मंगलबार, २१ जुलाइ, २०२६
18:30 | २३:१५

युरोपमा पनि बालबालिकाको डिजिटल पहुँच सीमित गर्ने कानून तीव्र

रासस/एएफपी जुलाइ २१, २०२६

पेरिस- बालबालिकाको मानसिक स्वास्थ्य, सुरक्षा र डिजिटल लतप्रतिको बढ्दो चिन्ताबिच विश्वका विभिन्न देशले सामाजिक सञ्जालमा उमेरको सीमा कडा बनाउने नीति अघि सारेका छन् ।

फ्रान्सको संसद्ले मङ्गलबार १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लगाउने विधेयकमाथि मतदान गर्दै गर्दा विश्वका करिब २० देशले यस्तै कानुन लागू गरिसकेका वा तयारी गरिरहेका छन् । एएफपीका अनुसार तीमध्ये पाँच देशमा यस्तो प्रतिबन्ध पहिले नै कार्यान्वयनमा आइसकेको छ ।

अस्ट्रेलियाले सन् २०२५ को डिसेम्बरदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू गरेको छ । इन्डोनेसिया र मलेसियाले पनि यस वर्षदेखि १६ वर्षमुनिका प्रयोगकर्तामाथि यस्तै प्रतिबन्ध लागू गरेका छन् ।

टर्कीले १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल निषेध गर्ने कानुन पारित गरिसकेको छ । उक्त कानुन सन् २०२६ को अन्त्यदेखि लागू हुने अपेक्षा गरिएको छ । संयुक्त अरब इमिरेट्सले पनि १५ वर्षमुनिका बालबालिकामाथि प्रतिबन्ध लगाउने घोषणा गर्दै त्यसको कार्यान्वयनका लागि तयारी गरिरहेको छ ।

ब्राजिलले सामाजिक सञ्जाल प्रयोग गर्ने १६ वर्षमुनिका बालबालिकाको खाता अभिभावकसँग अनिवार्य रूपमा जोड्ने तथा उमेर प्रमाणीकरण गर्ने कानुनी व्यवस्था अघि बढाएको छ । चीनले भने सन् २०१९ देखि नै नाबालिगहरूको इन्टरनेट पहुँच क्रमशः सीमित गर्दै आएको छ । सुरुमा अनलाइन गेममा समय सीमा र रातिको कर्फ्यू लागू गरिएको थियो भने पछि सामाजिक सञ्जाल र स्ट्रिमिङ प्लेटफर्ममा समेत त्यस्ता प्रतिबन्ध विस्तार गरिएको छ ।

युरोपमा पनि बालबालिकाको डिजिटल पहुँच सीमित गर्ने बहस तीव्र बन्दै गएको छ । युरोपेली आयोगले यस वर्षको अन्त्यसम्म १३ वर्षमुनिका बालबालिकाका लागि पूर्ण प्रतिबन्ध तथा १३ देखि १८ वर्षसम्मका किशोरका लागि क्रमिक पहुँचको प्रस्ताव ल्याउने तयारी गरेको छ ।

ग्रिसले सन् २०२७ देखि १५ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लागू गर्ने घोषणा गरिसकेको छ । अस्ट्रिया र स्लोभेनियाले क्रमशः १४ र १५ वर्षमुनिका बालबालिकाका लागि यस्तै कानूनको तयारी गरिरहेका छन् । जर्मनीमा उमेर वा प्लेटफर्मका आधारमा पहुँच सीमित गर्ने विकल्पमाथि अध्ययन भइरहेको छ भने स्वीडेनले सन् २०२८ देखि १५ वर्षमुनिका बालबालिकाका लागि प्रतिबन्ध लगाउने प्रस्ताव अघि सारेको छ ।

डेनमार्कले पनि १५ वर्षमुनिका बालबालिकालाई धेरै सामाजिक सञ्जाल प्लेटफर्मबाट रोक्ने योजना सार्वजनिक गरिसकेको छ । आयरल्यान्डले युरोपेली सङ्घ (ईयू) को साझा निर्णय नआए आफ्नै कानुन ल्याउने सङ्केत दिएको छ ।

युरोपेली सङ्घ (ईयू) बाहिर नर्वेले १६ वर्षमुनिका बालबालिकाको पहुँच सीमित गर्ने विधेयक यसै वर्षको अन्त्यसम्म संसदमा दर्ता गर्ने तयारी गरेको छ । बेलायतले सन् २०२७ को सुरुदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने योजना अघि बढाइरहेको छ ।

क्यानाडाले पनि सामाजिक सञ्जाल प्रयोगको न्यूनतम उमेर १६ वर्ष बनाउने तयारी गरिरहेको छ भने भारतका विभिन्न राज्यले यस्ता प्रतिबन्धबारे छलफल सुरु गरेका छन् । भारत सरकारले सम्भावित व्यवस्थाबारे सामाजिक सञ्जाल कम्पनीसँग परामर्श गरिरहेको जनाएको छ ।

यसैबिच फ्रान्सको संसदमा १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा रोक लगाउने विधेयक अन्तिम चरणमा पुगेको छ । प्रतिनिधिसभा र सिनेटबिच सहमति भएपछि मङ्गलबार मतदान हुन लागेको हो । तल्लो सदनले जनवरीमै विधेयक पारित गरे पनि सिनेटले सबै प्लेटफर्मको सट्टा बढी जोखिमयुक्त प्लेटफर्मलाई मात्र लक्षित गर्ने संशोधन गरेपछि ब्रसेल्समा त्यसबारे चासो व्यक्त गरिएको थियो ।

फ्रान्स सरकारले यो कानून आगामी सेप्टेम्बरदेखि लागू गर्ने लक्ष्य लिएको छ । डिजिटल मन्त्री आन ले हेनाफले यो व्यवस्था लागू भए फ्रान्स युरोपमा ‘डिजिटल कानुनी उमेर’ निर्धारण गर्ने पहिलो देश बन्ने बताउनुभएको छ ।

यस्तै, पोर्चुगलले सामाजिक सञ्जाल, खेल, सेवा र डिजिटल एप स्वतन्त्र रूपमा प्रयोग गर्न न्यूनतम उमेर १६ वर्ष कायम गर्ने विधेयकमाथि विचार गरिरहेको छ । स्पेनले सामाजिक सञ्जालमा दर्ता हुन आवश्यक न्यूनतम उमेर १४ बाट १६ वर्ष पुर्‍याउने प्रस्ताव अघि सारेको छ भने इटालीको संसद्ले १५ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिने कानूनमाथि छलफल गरिरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू