एफएनजे ग्लोबल मिडिया सम्मेलनद्वारा ९ बुँदे ‘टोकियो घोषणापत्र–२०२६’ जारी

लन्डन । एफएनजे ग्लोबल मिडिया सम्मेलन जापान–२०२६ ले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, श्रमजीवी पत्रकारका अधिकार, प्रवासमा रहेका नेपाली पत्रकारको संस्थागत प्रतिनिधित्व र आधुनिक प्रविधिको प्रयोगलगायत विषय समेटिएको ९ बुँदे ‘टोकियो घोषणापत्र–२०२६’ जारी गरेको छ।
नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिको समन्वय तथा नेपाल पत्रकार महासङ्घ जापान शाखाको आयोजनामा जापानको टोकियोमा २५ जुलाई २०२६ मा सम्मेलन सम्पन्न भएको थियो। नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठका अवसरमा आयोजित सम्मेलनमा महासङ्घका सम्पूर्ण वैदेशिक शाखाले सहआयोजना गरेका थिए।
त्यस्तै, महासङ्घसँग आबद्ध संस्था नेपाल अमेरिका पत्रकार संघ र नेपाल अस्ट्रेलिया पत्रकार संघले सम्मेलनमा सहकार्य गरेका थिए।
नेपाल पत्रकार महासङ्घकी अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्यमा सम्पन्न सम्मेलनमा महासङ्घका उपाध्यक्ष तथा पदाधिकारीहरू, केन्द्रीय कार्यसमिति सदस्यहरू, सातै प्रदेशका अध्यक्षहरू, तीन जिल्ला शाखाका अध्यक्षहरू, नेपाल पत्रकार महासङ्घ जापान शाखाका पदाधिकारी तथा सदस्यहरू, सञ्चारकर्मी र नागरिक समाजका विभिन्न संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सम्मेलनले प्रवास पत्रकारिताको समग्र समीक्षा गर्दै नेपालको लोकतान्त्रिक मूल्य–मान्यता, संविधानद्वारा प्रत्याभूत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको व्यावसायिक तथा भौतिक सुरक्षा र प्रवासमा रहेका नेपाली पत्रकारको महासङ्घसँगको संस्थागत आबद्धतालाई थप सुदृढ बनाउने उद्देश्यसहित निम्न ९ बुँदे ‘टोकियो घोषणापत्र–२०२६’ जारी गरेको छ :
टोकियो घोषणा पत्र–२०२६
१- यो सम्मेलन संविधानद्वारा प्रत्याभूत प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा अन्तर्राष्ट्रिय लोकतान्त्रिक अभ्यास विपरीत नेपालमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा अङ्कुश लगाउने उद्देश्यले सरकारले गरेका वा गर्न खोजिएका गतिविधि प्रति गम्भीर चासो तथा चिन्ता व्यक्त गर्दछ। लोकतान्त्रिक शासन व्यवस्थाको आधार स्वतन्त्र प्रेस र स्वतन्त्र अभिव्यक्ति भएकाले नेपालको संविधान, मानव अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय सन्धि सम्झौता तथा लोकतान्त्रिक मूल्य मान्यता अनुरूप प्रेस मैत्री वातावरण सुनिश्चित गर्न नेपाल सरकारसँग जोडदार आग्रह गर्दछ। साथै सञ्चार सम्बन्धी कानुन निर्माण वा संशोधन गर्दा सरोकारवालासँग व्यापक परामर्श गर्न सरकारलाई आग्रह गर्दछ।
२- श्रमजीवी पत्रकारको अधिकारको प्रभावकारी कार्यान्वयनका सम्बन्धमा सम्मेलन नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको अधिकार, सम्मान र पेशागत सुरक्षाका लागि सञ्चालन गरिरहेको आन्दोलन प्रति ऐक्यबद्धता व्यक्त गर्दछ। नेपालको श्रमजीवी पत्रकार ऐन तथा प्रचलित कानुनले व्यवस्था गरेका न्यूनतम पारिश्रमिक, सेवा सुविधा, सामाजिक सुरक्षा, नियुक्ति पत्र, बिमा तथा अन्य श्रमिक अधिकारको पूर्ण कार्यान्वयन गर्न सबै सञ्चार संस्थाको ध्यानाकर्षण गराउँछ। साथै ऐनको प्रभावकारी कार्यान्वयन गराउने मुख्य जिम्मेवारी सरकारको भएकाले त्यसको अनुगमन र कार्यान्वयन तत्काल सुनिश्चित गर्न नेपाल सरकारसँग माग गर्दछ।
