शुक्रबार, १७ जुलाइ, २०२६
00:58 | ०५:४३

टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकारको सहभागिता

नेपाली लिङ्क जुलाइ १६, २०२६

जापान । नेपाल पत्रकार महासंघ जापान शाखाको मुख्य आयोजनामा आगामी जुलाई २५ तारिखमा जापानको राजधानी टोकियोमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ आयोजना हुने घोषणा गरिएको छ।

‘प्रवासी सञ्चार माध्यममार्फत नेपाल र विश्वलाई जोड्ने’ मूल नाराका साथ आयोजना हुने यस सम्मेलनमा विश्वका विभिन्न मुलुकमा क्रियाशील नेपाली पत्रकार, महासंघका केन्द्रीय पदाधिकारी तथा वैदेशिक शाखाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहने आयोजकले जनाएको छ।

सम्मेलनको सहआयोजकका रूपमा नेपाल पत्रकार महासंघका १२ वटा वैदेशिक शाखा रहेका छन्। कार्यक्रममा महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मासहित केन्द्रीय कार्यसमितिका सदस्यहरू, सबै वैदेशिक शाखाका अध्यक्ष तथा प्रतिनिधि, जापानस्थित सञ्चारकर्मी र विभिन्न देशका नेपाली पत्रकारहरू सहभागी हुनेछन्।

नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष रविन्द्र श्रेष्ठले विश्वभर फैलिएको नेपाली समुदायसँगै प्रवासी पत्रकारिताको भूमिका दिनप्रतिदिन महत्वपूर्ण बन्दै गएको बताए। “विदेशमा रहेका नेपाली समुदायका गतिविधि, समस्या, सफलता र सरोकारलाई सटीक रूपमा मातृभूमिसम्म पुर्‍याउन प्रवासी सञ्चारमाध्यमले खेलेको भूमिकालाई अझ प्रभावकारी र सशक्त बनाउने मुख्य उद्देश्यले यो सम्मेलन आयोजना गरिएको हो,” उनले भने।

शाखाकी उपाध्यक्ष मनिषा चम्लागाईँका अनुसार सम्मेलनमा प्रवासी पत्रकारिताको वर्तमान अवस्था, सामना गर्नुपरिरहेका चुनौती र सम्भावनाका साथै महासंघ केन्द्र र वैदेशिक शाखाबीचको सम्बन्ध विस्तार, प्रवासी नेपाली समुदाय र मिडियाको अन्तरसम्बन्ध, जिम्मेवार पत्रकारितामा प्राविधिक विकासको प्रभाव तथा प्रेस स्वतन्त्रता जस्ता संवेदनशील विषयमा कार्यपत्र प्रस्तुति, गहन प्यानल छलफल र अन्तरक्रियात्मक सत्र सञ्चालन हुनेछन्।No description available.

संस्थापक अध्यक्ष तिलक मल्लले यस सम्मेलनले महासंघको केन्द्रीय संरचना र विदेशस्थित शाखाहरूबीचको सम्बन्धलाई थप संस्थागत र दीर्घकालीन बनाउने विश्वास व्यक्त गरे। “विदेशमा विभिन्न चुनौतीपूर्ण परिस्थितिका बीचमा पनि नेपाली पत्रकारहरूले देशप्रति जिम्मेवार भई पेशा निर्वाह गरिरहेका छन् – यो सन्देश विश्वभर प्रवाह गर्न सम्मेलनले मद्दत पुर्‍याउनेछ,” उनले भने।

नेपाल अमेरिका पत्रकार संघ (नेजा)का अध्यक्ष सुरज भण्डारीले प्राविधिक क्रान्तिसँगै पत्रकारिता विश्वव्यापी रूपमा फैलिएको उल्लेख गर्दै डायस्पोरा पत्रकारिताको अर्थपूर्ण भूमिकाबारे गम्भीर विमर्शको आवश्यकता औंल्याए। “प्रवासी पत्रकारहरूले आफ्नो क्षेत्रमा रहेर नेपाली समुदाय र मातृदेश नेपाल दुवैका लागि महत्वपूर्ण जिम्मेवारी पूरा गरिरहेका छन्,” उनले थपे।

आयोजकको भनाइमा यो सम्मेलनले विश्वभरका नेपाली सञ्चारकर्मीहरूलाई एउटै साझा मञ्चमा जोड्नेछ, जसले प्रवासी पत्रकारिताको संस्थागत विकास, अन्तर्राष्ट्रिय स्तरमा सहकार्य अभिवृद्धि र पत्रकारहरूको व्यावसायिक क्षमता विकासमा दीर्घकालीन योगदान पुर्‍याउनेछ।

कार्यक्रमको सफलताका लागि निजी क्षेत्रले पनि सहयोग पुर्‍याएको छ। जापानस्थित फिनटेक कम्पनी डिजिटल वालेट कर्पोरेशन अन्तर्गत सञ्चालित ‘स्माइल्स मोबाइल रेमिटेन्स’ र ‘स्माइल्स कनेक्ट’ मुख्य कार्यक्रम साझेदार रहेका छन् भने ‘फ्रन्टअप ई–सिम’ इभेन्ट पार्टनरका रूपमा जोडिएको छ।

आयोजकले सबै प्रायोजक, सहयोगी संस्था तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै सार्वजनिक–निजी सहकार्यले प्रवासी पत्रकारितालाई अझ बलियो बनाउने विश्वास व्यक्त गरेको छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू