आइतबार, २६ जुलाइ, २०२६
19:53 | ००:३८

टोकियो घोषणापत्र जारी गर्दै सम्पन्न भयो एफएनजे ग्लोबल मिडिया सम्मेलन

नेपाली लिङ्क जुलाइ २६, २०२६


टोकियो– नेपाल पत्रकार महासङ्घको समन्वय तथा नेपाल पत्रकार महासङ्घ जापान शाखाको आयोजनामा जापानको राजधानी टोकियोमा सम्पन्न ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स–२०२६’ ले नौबुँदे ‘टोकियो घोषणापत्र–२०२६’ जारी गर्दै प्रेस स्वतन्त्रता, श्रमजीवी पत्रकारको अधिकार र वैदेशिक शाखाको संस्थागत सुदृढीकरणका विषयमा महत्वपूर्ण प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वर्षगाँठको अवसरमा जुलाई २५ मा आयोजित सम्मेलन नेपाल पत्रकार महासङ्घ जापान शाखाका अध्यक्ष रवीन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो भने महासङ्घका अध्यक्ष निर्मला शर्माको प्रमुख आतिथ्य थियो।

कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का वरिष्ठ उपाध्यक्ष रोविन शेरचन, जापानका लागि नेपाली कार्यवाहक राजदूत हरिहर कान्त पौडेल, महासङ्घका केन्द्रीय पदाधिकारी, प्रदेश तथा जिल्ला अध्यक्ष, वैदेशिक शाखाका प्रतिनिधि र विभिन्न सञ्चार तथा सामाजिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता थियो।

नेपाल पत्रकार महासङ्घका युरोप, यूके, बेल्जियम, कुवेत, कतार, दक्षिण कोरिया, संयुक्त अरब इमिरेट्स, भारत र जापान शाखाको सहआयोजना तथा नेपाल अमेरिका पत्रकार सङ्घ र नेपाल अष्ट्रेलिया पत्रकार सङ्घको सहकार्यमा सम्पन्न सम्मेलनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, सञ्चारसम्बन्धी कानुन निर्माणमा सरोकारवालासँग परामर्श, श्रमजीवी पत्रकार ऐनको प्रभावकारी कार्यान्वयन, न्यूनतम पारिश्रमिक, सामाजिक सुरक्षा तथा पत्रकारको श्रम अधिकार सुनिश्चित गर्न सरकारसँग आग्रह गरेको छ।

घोषणापत्रमा वैदेशिक शाखामा आबद्ध सदस्यलाई महासङ्घको विधान संशोधनमार्फत चुन्ने र चुनिने अधिकार सुनिश्चित गर्ने, वैदेशिक शाखाको प्रभावकारी समन्वयका लागि महादेशगत संरचना निर्माण गर्ने, केन्द्रीय समितिमा प्रतिनिधित्वको व्यवस्था गर्ने तथा प्रवासी नेपाली पत्रकारको ज्ञान, सीप र अनुभवलाई नेपालको पत्रकारिता विकाससँग जोड्ने प्रतिबद्धता व्यक्त गरिएको छ।

यसैगरी, सम्मेलनले गैरआवासीय नेपाली नागरिकलाई राजनीतिक अधिकारबाहेक संविधानले प्रत्याभूत गरेका अन्य अधिकार सहज रूपमा उपभोग गर्न सक्ने व्यवस्था गर्न सरकारसँग माग गरेको छ। वैदेशिक शाखाका सदस्यको मूल सदस्यता कायम राख्ने, शाखा नभएका मुलुकका पत्रकारका लागि डिजिटल सदस्यता प्रणाली विकास गर्ने तथा विदेशमा कार्यरत पत्रकारको सम्मानस्वरूप ‘एफएनजे ग्लोबल पत्रकारिता पुरस्कार’ स्थापना गर्ने निर्णय पनि गरिएको छ।