३- सूचना तथा सञ्चार प्रविधिको तीव्र विकास र कृत्रिम बुद्धिमत्ता लगायत आधुनिक प्रविधिको प्रयोगबाट उत्पन्न चुनौतीहरूको प्रभावकारी व्यवस्थापनका लागि आवश्यक नीति तथा नियामकीय व्यवस्था निर्माण गर्न नेपाल सरकार तथा सम्बन्धित सञ्चार संस्थाहरूलाई सम्मेलन आग्रह गर्दछ।
४- प्रवासमा बसेर नेपाली भाषा, साहित्य, संस्कृति तथा राष्ट्रिय हितको प्रवर्द्धन गर्दै पत्रकारिता गरिरहेका नेपाली पत्रकारप्रति सम्मेलन उच्च सम्मान व्यक्त गर्दछ। साथै, नेपाल पत्रकार महासंघको विधान संशोधन मार्फत वैदेशिक शाखामा आबद्ध सबै सदस्यलाई चुन्ने र चुनिने अधिकार सुनिश्चित गर्न आवश्यक पहल गर्ने निर्णय गर्दछ।
५- विश्वका विभिन्न देशमा विस्तार भएका नेपाल पत्रकार महासङ्घका वैदेशिक शाखाहरूको प्रभावकारी समन्वयका लागि महासंघको संगठनात्मक संरचनामा आवश्यक पुनर्संरचना गर्न सम्मेलन आग्रह गर्दछ। वैदेशिक शाखालाई समेट्ने वैदेशिक प्रदेश तथा आवश्यकता अनुसार विभिन्न महादेशलाई समेट्ने प्रदेश संरचना निर्माण गर्नु पर्ने आवश्यकता औँल्याउँदै विधान संशोधन मार्फत वैदेशिक शाखामा आबद्ध सदस्यहरूको नेपाल पत्रकार महासंघको केन्द्रीय समितिमा प्रतिनिधित्व सुनिश्चित गर्न पहल गर्ने निर्णय गर्दछ।
६- प्रवासमा रहेका नेपाली पत्रकारले आर्जन गरेका आधुनिक प्रविधि, ज्ञान, सीप, अनुसन्धान अनुभव तथा सञ्चार अभ्यासलाई नेपालको पत्रकारिता विकासमा उपयोग गर्ने उद्देश्यले वैदेशिक शाखाहरूलाई ज्ञान हस्तान्तरणको प्रभावकारी माध्यमका रूपमा विकास गर्न सम्मेलन प्रतिबद्धता व्यक्त गर्दछ।
साथै, गैरआवासीय नेपाली नागरिकलाई नेपालको संविधानले प्रत्याभूत गरेका राजनीतिक अधिकार बाहेकका अन्य सबै संवैधानिक अधिकार व्यवहारमा सहज रूपमा उपभोग गर्न पाउने व्यवस्था सुनिश्चित गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछ।
७- वैदेशिक शाखा तथा महासंघसँग सहकार्य गरिरहेका संस्थामा आबद्ध सदस्यहरूको नेपाल पत्रकार महासंघको मूल सदस्यता निरन्तर रहने व्यवस्था गर्न सम्मेलन आग्रह गर्दछ। साथै, जहाँ महासंघको शाखा स्थापना हुन सकेको छैन, त्यस्ता देशमा रहेका नेपाली पत्रकारलाई डिजिटल माध्यमबाट सदस्यता नवीकरण तथा सदस्यता व्यवस्थापन गर्न सकिने आधुनिक प्रणाली विकास गर्न माग गर्दछ।
८- नेपाल पत्रकार महासङ्घ तथा सम्पूर्ण वैदेशिक शाखाहरूको संयुक्त प्रयासमा विदेशमा कार्यरत नेपाली पत्रकारहरूको योगदानको सम्मान स्वरूप ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय गर्दछ।
९- सम्मेलन सफल बनाउन महत्वपूर्ण सहयोग पुर्याउने जापानस्थित नेपाली दूतावास, गैरआवासीय नेपाली संघ (एनआरएनए), जापानमा क्रियाशील विभिन्न सामाजिक, सांस्कृतिक तथा व्यावसायिक संघ संस्था, सञ्चार संस्था तथा सम्पूर्ण सहभागीहरूप्रति सम्मेलन हार्दिक आभार व्यक्त गर्दछ।



सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


