एफएनजे ग्लोबल मिडिया कन्फरेन्समा यूके शाखाको सहभागिता, विश्वभरका पत्रकार एकै ठाउँमा

लन्डन । नेपाल पत्रकार महासंघ जापान शाखाको आयोजनामा जापानको राजधानी टोकियोमा सम्पन्न ‘एफएनजे ग्लोबल मिडिया कन्फरेन्स २०२६’ मा नेपाल पत्रकार महासङ्घ यूके शाखाले सहभागिता जनाएको छ। महासङ्घ यूके शाखाकी अध्यक्ष बिमला सेने र वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले सम्मेलनका विभिन्न महत्त्वपूर्ण सत्रमा भूमिका निर्वाह गरेका हुन्।
विश्वभरका नेपाली पत्रकारलाई एउटै मञ्चमा जोड्ने उद्देश्यका साथ पहिलोपटक आयोजित सम्मेलनमा डायस्पोरा पत्रकारिता, प्रविधिको बढ्दो प्रभाव, जिम्मेवार पत्रकारिता तथा प्रवासी नेपाली समुदायसँग सञ्चारमाध्यमको सम्बन्धलगायत समसामयिक विषयमा केन्द्रित अन्तरक्रियात्मक सत्रहरू सञ्चालन गरिएका थिए।
सम्मेलनअन्तर्गत आयोजित ‘प्रवासमा नेपाली समुदाय र मिडिया’ विषयक प्यानल छलफलमा अध्यक्ष बिमला सेने प्यानलिस्टका रूपमा सहभागी भएकी थिइन् । उनले बेलायतमा सञ्चालित नेपाली सञ्चारमाध्यमको अवस्था, प्रवासी नेपाली समुदायसँगको सम्बन्ध तथा समुदायमुखी पत्रकारिताका अनुभवबारे आफ्नो धारणा राखिन्।
सेनेले बेलायतस्थित नेपाली समुदायले हासिल गरेका सफलता, भोग्नुपरेका चुनौती तथा तिता–मिठा अनुभवबारे चर्चा गर्दै भूपू गोर्खा सैनिक र उनीहरूसँग सम्बन्धित विभिन्न मुद्दामा नेपाली सञ्चारमाध्यमले खेलेको भूमिकाबारे प्रकाश पारिन्। उनले प्रवासी सञ्चारमाध्यमले नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण गर्दै समुदायलाई एकताबद्ध बनाउन उल्लेखनीय योगदान पुर्याएको बताइन्।
यसैगरी, ‘पत्रकारितामा प्रविधिको प्रभाव : जिम्मेवार पत्रकारिता’ विषयक सत्रमा महासङ्घ युके शाखाका वरिष्ठ उपाध्यक्ष नरेन्द्र बस्नेतले मोडरेटर (सहजकर्ता) को भूमिका निर्वाह गरेका थिए। उक्त सत्रमा नेपाल पत्रकार महासङ्घ लेखा समिति संयोजक केसी लामिछानेले कार्यपत्र प्रस्तुत गरेका थिए।
प्यानल छलफलमा नेपाल पत्रकार महासङ्घकी केन्द्रीय सचिव सोनी शर्मा, कोशी प्रदेश अध्यक्ष भरत खड्का, केन्द्रीय सदस्य सविता शर्मा तथा नेपाल पत्रकार महासङ्घ जापान शाखाका पूर्व निर्वाचन संयोजक खगराज गौतम प्यानलिस्टका रूपमा सहभागी थिए।
छलफलका क्रममा पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) सहित आधुनिक प्रविधिको बढ्दो प्रयोग, त्यसले सिर्जना गरेका अवसर र चुनौती तथा डिजिटल युगमा जिम्मेवार पत्रकारिताको आवश्यकतामाथि गहन बहस भएको थियो।
सामाजिक सञ्जालको प्रभावका कारण मूलधारका सञ्चारमाध्यमले सामना गरिरहेका चुनौती, ‘भ्युज’ र ‘लाइक’को प्रतिस्पर्धाले पत्रकारिताको विश्वसनीयतामा पारेको असर तथा तथ्यमा आधारित पत्रकारितालाई थप सुदृढ बनाउन आवश्यक उपायबारे सहभागीहरूले धारणा राखेका थिए।
सहभागीहरूले विश्वभर सञ्चालित नेपाली सञ्चारमाध्यमलाई प्रविधिमैत्री, व्यावसायिक, विश्वसनीय र आर्थिक रूपमा दिगो बनाउन साझा रणनीति, आपसी सहकार्य तथा नीतिगत पहल आवश्यक रहेको निष्कर्ष निकाले।
सोहि अवसरमा नेपाल पत्रकार महासंघ केन्द्रीय अध्यक्ष निर्मला शर्मा, नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठ, संस्थापक अध्यक्ष तिलक मल्ललगायत नेपालबाट अतिथिको रुपमा सहभागी महासंघ प्रदेश अध्यक्षहरुलाई बेलायत शाखाको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो ।
नेपाल पत्रकार महासङ्घ जापान शाखाको आयोजनामा सम्पन्न सम्मेलनमा नेपालबाट ४१ सदस्यीय प्रतिनिधिमण्डलसहित विभिन्न देशका नेपाली पत्रकारको उल्लेखनीय सहभागिता रहेको थियो। सम्मेलनले महासङ्घका ११ वटा वैदेशिक शाखा र केन्द्रबीचको सम्बन्धलाई थप संस्थागत र सुदृढ बनाउन महत्त्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन्।
कार्यक्रममा प्रवासमा सञ्चालित नेपाली सञ्चारमाध्यमले भोगिरहेका कानूनी, प्राविधिक तथा आर्थिक चुनौतीबारे पनि विस्तृत छलफल भएको थियो। साथै, ‘डायस्पोरा मिडिया’ले नेपालको समृद्धि, पर्यटन प्रवर्द्धन, लगानी आकर्षण तथा अन्तर्राष्ट्रिय स्तरमा नेपालको सकारात्मक छवि निर्माणमा अझ प्रभावकारी भूमिका खेल्नुपर्नेमा सहभागीहरूले जोड दिएका थिए।
सम्मेलनका निष्कर्षलाई समेट्दै जारी गरिएको ‘टोकियो घोषणापत्र’ले विश्वभर फैलिएका नेपाली सञ्चारमाध्यमबीच सहकार्य, व्यावसायिकता र जिम्मेवार पत्रकारितालाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको छ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५