यूके शाखाको सक्रिय भूमिका

सम्मेलनमा नेपाल पत्रकार महासङ्घ यूके शाखाले पनि सक्रिय सहभागिता जनाएको थियो। यूके शाखाकी अध्यक्ष बिमला सेने र वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले विभिन्न महत्त्वपूर्ण सत्रमा भूमिका निर्वाह गरेका थिए।

‘प्रवासमा नेपाली समुदाय र मिडिया’ विषयक प्यानल छलफलमा अध्यक्ष सेने प्यानलिस्टका रूपमा सहभागी हुँदै बेलायतस्थित नेपाली सञ्चारमाध्यमको अवस्था, प्रवासी समुदायसँगको सम्बन्ध तथा समुदायमुखी पत्रकारिताका अनुभव प्रस्तुत गरिन्। उनले भूपू गोर्खा सैनिकसँग सम्बन्धित मुद्दामा नेपाली सञ्चारमाध्यमले खेलेको भूमिका उल्लेख गर्दै प्रवासी सञ्चारमाध्यमले नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा समुदायलाई एकताबद्ध बनाउन उल्लेखनीय योगदान पुर्‍याएको धारणा व्यक्त गरिन्।

त्यसैगरी, ‘पत्रकारितामा प्रविधिको प्रभाव : जिम्मेवार पत्रकारिता’ विषयक सत्रमा यूके शाखाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेत ले सहजकर्ताको भूमिका निर्वाह गरेका थिए। उक्त सत्रमा महासङ्घका लेखा समिति संयोजक केसी लामिछानेले कार्यपत्र प्रस्तुत गरेका थिए भने केन्द्रीय सचिव सोनी शर्मा, कोशी प्रदेश अध्यक्ष भरत खड्का, केन्द्रीय सदस्य सविता शर्मा तथा जापान शाखाका पूर्व निर्वाचन संयोजक खगराज गौतम प्यानलिस्टका रूपमा सहभागी थिए।

छलफलका क्रममा कृत्रिम बुद्धिमत्ता (एआई) लगायत आधुनिक प्रविधिको पत्रकारितामा बढ्दो प्रयोग, त्यसले सिर्जना गरेका अवसर र चुनौती, सामाजिक सञ्जालको प्रभाव, ‘भ्यूज’ र ‘लाइक’ केन्द्रित प्रतिस्पर्धाले पत्रकारिताको विश्वसनीयतामा पारेको असर तथा तथ्यमा आधारित जिम्मेवार पत्रकारितालाई कसरी थप सुदृढ बनाउन सकिन्छ भन्ने विषयमा गहन बहस भएको थियो।

सहभागीहरूले विश्वभर सञ्चालित नेपाली सञ्चारमाध्यमलाई प्रविधिमैत्री, व्यावसायिक, विश्वसनीय र आर्थिक रूपमा दिगो बनाउन साझा रणनीति, अन्तर्राष्ट्रिय सहकार्य र नीतिगत पहल आवश्यक रहेको निष्कर्ष निकाले।

सम्मेलनमा नेपालबाट ४१ सदस्यीय प्रतिनिधिमण्डलसहित विभिन्न देशका नेपाली पत्रकारको सहभागिता थियो। सम्मेलनले महासङ्घका वैदेशिक शाखा र केन्द्रबीचको सम्बन्धलाई थप संस्थागत र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्दै जारी गरिएको ‘टोकियो घोषणापत्र–२०२६’ ले विश्वभर फैलिएका नेपाली सञ्चारमाध्यमबीच सहकार्य, व्यावसायिकता र जिम्मेवार पत्रकारितालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सम्मेलन सफल बनाउन सहयोग पुर्‍याउने जापानस्थित नेपाली दूतावास, एनआरएनए जापान, विभिन्न सामाजिक, सांस्कृतिक तथा व्यावसायिक संस्था, सञ्चारमाध्यम, प्रायोजक, सहयोगदाता तथा सम्पूर्ण सहभागीप्रति आयोजकले आभार व्यक्त गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू