आइतबार, १६ अगस्ट, २०२६
11:59 | १६:४४

दक्षिण कोरियाली राष्ट्रपतिले उत्तर कोरियासँग राखे वार्ता प्रस्ताव

रासस/एएफपी अगस्ट १६, २०२६

दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङ। तस्विर रोयटर्स

सियोल– दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने उद्देश्यले उत्तर कोरियासँग वार्ताका लागि प्रस्ताव गरेका छन् । उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गर्दै रुससँगको सैन्य सम्बन्ध विस्तार गरिरहेका बेला राष्ट्रपतिको यस्तो प्रस्ताव आएको हो ।

दुई कोरिया प्राविधिकरूपमा अझै युद्धकै अवस्थामा छन् । सन् १९५०–५३ को कोरियाली युद्ध शान्ति सम्झौतामार्फत नभई युद्धविरामबाट अन्त्य भएको थियो । जापानी औपनिवेशिक शासनबाट कोरिया मुक्त भएको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति लीले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेका हुन् । “आउनुहोस्, एक–अर्कालाई धम्की दिने मनसाय त्यागौँ र युद्धमा प्रत्यक्ष सङ्लग्न पक्षका रूपमा लामो समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न वार्ता सुरु गरौँ,” लीले भने ।

उनले वार्ताका माध्यमबाट उत्तर कोरियाको आणविक क्षमता विस्तार रोक्ने प्रभावकारी उपायबारे समेत छलफल गर्न सकिने बताए । राष्ट्रपति लीको प्रस्ताव उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको वार्षिक संयुक्त सैन्य अभ्यासको विरोध गरिरहेका बेला आएको हो । प्योङयाङले अभ्यासलाई आक्रमणको तयारी भन्दै त्यसविरुद्ध थप सशक्त प्रतिरोधात्मक कदम चाल्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाले जापानको बढ्दो सैन्य गतिविधिप्रति पनि असन्तुष्टि जनाउँदै आएको छ । टोकियोले क्षेत्रीय सुरक्षाका लागि आफ्नो रक्षा क्षमता विस्तार गर्ने प्रतिबद्धता जनाएपछि प्योङयाङले पछिल्ला दुई सातामा दुईपटक क्षेप्यास्त्र परीक्षण गरेको थियो । सन् २०१९ मा हनोईमा उत्तर कोरियाली नेता किम जोङ–उन र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको शिखर वार्ता विफल भएपछि प्योङयाङले आफूलाई पटक–पटक ‘अपरिवर्तनीय’आणविक राष्ट्र घोषणा गर्दै आएको छ ।

उक्त वार्ता आणविक निशस्त्रीकरणको दायरा र उत्तर कोरियामाथिका प्रतिबन्ध हटाउने विषयमा सहमति हुन नसकेपछि विफल भएको थियो । दक्षिण कोरियाका राष्ट्रपति लीले जुन २०२५ मा पदभार सम्हालेपछि पूर्ववर्ती सरकारको कडा नीतिबाट अलग हुँदै आणविक हतियार सम्पन्न उत्तर कोरियासँग बिनासर्त वार्ताको प्रस्ताव गर्दै आएका छन् ।

गत जुलाईमा दक्षिण कोरियाका एकीकरणमन्त्रीले उत्तर कोरियाका आणविक हतियार नष्ट गर्न दबाब दिने अभियानबाट पछि हट्दै प्योङयाङको आणविक कार्यक्रम विस्तार रोक्नमा केन्द्रित हुने बताएका थिए । तर, उत्तर कोरियाले राष्ट्रपति लीका पछिल्ला वार्ता प्रस्तावमा कुनै प्रतिक्रिया दिएको छैन । बरु उसले रुससँगको सैन्य सम्बन्ध थप सुदृढ बनाउँदै आएको छ ।

विश्लेषकका अनुसार युक्रेनमा रुसको युद्धमा सेना र गोलाबारुद उपलब्ध गराएबापत उत्तर कोरियाले मस्कोबाट आर्थिक सहयोग, खाद्यान्न, ऊर्जा तथा सैन्य प्रविधि प्राप्त गरिरहेको छ । उत्तर कोरियाली नेता किमले यस वर्षको अन्त्यतिर रुस भ्रमण गर्ने सम्भावना रहेको र त्यस क्रममा थप हतियार आपूर्तिबारे छलफल हुन सक्ने उनीहरूको आकलन छ । दक्षिण कोरियाको प्रमुख सुरक्षा सहयोगी अमेरिकाले उत्तर कोरियाबाट हुन सक्ने सैन्य खतराविरुद्ध दक्षिण कोरियामा करिब २८ हजार ५०० सैनिक तैनाथ गरेको छ ।

अमेरिका–दक्षिण कोरिया संयुक्त सेना कमान्डका प्रवक्ता कर्नेल रायन डोनाल्डले उत्तर कोरियाले युक्रेन युद्धबाट प्राप्त गरेको अनुभवले कोरियाली प्रायद्वीपमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौती परिवर्तन गरेको बताएका छन् । “उनीहरूले त्यहाँ सिकेका पाठ उत्तर कोरिया फर्काएर ल्याएका छन्,” सोमबारदेखि सुरु हुने ११ दिने संयुक्त सैन्य अभ्यासबारे पत्रकारसँग कुरा गर्दै डोनाल्डले भने, “हाम्रो तालिमले त्यही खतरालाई ध्यानमा राखेको छ ।”

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू