मंगलबार, १८ अगस्ट, २०२६
17:53 | २२:३८

लन्डन चार्ल्टनमा हरितालिका तीजको दर र नाचगान कार्यक्रम आइतबार

नेपाली लिङ्क अगस्ट १८, २०२६

फाइल तस्विर

लन्डन- साउथ इष्ट लन्डनको चार्ल्टन नेपाली समाजले एक विशेष कार्यक्रमसहित तीज मनाउने भएको छ।

आउँदो आइतबार २३ अगष्टका दिन स्थानीय मेरिडियन स्पोर्टस् सोसल क्लबमा हरितालिका तीज कार्यक्रम गरिन लागेको हो ।

बेलुका ५ बजेदेखि बेलुका ११ बजेसम्मलाई कार्यक्रम तय छ । सो अवसरमा तीजको दरका साथै रमाइलो नाचगान गरिने कार्यक्रम छ ।

हरितालिका तीज कार्यक्रमको संयोजन गर्ने जिम्मा समाजकी उपाध्यक्ष सुनिता कंडेललाई दिइएको छ ।

सो अवसरमा दिदीबहिनी नचाउन डिजे डिन आउँदैछन् । दरका लागि माउन्टेन भ्यु रेष्टुरेन्टले खाना उपलब्ध गराउँदैछ ।

समाजका अध्यक्ष वसन्त खनालले चार्ल्टन वरपर बस्ने दिदीबहिनीसहित सबै नेपालीहरुलाई कार्यक्रममा सहभागिताका लागि आव्हान गरेका छन् ।

नेपालको सांस्कृतिक पर्व तीजलाई बेलायतमा समेत प्रवर्द्धन गर्नु र यही अवसरमा मौलिक परम्पराअनुसार महिलाहरु भेला भएर दर खाने तथा रमाइलो नाचगान गर्ने अवसर जुटाउनु कार्यक्रमको प्रमुख उद्धेश्य रहेको अध्यक्ष खनालले जनाए ।

कार्यक्रममा सहभागिताका लागि विशेष छुटसहित महिलाहरु तथा १२ वर्षमुनिका बालबालिकालाई १० पाउण्डको टिकट लाग्नेछ । पुरुषहरुको लागि भने १५ पाउण्डको टिकट छ।

 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू