनमा गम्भीर अनियमितता भेटिएको उल्लेख छ । प्राप्त विवरण अनुसार, गत अगस्ट १० तारिखका दिन टीसीबीसीका पूर्वसंयोजक इन्द्र तामाङ र कोषाध्यक्ष सानुमाया तामाङले बैंक खाताबाट ३ लाख ३० हजार अमेरिकी डलर निकालेर हिनामिना गरेको बताइएको छ । हाल संस्थाको खातामा १२ हजार १८.५७ डलर मात्र बाँकी रहेको पाइएको छ ।

गुम्बा निर्माण कार्यका लागि सङ्कलित रकममा दुरुपयोग भएको भन्दै संस्थाले यस विषयमा कानुनी उपचार खोजिने जनाएको छ । साथै, टीएसएको खातामा हुनुपर्ने १५,५०० डलरमध्ये हाल ५०० डलर मात्र बाँकी देखिएको र बाँकी १६,००० डलर बेरुजु रकमका लागि निवर्तमान अध्यक्ष तुलबहादुर तामाङ र कोषाध्यक्ष विष्णुमाया तामाङ जिम्मेवार हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

वित्तीय पारदर्शिता कायम गर्न संस्थाले चाँडै नै सरोकारवालाहरूको प्रत्यक्ष बैठक डाक्ने र नयाँ कार्यदेशसहितको छुट्टै समिति गठन गर्ने तयारी गरेको छ ।

अन्तरिम कार्यसमितिले संस्थाको स्वीकृति र निर्णयबिना आयोजना गरिएका वा घोषणा गरिएका कार्यक्रमहरूलाई संस्थाले अनाधिकृत भनेको छ ।

अगस्ट १६ का लागि तय भएको भनिएको पिकनिक कुनै व्यक्तिको व्यक्तिगत पहल मात्र भएको र टीएसएको आधिकारिक कार्यक्रम नरहेको स्पष्ट पारेको छ ।

यसैगरी, अगस्ट २२ का लागि आह्वान गरिएको भनिएको वार्षिक साधारण सभा (एजीएम) लाई पनि अन्तरिम समितिले अवैध घोषणा गरेको छ । पूर्वपदाधिकारीहरूले एकपक्षीय रूपमा बोलाएको उक्त सभा विधानविपरीत रहेको भन्दै सदस्यहरूलाई भ्रममा नपर्न र सो सभामा सहभागी नहुन आग्रह गरिएको छ ।

विज्ञप्तिमार्फत अन्तरिम समितिको पूर्वस्वीकृति बिना टीएसएको नाम, लोगो, लेटरहेड वा पद अवैध रूपमा प्रयोग गरी कुनै पनि सभा, बैठक, सूचना वा आर्थिक कारोबार नगर्न चेतावनी दिइएको छ ।

संस्थाका आधिकारिक निर्णयहरू टीएसएको आधिकारिक फेसबुक पेज तथा वर्तमान अन्तरिम समितिबाट जारी विज्ञप्तिमार्फत मात्र सार्वजनिक हुने बताइएको छ ।

संस्थाभित्र देखिएका असहमति र जिज्ञासाहरूलाई सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप गर्नुको साटो विधान र आपसी संवादमार्फत हल गर्न अन्तरिम कार्यसमितिले आह्वान गरेको छ । संस्थाको गरिमा, एकता र पारदर्शिता जोगाउन सबै सदस्य तथा शुभेच्छुकहरूबाट सकारात्मक सहयोगको अपेक्षा गरिएको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति:

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू